Home मुख्य समाचार मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा प्रकरण, निर्वाचन कार्यालयमा पुगेन जानकारी

मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा प्रकरण, निर्वाचन कार्यालयमा पुगेन जानकारी

हेटौंडाः जिल्ला निर्वाचन कार्यालय मकवानपुरमा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको राजीनामा स्वीकृत भएको स्पष्ट जानकारी र पद खाली भएको कुनै पनि जानकारी नआएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले जानकारी दिनुभएको छ । उहाँले मनहरी गाउँपालिकाले उपाध्यक्ष मनिला बिष्टले राजीनामा दिएको जानकारीसहित राजीनामापत्र कार्यालयमा नआएको जानकारी दिनुभयो ।

स्पष्टरुपमा निर्वाचन कार्यालयमा राजीनामा स्वीकृत भएको भनेर जानकारी नआएका कारण उपनिर्वाचन नहुने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । निर्वाचित जनप्रतिनिधिको पदावधि एक वर्षभन्दा बढी बाँकी भएमा उपनिर्वाचन गराउनुपर्ने भए पनि स्पष्टरुपमा पद खाली भएको जानकारी नआएको उहाँको भनाइ छ ।

नेपालको संविधानको भाग १७ को धारा २१५ को उपधारा ९ मा स्थानीय तहका अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपर्निवाचनद्वारा हुनेछ भन्ने व्यवस्था रहेको छ । तर स्पष्टरुपमा राजीनामा स्वीकृत र पद रिक्त भएको जानकारी नआएका कारण उपनिर्वाचन नहुने निर्वाचन प्रमुख पौडेलले बताउनुभयो ।

यस्तै, मनहरी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षको मृत्यु भएपछि वडा अध्यक्षको पद पनि रिक्त रहेको छ । यस्तो अवस्थामा भने स्थानीय कार्यपालिका सञ्चालन ऐनमा कुनै पनि व्यवस्था नभएकाले वडा अध्यक्षको उपनिर्वाचन गराउने नगराउने निर्वाचन आयोग नै अन्यौलमा छ । तर, स्थानीय तहका प्रमुख र उपप्रमुखको भने उपनिर्वाचन हुनसक्ने ऐनमै स्पष्ट छ । यता, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्षको राजीनामाबारे निर्वाचन आयोगलाई जानकारी गराएको बताउनुभएको छ । उपनिर्वाचन हुनेबारे भने अझै अन्यौलता रहेको उहाँको भनाइ छ ।

यसैगरी विगत एक वर्षदेखि मकवानपुरको भीमफेदी ८ नम्बर वडामा पनि वडा अध्यक्ष पद रिक्त रहेको छ । वडा अध्यक्षले गाउँपालिकामा राजीनामा बुझाए पनि राजीनामा स्वीकृत गर्ने अधिकारी कसको भनेर ऐनमा नहुँदा स्वीकृत हुन नसकेको गाउँपालिकाले जनाएको छ । यसबारे निर्वाचन आयोगलाई जानकारी गराइए पनि स्पष्ट राजीनामा स्वीकृत भएर पद रिक्त भएको पत्र नआउँदा उपनिर्वाचन हुनसक्ने अवस्था नरहेको निर्वाचन आयोग मकवापनुरका प्रमुख पौडेल बताउनुहुन्छ ।