स्थानीय तह निर्वाचनमा गठबन्धन गरेको दलका उम्मेदवार र नेता ।

हेटौंडाः स्थानीय तह निर्वाचनमा गठबन्धन गरेको दलका उम्मेदवार र नेताबीच मंगलबार हेटौंडामा चिनजान गर्ने कार्यक्रम भएको छ । होटल एभोकाडोमा मंगलबार दिउँसो मेयर पदकी उम्मेदवार मीना कुमारी लामा र उपमेयर पदका उम्मेदवार राजेश बानियाँसहित गठबन्धन दलका शीर्ष नेताहरुको उपस्थितिमा चिनजानको कार्यक्रम भएको नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिनुभयो ।

सचिव महतका अनुसार गठबन्धन दलका उम्मेदवार, नेता, अगुवा कार्यकर्ताबीच हार्दिकता, आत्मीयताका लागि आजको कार्यक्रम भएको हो । मेयर पदकी उम्मेदवार मीना कुमारी लामा र उपमेयर पदका उम्मेदवार राजेश बानियाँले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा गठबन्धनमा सहभागी दल नेकपा समाजवादीका नेता विरोध खतिवडा, मुनु सिग्देल, गोमा तिमल्सिना, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, उपसभापति आनन्द कठायत, सचिव भीमसेन महत, नेकपा माओवादी केन्द्रकी कुमारी मुक्तान, सर्केस घलानलगायतको सहभागिता रहेको थियो । सहभागीले गठबन्धन दलबीच इमान्दारिता जरुरी रहेको औँल्याएका थिए ।

उम्मेदवारी दर्ता गरेको भोलिपल्टै उम्मेदवार, नेता, अगुवा कार्यकर्ताबीच परिचयात्मक कार्यक्रम राखेर गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा योजनावद्ध रुपमा अगाडि बढ्ने संकेत गरेको छ ।