हेटौंडाः हेटौंडा समुदायिक आँखा अस्पतालद्वारा दुई दिनमा एक सय ७६ जनाको निःशुल्क आँखाको मोतिविन्दुकोे शल्यक्रिया गरिएको छ । अस्पतालले बारा जिल्ला र मकवानपुरमा ३ दिन गरेको शिविरबाट पहिचान भएका मोतिविन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो ।
अस्पतालले आज बिहीबार ५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, अस्पतालले हिजो बुधबार १ सय २२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको थियो ।रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ काठमाडौं मिड टाउनको आयोजनामा भएको शिविरमा पहिचान भएका मोतिविन्दु बिरामीको आँखाको शल्यक्रिया गरिएको हो ।
शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविर मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको पदमपोखरीमा भएको थियो भने बारा जिल्लाको मधुवन, विन्दावन र महागढीमाइमा भएको थियो ।