हेटौंडाः स्थानीय तह निर्वाचनका लागि आज मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा जनप्रतिनीधि छान्न मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि मौन अवधि तोकेको हो । बैशाख ३० गते मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

मतदानको लागि ३ दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी, आमसभा आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ । यस्तै, नेता कार्यकर्ताले घरदैलो अभियान जस्ता कार्य गर्न पाउने छैनन् । यस अवधिमा निर्वाचन आयोगले मतदान केन्द्रमा बुथ निर्माण, मतपेटिका व्यवस्थानका कार्यहरु गर्ने निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

मौन अवधिमा के गर्न पाइँदैन ?

– निर्वाचन प्रचारलगायत कुनै पनि छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न

– मतदानस्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न

– सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न