प्राडा विश्वराज जोशी, उपकुलपति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी निलम्बित हुनुभएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानविन गर्न समिति गठन गर्नुभएसँगै प्रा.डा. जोशी निलम्बित हुनुभएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भूसालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले छानविन समिति गठन गर्नुभएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित हुनुभएको सचिव भुसालले जानकारी दिनुभयो । सचिव भुसालले मंगलबार उपकुलपति प्रा.डा. जोशीलाई सम्बोधन गरेर निलम्बन गरिएको पत्र तयार पार्नुभएको छ । उपकुलपति प्रा.डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधारमा उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाई सदस्यले लिखित निवेदन दिएकोले प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री पाण्डेले सो सम्बन्धमा छानविन गर्न समिति गठन गरेको बताइएको छ ।

यता प्रा.डा. जोशीले भने निलम्बनको खबरले पत्रकारमार्फत मात्रै जानकारी भएको र निलम्बनको पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताउनुभयो । गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको उल्लेख गर्नुहुँदै प्रा.डा. जोशीले भन्नुभयो, ‘एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ । एक्कासी निलम्बनको कुरा सुनेँ । निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु ।’

प्रा.डा. जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्षे कार्यकालका लागि नियुक्त गर्नुभएको थियो ।