28 Feb 2020   |   
logo
अन्तर्वार्ता

गुणस्तरीय बालसाहित्य बालबालिकाले पढ्छन्



अन्तर्वार्ता   115 पटक पढिएको   प्रतिभा डंगोल, प्रिन्सीपल कमाने एकेडेमी     

हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीले बिहिबार र शुक्रबार दुईदिन कमाने पठन मेला–२०७६ को आयोजना गर्दैछ । विद्यालयका बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विभिन्न कार्यशालाको आयोजना गरिने मेलामा बालबालिकालाई विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तरक्रियाको अवसरका साथै उनीहरुका कला प्रस्तुतीको अवसर समेत रहने आयोजक कमाने एकेडेमीकी प्रिन्सीपल प्रतिभा डंगोल बताउनुहुन्छ । यसै सन्दर्भमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले प्रिन्सीपल प्रतिभा डंगोलसँग गर्नुभएको कुराकानीः

समाजः तेस्रो कमाने पठन मेला आयोजना गर्दै हुनुहुन्छ । मेला आयोजना गर्नुको उद्देश्य के हो ?

डंगोलः सर्वप्रथम पठन मेला गर्नुको उद्देश्य भनेको बालसाहित्यको प्रवर्धन गर्ने र बालबालिकाहरुमा पठन संस्कृतिको विकास गर्नु हो । मानिसको चेतनाको स्तर विकास गर्न साहित्य दर्शनको धेरै ठुलो भूमिका हुन्छ । साहित्यले मानिसको चेतना पनि विम्बित गर्छ । रुम टू रिड, कथालय तथा रातो बंगला भन्ने किताबहरुले चाहि बाल साहित्यमा केहि सहयोग गरेको छ । जसले बाल चेतनाको विकास गर्न सहयोग गर्दछ । पश्चिमी देशको बालसाहित्य र हाम्रो बालसाहित्यमा तुलना गर्दा त्यस क्षेत्रमा काम गर्नु धेरै आवश्यक छ । बालसाहित्यको त्यतिबेला विकास हुन्छ जतिबेला बालबालिकामा पठनको विकास हुन्छ ।

समाजः बालबालिकामा पठन संस्कृतिको विकास नहुनुका समस्याहरु के के हुन् भन्ने लाग्छ ?

डंगोलः पठन संस्कृतिको विकास हुन बालसाहित्यको गुणस्तर पनि हुन जरुरी छ । गुणस्तरीय बालसाहित्य छन् भने बालबालिकाहरुले पढ्ने गर्छन् ।

समाजः बालसाहित्यको उपलब्धता कस्तो छ ?

डंगोलः नेपाली समाजमा बालसाहित्यको अभाव छ । अझ हेटौंडामा पुस्तक पसलमा बालसाहित्यका पुस्तक भेट्नै मुस्किल छ । बाल साहित्यका पुस्तक लिन काठमाडौं जानु पर्ने हुन्छ । विद्यालयमा राम्रो पुस्तकका लागि पनि किन्न स्तरीय पुस्तक पसल छैनन् । बालसाहित्यमा भएका पनि स्तरीय छैनन् ।

सामाजः पठन मेलामा के के गतिविधी हुन्छ ?

डंगोलः बालपुस्तकहरुका लेखकहरु चिनाउन, लेखकहरुलाईं चिठ्ठी लेख्न, पढेको कुन पुस्तक मन पर्यो कसले लेखेको हो थाहा पाउँछन् । चित्राङ्कनकर्ताले पनि कसरी चित्र बनाउन सक्छन् । पढेको किताबको समीक्षा लेख्ने जस्ता गतिविधीहरुबाट हाम्रा बालबालिकाहरुले रमाइलो लिनेछन् भने त्यसबाट उनीहरुको बालसाहित्यतर्फ रुचि राख्दै पठन संस्कृति पनि बढ्ने गर्दछ ।

समाजः कक्षाकोठामा के गर्न सक्दा बालबालिकाको पठन संस्कृतिमा विकास हुन सक्छ ?

डंगोलः बालबालिकाहरुसँग काम गर्नु पूर्व सर्वप्रथम बालबालिकालाई बुझ्नु पर्छ । उनीहरुको रुची, उनीहरु के गर्दा खुशी हुन्छन् त्यो कुरा बुझ्नुपर्छ । त्यसपछि भनेको त बालसाहित्य पुस्तक कक्षाकोठामा लिएर पढेर सुनाउनुपर्छ ।

समाजः अभिभावकहरुको भूमिका के हुन सक्छ ?

डंगोलः अभिभावकहरुको लागि छुट्टै कार्यशाला राख्नु आवश्यक छ । अब छिट्टै नियमित रुपमा बालबालिकाहरुलाई कसरी कथा कविताका किताबहरु पढेर सुनाउने, कथा किताबको महत्व के हो, यसले प्रश्न गर्न सक्ने बौद्धिक क्षमतासँगै संवेगात्मक विकासहरुमा कसरी ठुलो भूमिका हुन्छ त्यो अभिभावकहरुलाई बुझाउन जरुरी छ । यसको महत्व बुझेमा अभिभावहरुको भूमिका धेरै हुन्छ ।

समाजः तेस्रो पठनमेलामा यसअघि भएका के कस्ता कमिकमजोरीहरु सुधारिएका छन् ?

डंगोलः विद्यालयका पुस्तकहरु बालबालिकाहरुले धेरै पढ्ने गरेका छन् । उनीहरुको पढ्ने संकृतिको एकदमै विकास भएको छ । अभिभावकहरुको चेतनामा वृद्धि भएको छ । पुस्तकालयका पुस्तकहरु पढ्दा बालबालिकाहरुको विकास हुन्छ भनेर अभिभावक पनि बुझ्ने भएका छन् ।

समाजः सिकाईमुलक र प्रभाकारी शिक्षा दिन के के समस्या देख्नुभएको छ ?

डंगोलः युवा, वयस्कहरुले बालबालिकाको खुट्टामा उभिएर हेर्न नसक्नु प्रमुख समस्या रहेको छ । हामी ठुला–ठुला गफ गर्छौ तर बालबालिकाको स्तरमा आएर कुरा बुझन खोज्दैनौ । चाहँदैनौ । शिक्षण पेशा सम्मानजनक नहुनु पनि अर्को समस्या हो जस्तो लाग्छ । हाम्रो सोच बालबालिकालाई स्तरीय शिक्षा होस् भन्ने चाहन्छौ तर आफ्नो बालबालिका शिक्षक होस् भनेर कहिल्यै चाहँदैनौं । शिक्षकलाई समाजमा फरक किसिमको सम्मान गर्न आवश्यक छ भने शिक्षक छनौटमा पनि ध्यान दिन जरुरी देखिन्छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28390521 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top