लागूऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडा : छट्टाछुट्टै घटनामा मकवानपुर प्रहरीले लागूऔषध गाँजा र अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान १० बजेर ३० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–३, लेवटबाट प्रहरीले ११ किलो ४२० ग्राम लागूऔषध गाँजासहित मनहरी गाउँपालिका–३, हाँडीखोलाका ४४ वर्षीय दीपक ओझालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवट अगाडि सवारी साधन रोकी सुरक्षाजाँच गर्ने क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुबाहक बसमा सवार ओझाको साथबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।

यस्तै गत शनिबार बिहान ५ बजेर ३० मिनेटेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ नयाँवस्तीमा सडकछेउ रोकिराखेको बा ७ च ७०१८ नम्बरको सुमोबाट प्रहरीले लागूऔषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो १२७ किलो ९४० ग्राम फेला पारेको थियो । प्रहरीले सुमो चालक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ घर भई हाल काठमाडौं–१३, पेप्सीकोला बस्ने ३८ वर्षीय लालबहादुर तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जोरपाटीबाट मंगलबार साँझ ५ बजेर ३० मिनेटको समयमा पक्राउ गरेको जनाएको छ । प्रहरीले दुबै घटनामा संलग्नलाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।