सुवास खनाल, शिक्षक, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय

दसैंअघि विद्यालयबाट घर फर्केका विद्यार्थी तिहार र छठ पर्व मनाएपछि विद्यालय जानेछन् । यतिबेला टोल, समुदायमा बालबालिकाको चकचक प्रसस्त देख्न पाइन्छ । विद्यालय जाने बालबालिका घरमै रहँदा अधिकांश अभिभावकलाई भने तनाव छ । कतिपय अभिभावकको व्यस्तता हुनुले बालबालिकाको विदा व्यवस्थापनमा समस्या हुनु स्वभाविक जस्तो पनि देखिन्छ । फुर्सदमा रहने अभिभावकले पनि आफ्ना बालबालिकालाई उचित हेरचाह गर्न सकेको देखिँदैन । दसैं विदाअघि सामाजिक सञ्जालमा विद्यार्थीलाई गृहकार्य नदिन भन्दै रोचक अभिव्यक्तिहरु पढ्ने अवसर रह्यो । दसैं, तिहारको लामो विदा र यस्तै विदाको समयमा विद्यार्थीलाई कसरी हेरचाह गर्ने ? विद्यार्थीलाई अध्ययनशील र रचनात्मक कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष समेत रहनुभएका हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविका शिक्षक सुवास खनालसँग समृद्ध समाज दैनिकक सम्पादक सुुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः दसैं, तिहारको बीचमा अहिले विद्यालयमा लामो अवधिका लागि बिदा छ । लामो अवधिको बिदाका लागि विद्यार्थीहरुलाई के के क्रियाकलाप गर्न दिनुभएको छ ?
खनालः
यो चाडपर्वको समयमा एक महिना भन्दा लामो बिदा रहेको छ । दसैं, तिहारको बीचमा प्रभावकारी शिक्षण नहुने भएको कारण हेटौँडा उपमहानगरपालिकाले शैक्षिक क्यालेन्डरमा बिदा राखेको छ । त्यसै अनुसार जाँदा हाम्रो विद्यालय पनि बिदा रहेको छ । हामीले बिदा सुरु हुनु भन्दा अगाडि विद्यार्थीलाई राखेर अन्तरक्रिया गरेका थियौं । बिदामा विद्यालयले दिएको गृहकार्य गर्न भन्दा बाहेक अतिरिक्त पुस्तकहरु पढ्ने जुन शैक्षिक पुस्तकहरुको सन्दर्भमा उपयुक्त हुन्छ । रचनात्मक किताबहरु पनि पढ्ने भनेका छौँ । घरमा बसेको बेला परिवारलाई सघाउने अनि नजिकै केहि जान्नुपर्ने वा भ्रमण गर्ने स्थानहरुमा घुमफिर गर्ने जस्ता अभ्यास गर्न सुझाव दिएका छौँ ।

समाजः समग्रमा विद्यालयको तर्फबाट विषयगत शिक्षकहरुको तर्फबाट विद्यार्थीलाई बिदाको अवधिमा के कस्ता क्रियाकलाप गर्न दिने भनेर छलफल भएको थियो ?
खनालः
विद्यालयको तर्फबाट त योजना बनाइएको थिएन तर पनि शिक्षकहरु मिलेर परियोजना कार्य दिइएको छ । यसले विद्यार्थीहरुलाई नयाँ ज्ञान सिक्ने, परिवार र समाजमा घुलमिल हुने जस्ता अभ्यास गराई विद्यार्थीहरुको आन्तरिक मुल्याङ्कन गरिने छ ।

समाजः नियमित विद्यालय सञ्चालन हुँदा पनि गृहकार्यको विषयमा नकारात्मक टिप्पणी भइरहने गरेको छ । अझ यो दसैं भन्दा अघि त विद्यार्थीलाई धेरै गृहकार्यको बोझ बोकाउने काम नहोस् भनेर सामाजिक सञ्जालमा निक्कै व्याख्या भएको देखियो । गृहकार्यको सम्बन्धमा तपाइँको विचार के छ ?
खनालः
गृहकार्य दिने नाममा सबै पुस्तकको अभ्यास दिने प्रचलन पहिलेदेखि चली आएको छ । तर, गृहकार्य भनेको रचनात्मक हुनु पर्छ भन्ने कुरा आएको छ । दसैंअघिको तर्क–वितर्कमा विद्यार्थीलाई गृहकार्य नै दिनु हुन्न र प्रसस्त गृहकार्य दिनुपर्छ भन्ने दुबैखाले तर्क अतिवाद हो । गृहकार्यको ढाँचा बदल्ने र विद्यार्थीहरुलाई सामाजिक विषयमा घुलमिल गर्ने खालका अभ्यास दिँदा उपयोगी हुने भन्ने छलफल पनि हुने गरेको छ । विद्यार्थीहरु लामो समयसम्म विद्यालयबाट टाढा रहँदा रिभिजन हुने गरी थोरै गृहकार्य दिने, सबै विषयका शिक्षकले सल्लाह गरेर धेर–थोर नहुने गरी अभ्यास दिने हो भने विद्यार्थीलाई सहज हुन्छ । परीक्षामा सोध्न सक्ने मोडल प्रश्नका अभ्यास गर्न लगाउने गरे राम्रो हुनेछ । यो कुरा विद्यालयले नै पनि बुझ्न जरुरी छ ।

सामजः तपाई साहित्यमा पनि जोडिनु भएको छ । विद्यार्थीहरुलाई पढ्न झर्काे लाग्ने, नबुझेको भन्ने अवस्थामा कसरी सिकाई रचनात्मक हुन्छ र उपयुक्त हुन्छ ?
खनालः
विषयवस्तुमा मात्र रहेर सिकाउने भन्दा पनि समाजमा यसको उपयोगिता के छ भन्ने कुरा सिकाउन सक्नु पर्छ । विद्यार्थीले जे जति कुरा पढ्नुपर्छ, अभ्यास गर्नुपर्छ त्यसको प्रयोग कहाँ भइरहेको छ भन्ने विषयमा बुझाउनु पर्छ । रचनात्मक शैलीले भन्दा सानो कक्षामा विद्यार्थीहरुलाई कविता बनाउन लगाई त्यसबारे भित्रबाटै बुझाउन सकिन्छ । कथा बनाएर बुझाउँदा प्रभावकारी हुन सक्छ ।

समाजः आफ्ना बाबु–नानीहरुलाई अभिभावकहरुले पनि घरमा कस्तो वातावरण बनाउनु पर्छ ?
खनालः
अहिलेको समयमा अभिभावकहरु इन्टरनेट मध्यमको भन्दा पनि बाबु–नानीहरुसँग घुमफिर गर्ने, व्यायाम गर्ने, दैनिक कार्यको छलफल गर्ने र काममा लगाउने, सकेसम्म उनिहरुसँग घुलमिल गर्ने गर्दा बालबालिका सचेत हुने हुन्छन् । उनीहरु गलत बाटोमा लाग्ने जोखिम पनि कम हुन्छ ।

समाजः विद्यालय बन्द रहँदा अभिभावकहरु आफ्नै बालबालिकासँग झर्काे मान्ने र धेरै घुलमिल नगर्ने गरेको देखिन्छ । यस विषयमा के भन्नुहुन्छ ?
खनालः
छोराछोरीसँग गर्ने व्यवहार मैत्रिपूर्ण हुनु पर्छ । अभिभावकहरुले बालबच्चाहरुसँग बसेर घुलमिल हुने गर्नुपर्छ । बालबालिकाहरुले पनि अभिभावकहरुसँग बसेर समय बिताउने र के भइरहेको छ भन्नेबारे बताउने गर्नु पर्छ ।

समाजः अभिभावक आफै पनि बालबालिकाहरुसँग बस्न नरुचाउने पनि गरेको देखिन्छ । विद्यालयले अभिभावक भेला राख्ने र अभिभावकहरुको पनि उपस्थिति कस्तो रहेको छ ?
खनालः
समान्यतया अभिभावक भेला परीक्षाको नतिजा आउने समयमा गरिन्छ । यो त्रैमासिक हुन्छ । विद्यार्थीको कमजोरी के छ भन्ने कुरा बताइन्छ । अभिभावक भेलामा पनि अभिभावकको उपस्थिति कम रहन्छ । यो पनि कमजोरी छ ।

समाजः बिदा सकिएपछि विद्यार्थी विद्यालय आउने समयका लागि कस्तो तयारी हुनेछ ?
खनालः
विद्यार्थी विद्यालयमा उपस्थित भै सकेपछि नियमित पठनपाठनमा लाग्छाँै । सुरुवाती दिनहरुमा उपस्थिति कम हुँदा केहि रचनात्मक कार्यतर्फ पनि जोड दिनेछौँ । लामो विदापछि विद्यार्थी विद्यालय फर्कने समयमा त्यस्तो कुनै विशेष तयारी त हुँदैन ।

समाजः विद्यालयमा प्रभावकारी शिक्षणका लागि भनेर योजना बनाउने, कार्यान्वयन गर्ने, समीक्षा गर्ने जस्ता अभ्यास भएको देखिँदैन । यस विषयमा के हुन्छ ?
खनालः
अपेक्षित रुपमा राम्रो नभए पनि अभ्यासहरु हुन्छन् । जस्तो वार्षिक क्यालेन्डर बनाएर कार्य गर्ने, शिक्षकहरुलाई लक्ष्य दिने, कार्यक्रमहरु गर्ने कार्य भइरहेको हुन्छ । आधुनिकमा पनि यो प्रवृत्ति छ । अझै त्यसमा विद्यार्थीहरुको रचनात्मक कलाहरुको विकास गर्न सकिराखेका छैनन् । त्यसका लागि पनि आगामी योजना बनाउन सके राम्रो हुनेछ ।

समाजः पहिलेको समयका विद्यार्थी र अहिलेको समयका विद्यार्थीहरुको चरित्र, व्यवहारमा के फरक देख्नुहुन्छ ?
खनालः
तुलनात्मक रुपमा अहिले जस्तो मनोरञ्जनका साधनहरु पहिले थिएनन् । अहिले किताबहरु पढ्ने, शारीरिक परिश्रम गर्ने जस्ता अभ्यास भएका छैनन् । शिक्षण प्रक्रियाले पनि आकर्षण गर्न सकिराखेको छैन । पहिलेको समयमा पढाईको महत्व पनि धेरै थियो । अहिले परिवेश बदलिएको छ । यस अनुसार पाठ्यक्रम पनि बदलिनु पर्छ । यससँगै अलिकति अभिभावकको गाइडेन्सको पनि आवश्यकता पर्छ । बालबालिकाहरुलाई अभिभावकहरुले पनि समय दिन सक्नुभयो भने राम्रो हुन्छ । अभिभावकले आफ्नो बच्चाको बारेमा शिक्षकहरुसँग बुझ्दै गर्नु पर्छ ।