नृत्यकला प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका ३ कक्षाका विद्यार्थीले पाठ्यक्रममा आधारित सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका छन् । कक्षा ३ को हाम्रो सेरोफेरो विषयअन्तर्गत हाम्रो संस्कृति विषयमा रहेर विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।

विद्यालयको सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न जातजातिको मौलिक पोशाक लगाएर विद्यार्थीले नृत्य, गायन र नाट्य कला प्रस्तुत गरे । विद्यार्थीको कला अवलोकनका लागि कक्षा ३ का विद्यार्थीकै अभिभावकलाई बोलाइएको थियो । विद्यार्थीको प्रस्तुतीलाई अभिभावकले चासोका साथ हेरेका थिए । कार्यक्रममा उद्घोषणका साथसाथै वाद्यवादन पनि विद्यार्थीले नै गरेका थिए । ३ कक्षाका विद्यार्थीको कला प्रस्तुतीमा माथिल्लो कक्षाका विद्यार्थीले पनि सहयोग गरेका थिए ।

विद्यार्थीको कला हेर्नका लागि आएका अभिभावकहरु ।

पाठ्यक्रममै निर्दिष्ट विषयलाई क्रियाकलापमा आधारित भएर सिकाउने प्रयास गरिएको विद्यालयका सहायक प्रिन्सीपल अमुल श्रेष्ठले जानकारी दिनुभएको छ । विद्यार्थीलाई केही दिनको तयारी गर्न लगाएर अभिभावककै उपस्थितिमा कला प्रस्तुतीको अवसर प्रदान गरिएको उहाँको भनाइ छ । विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले कक्षागतरुपमा नै विद्यार्थीको कला प्रस्तुती गराउने योजना रहेको बताउनुभयो । विद्यार्थीको प्रस्तुतीलाई अभिभावकले मूल्यांकन गर्ने अवसर पनि रहने गरी कार्यक्रम आयोजना गरिएको प्रिन्सीपल सुवेदीको भनाइ छ ।