हेटौँडा : मकवानपुर जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा स्कीम श्रेष्ठले बिहीबारदेखि जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल सरुवा भएर फागुन १ गते नै जानुभएपछि दुई सातादेखि मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको पद रिक्त थियो ।
बुधबार नै हेटौँडा आइपुग्नुभएकी श्रेष्ठले बिहीबारदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको हो । हेटौँडा–१६, हटिया माइती भएकी श्रेष्ठ यसअघि नवलपरासी जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेल पनि गत सोमबार मात्रै हाजिर हुनुभएको हो । यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित हुनुभएको थियो ।
यसैबीच बिहीबार नै कर्मचारी मिलन केन्द्र मकवानपुरले प्रमुख जिल्ला अधिकारी श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेललाई स्वागत गरेको छ ।