29 Jan 2020   |   
logo
विचार

मकैबालीमा लाग्ने अमेरिकन फौजीकिराको व्यस्थापनमा स्थानीय तहको भूमिका



विचार   236 पटक पढिएको   चन्द्रकान्त चौधरी     

मकै नेपालको प्रमुख खाद्यान्न बाली हो । हिमाल, पहाड र तराई सबै भेगमा यसको खेती गरिन्छ भन्ने मध्य पहाडी भेग मकै उत्पादनको हिसावले सबैभन्दा बढी क्षेत्रफल ओगटेको छ । मकैलाई कच्चापदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरु (कुखुरापालन, पशुपालन,) बढिरहेको सन्दर्भमा मकैको माग दिन प्रतिदिन वृद्धि हुँदै गईरहेको छ ।

 तसर्थ बढ्दो जनसंख्या र खाद्यसुरक्षाको दृष्टिकोणले पनि एकातर्फ परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउन जरुरी देखिन्छ भन्ने अर्कोतर्फ उन्नत बीउविजन, सिंचाई, मलखाद, रोगकीरा, जलवायु परिवर्तन लगायतका समस्याहरु बीच मकैबालीमा लाग्ने अमेरिकन फौजी कीरा मुख्य चुनौतीको रुपमा देखापरेको छ ।  

अमेरिकन फौजी किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर कीरा हो । अन्य पुतली वर्गका कीराहरुजस्तै यस कीराको पनि जीवनचक्रमा ४ अवस्थाहरु (अण्डा, लार्भा, प्युपा र वयस्क) हुन्छन्, जुन पुरा गर्न २८ देखि ४८ दिनसम्म लाग्ने गर्दछ । यो किराले लार्भा अवस्थामा मकैबालीमा नोक्सानी पुर्याउछ । लार्भा अवस्थाले मकैको पात, गुभो, धानचमरा, जुँगा, घोगा तथा डाँठमा समेत क्षति पुर्याउँछ । शुरुमा वरिपरिको पातको बाहिरी सतहमा मात्र कोत्रेर खान्छ, जसले गर्दा पातमा सिसाको झ्याल जस्तो आकृतिहरु देखिन्छन् । त्यसपछि यी लार्भाहरु आफैंले बनाएको रेसाहरु र हावाको मद्दतले अन्य बोटहरुमा फैलिन्छन् । कलिलो अवस्थाको मकैको गुवोभित्र प्वाल पारी पस्दै खान थाल्दछन् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स–साना प्वालहरु परेको देख्न सकिन्छ । लार्भाहरु बढ्दै जाँदा परभक्षि स्वभावका समेत हुन्छन् । कीराको आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा पनि प्रशस्त मात्रामा देखिन्छ । लार्भाको अवस्था आहार तथा तापक्रमको आधारमा १४ देखि २१ दिनसम्म रहन्छ । लार्भा पुर्णरुपमा विकसित हुन ५ पटक काचुली फेरेपछि मात्र प्युपा अवस्थामा जान्छ । उपयुक्त आहारा तथा आवहवाको खोजीमा यो कीराको वयस्क पुतली अण्डा पार्नु अगाडि ५०० किलो मिटर टाढासम्म पनि उडेर जान सक्ने तथ्य विभिन्न अध्ययनले देखाएको छ ।

नेपालमा मकै बालीमा लाग्ने अमेरिकन फौजी कीराको प्रवेश गरेको आधिकारिक पुष्टि मिति २०७६ श्रावण २७ गते बसेकोे राष्ट्रिय बिरुवा संरक्षण संगठनको १९ औं बैठकले देशका विभिन्न स्थानहरुबाट संकलित नमुनाहरुकोे डीएनए परीक्षणबाट प्राप्त नतिजाहरुको आधारमा गरेको थियो । यो कीरा आक्रामक तवरले छिट्टै ठूलो क्षेत्रमा फैलन सक्ने मिचाहा प्रवृत्तिको हुन्छ । यो अत्यन्त खतरनाक कीरा भएकोले सबै सरोकारवालाहरु र कृषकहरु यस कीराको व्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ ।

नेपालको संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित प्रतिनिधीहरुको नेतृत्वमा तीनै तहका सरकार संचालनमा आफ्नो जिम्मेवारी बहन गरिरहेको सन्दर्भमा स्थानीय जनताले प्रत्यक्ष अनुभुत गर्न सकिने, आफ्नै घरआँगनमा भेट्न सकिने र आफूलाई परेको समस्याको वारेमा तुरुन्तै जानकारी गराउन सकिने सरकारको रुपमा स्थानीय सरकारलाई लिन सकिन्छ ।

पूर्व मेची देखि पश्चिम महाकालीसम्म तराई तथा भित्रि मधेसका विभिन्न जिल्लामा लगाइएका मकैबालीमा अमेरिकन फौजी किरा प्रकोपको रुपमा देखा परिसकको छ र यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने मकै उत्पादनमा ठूलो ह्रास आउने निश्चित छ । तसर्थ स्थानीय तहले ढिलो नगरी आ–आफ्नो क्षेत्रमा मौजुदा कृषि प्राविधिक जनशक्तिको प्रभावकारी परिचालन सँगै संघ र प्रदेश सरकार लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुसँग समन्वय÷सहकार्य गरी अभियानको रुपमा अमेरिकन फौजी किरा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

(लेखक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत हुनुहुन्छ ।)






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077290 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top