तालिमको उद्घाटन गर्नुहुँदै वडाअध्यक्ष सुनिल मोक्तान ।

हेटौंडाः छोराछोरी नेपाल मकवानपुरको आयोजनामा ६ महिने सिलाई कटाई तालिम सुरु भएको छ । बुधबारदेखि हेटौंडा–१५, जाँतेस्थित पारिजात प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीका १२ जना अभिभावकलाई तालिम दिन सुरु गरिएको हो ।

आफ्ना छोराछोरीको लुगा आफैंले सिलाउन सकुन् र जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको छोराछोरी नेपाल मकवानपुरकी संयोजक रीता मोक्तानले जानकारी दिनुभयो । टोपी, भोटो, सर्ट, पाइन्ट, कुर्ता सुरुवाल कपडा सिलाउने र काट्ने तरिकाबारे प्रशिक्षक शर्मिला वाईबाले प्रशिक्षण दिनुहुनेछ । ती अभिभावकलाई एक लाख ८० रुपैयाँ बराबरको १२ वटा सिलाई कटाई मेसिन समेत सहयोग गरिएको छ भने कपडा समेत उपलब्ध गराइएको छ ।

छोराछोरी नेपाल मकवानपुरकी संयोजक रीता मोक्तानको अध्यक्षता तथा हेटौँडा १५ नम्बर वडाका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा पारिजात आधारभूत विद्यालयका प्रधानाध्यापक भगिरथी बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज भोम्जन, छोराछोरी नेपाल मकवानपुरका अधिवक्ता सुनिता कार्की लगायतको उपस्थिति रहेको थियो ।