हेटौँडा : देशभरका मोबाइल व्यवसायीहरु हेटौँडा आउने भएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभामा सहभागी हुन उनीहरु हेटौँडा आउन लागेका हुन् ।
हेटौँडामा यही बैशाख २६ र २७ गते साधारणसभा हुँदैछ । देशका ६० जिल्लाबाट एक हजार भन्दा बढी व्यवसायी साधारणसभामा सहभागी हुनेछन् । मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर साधारणसभाको विषयमा जानकारी गराइएको थियो । साधारणसभा आयोजक समितिका संयोजक तथा नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष छतेन्द्र आचार्यले साधारणसभाले व्यवसायीका समस्याका विषयमा छलफल गर्ने जानकारी दिनुभयो ।
साधारणसभाको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुहुनेछ । साधारणसभाको उद्घाटनको दिन प्रभातफेरीको समेत आयोजना गरिउको उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । प्रदेशको राजधानी हेटौँडामा देशभरका व्यवसायीलाई आमन्त्रण गरी कार्यक्रम आयोजना गर्दै गर्दा मकवानपुरको पर्यटन प्रवद्र्धन तथा होटल व्यवसायीलाई लाभको अवसर रहने आयोजकको भनाइ छ । साधारणसभा आयोजनाका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।









