पत्रकार सम्मेलनमा वृहत भेलाको विषयमा जानकारी दिनुहुँदै अध्यक्ष अमुल श्रेष्ठ ।

हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस अल्मुनाइ एशोसिएसनको आयोजनामा पूर्व विद्यार्थीको वृहत भेला हुने भएको छ । असोज १० गते घटस्थापनाको दिन हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा पूर्व विद्यार्थीका परिवारकै सहभागितामा खेलकुद प्रतियोगिता समेत हुने एसोसिएसनका अध्यक्ष अमुल श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पूर्व विद्यार्थी भेलाको विषयमा जानकारी गराइएको हो । स्नातक तह र स्नातकोत्तर तह अध्ययन पूरा गरेका पूर्व विद्यार्थीको सहभागिता रहने गरी १ सय, २ सय र ४ सय मिटर दौड, ४ सय मिटर रिले दौड, डोरी तान्ने, सटपुट, म्युजिकल चेयर जस्ता रोचक खेल हुने बताइएको छ । प्रतियोगितामा विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महाविद्यालय र पूर्व विद्यार्थीको सहकार्यमा सामाजिक सेवाको क्षेत्रमा काम गर्ने, पूर्व विद्यार्थीको ज्ञान, सीप, कलालाई महाविद्यालयको गुणस्तर अभिवृद्धिमा लगाउने, महाविद्यालय र पूर्व विद्यार्थी बीच हार्दिकता अभिवृद्धि गर्न भेला उपलब्धिमूलक हुने प्रिन्सिपल पुरन बहादुर जोशीले बताउनुभयो । ३ सय भन्दा बढी पूर्व विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।