29 Jan 2020   |   
logo
विचार

प्रमुख अतिथि



विचार   76 पटक पढिएको   ऋषिराम पोखरेल, “बकिमहे”     

झार्न सकेसम्म झार्ने, अलिअलि देखाउने पनि र धेरैजसो भागवण्डा गरेर खाने जस्तो पवित्र उद्देश्य लिएर एउटा गैरसरकारी संस्था जन्मिएको धेरै भएको छैन । संस्थाको नाम सुन्नासाथ जो कोहीलाई यसको उद्देश्य बारे कुनै दुविधा हुँदैन । यसको नाम सर्वसुख भाग शान्ति जय नेपाल समाज हो ।
 तर यसमा जय नेपाल मात्र होइन लालसलाम पनि उत्तिकै संख्यामा थिए । समाजले छोटै अवधिमा ठुल्ठुलो छलाङ मारिसकेको थियो । यसमा बढी सक्रिय हुन थालेपछि कतिपय हात्तीछाप चप्पलबाट महंगो जुत्तामा, साईकल आरोहीहरु मोटरसाईकल र मोटरसाईकल धारीहरु गाडीमा हुइँकिन थालिसकेका थिए । केही उत्साही युवा तथा प्रौढ मिलेर खोलेको यो संस्था आफ्नो उद्देश्य पुरा गर्न निरन्तर अगाडि बढेको बढ्यै थियो । यसपालि भने कानूनी अड्चन फुकाउनकै लागि पनि साधारण सभा गर्नुपर्ने भयो । नत्र सरकारी रकमको सहज अवतरणमा बाधा पर्ने थियो ।
    आयोजकहरुले अन्य विकल्प नरहेपछि साधारण सभाको तयारीमा जुटे । यसको लागि सबैभन्दा पहिला हैसियत अनुसारको भागवण्डाको टुंगो लगाउनु थियो । मुख्य कुरा यो मिलिसकेपछि एक/दुई थान कागजपत्र तयार गर्नु नै हो । कति समय लाग्छ र ? सबै तयारी पुरा भइसकेपछि प्रमुख अतिथि छान्ने काम भयो । जो कोहीलाई अतिथि बनाउने कुरा भएन । गतिलै मान्छे खोज्दा समय पाउन गार्हो  भयो । आयोजकको तर्फबाट धेरै दौडधुप र निरन्तर पापड बेलाईपछि अतिथिको मुल्यवान समय त प्राप्त भयो तर सरकारी राहत भूकम्प पीडितलाई पुग्नु भन्दा ढिलो । तैपनि समय मिलेकोमा आयोजकहरु खुशी भए । किनकी साधारण सभाको सईत जुर्यो ।
    प्रमुख अतिथि आफैले दिएको समय अगामी शनिबार ८ः०० बजे साधारण सभा बोलाईयो । उनको अतिथिको महत्वपूर्ण र जानकारीमूलक भाषण छुट्ला भनेर हत्तारिँदै म तोकिएको समयमा, तोकिएकै ठाउँमा पुगेँ । म सभासद् त थिइनँ तर एउटा रमितेको हैसियतले त्यहाँ पुग्दा अरु धेरैजना भेला भइसकेको थिए । खाजाको प्याकेट मिली हाल्ला नि भनेर ढुक्क हुँदै म घरमा खाजै नखाई कार्यक्रमस्थलतिर हानिएको थिएँ । अतिथि आईपुग्न ढिलो भएपछि कतिपय सभासद्हरु घरमा नपुगेको निन्द्रा पु¥याउन थाले । तोकिएको समय भन्दा चार घण्टापछि अचानक आंगमा सिरानी चलमलाउन थालेपछि सभासदहरु लामो हाई–हाई काड्दै बिउँझिँदा आयोजकहरु, उछिन र पाछिन गर्दै प्रमुख अतिथिलाई धनुष्टङ्कार नमस्कार देखाउन गाडीतिर पुगिसकेका हुन्छन् ।
    प्रमुख अतिथि हलभित्र पस्दा तालिको पर्रा छुट्छ । तालि पिट्ने हातहरु हेर्न अतिथिले आफ्ना आँखा हल भरी कुदाउँछन् । आसन ग्रहण पश्चात पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेपछि प्रमुख अतिथिले उद्घोषकको कान फुक्छन् । प्रमुख अतिथिलाई तुरुन्तै अर्को ठाउँमा पुग्नु छ भन्ने उद्घोषकलाई थाहा हुन्छ र उनले प्रमुख अतिथिलाई नै पहिलो वक्ता बनाउँछन् । पोडियमतिर गएर गर्वका साथ आफ्नो दुबै कुमतिर हेर्दै अतिथि खरज स्वरमा बोल्न थाल्छन् । “ढिकिमा धान राखेर कुट्दा चामल बन्छ” भन्ने महत्वपूर्ण सन्देश दिँदै श्रोताहरुलाई धन्य बनाउँछन् र भाषण समाप्त गर्दै गाडीतिर हेर्छन् । आयोजकले बुझी हाल्छन् र उनको अघिपछि दोब्रिँदै उनलाई गाडी चढाउन पुग्छन् । प्रमुख अतिथिलाई विदा गरेपछि त्यहाँका केही लाउकेहरुले प्रस्ताव पढ्छन् र लाटा सोझाहरु पास भन्दै ताली पिट्छन् । अतिथिलाई चार घण्टा कुरेको साधारणसभा सक्किन ५ मिनेट पनि लाग्दैन । भात खाने बेलामा के नास्ता खानु भनेर सबै खाजा प्याकेट बोकेर घरतिर लाग्छन् ।
    वास्तवमा प्रमुख अतिथि आयोजक जस्ता फुर्सदिला हुँदैनन् । उनी सधैं व्यस्त रहन्छन् । व्यस्तताको वावजुद मात्रै हो उनी कुनै पनि ठाउँमा जाने, त्यहाँ पुग्नासाथ उनलाई अर्को ठाउँमा जाने हतार हुन्छ । उनको धेरै काम हुन्छ । आफ्नो घरको टाईगरलाई आफ्नै हातले मासु खुवाउनु र गाडीमा डुलाउन लैजानु पनि काम हो । आफ्नै घरमा आएका केहीथान मानव आकृतिले दोब्रिएर हात मोलेको हेर्न अभ्यस्त उनी केहीथान फोस्रा आश्वासन नबाँडी हिँड्ने कुरा भएन । फेरी आलिंगनसहितको प्रेयसीको चुम्बन ग्रहण नगरी घरबाट निस्किँदा साइत नपर्ने पक्का छ । अर्को कुरा जति लामो समय अरुलाई कुराउन सक्यो त्यत्तिनै आफ्नो गरिमा माथि उठ्छ भन्ने उनको मूल्य, मान्यता नै हो । नत्र नेपाली हुनुको अर्थ नै कहाँ रह्यो र ? एउटा कार्यक्रममा पुग्ना साथ अर्कोमा जान उनलाई हतरो भई हाल्छ । आखिर, विशिष्ट, अन्य भन्दा प्रमुख नै अतिथि हुन उनी जन्मिएका न हुन् ।
    साधारणसभाको सबै काम आयोजक र सभासद्ले गरे मात्र वैध हुने भएपछि प्रमुख अतिथि किन चाहियो ? यो प्रश्नले मेरो मथिंगलमा हिर्काई रहन्थ्यो । अहिले आएर बल्ल बुझ्दै छु । अहिले प्रमुख, विशिष्ट तथा अन्य नाम गरेको अतिथि बिना कुनै पनि कार्यक्रम कल्पना गर्न पनि सकिन्न । कतै रिवन काट्न, कतै डोरी तान्ने त कतै पानसमा बत्ति बाल्न वा यस्तै यस्तै बिरालो बाँध्ने काम गर्न एकथान प्रमुख अतिथि चाहिन्छ । अतिथि बिनाको कार्यक्रम समाचार बन्दैन । समाचार नबनेपछि सबै काम ओझेलमा पर्छन् । यस्तो भएमा रकम धेरै झर्दैन । त्यसैले मानिसलाई पुजा गर्न ढुंगाकै भए पनि देउता चाहिए जस्तै आयोजकलाई आफ्नो कलापूर्ण तामझाम देखाउन पनि विभिन्न नामका अतिथि चाहिन्छ ।
    हुन त अतिथि र पाहुना पर्यायवाची शब्द हुन् । तर काम उस्तै गरे पनि अहिले कांग्रेस र कम्युनिष्टले पुराना पञ्चलाई राजनीतिको मैदानबाट विस्थापित गरे जस्तै अतिथि भन्ने शब्दले पाहुना भन्ने शब्दलाई विस्थापित गरेर सबैतिर आफ्नो एकछत्र हाली–मुहाली चलाएको छ । लामो यात्राको क्रममा साँझ परेपछि हाम्रो घरमा बास माग्न आउने र हामी स–साना केटाकेटी हुँदा हामीलाई रमाईला कथा सुनाउने पाहुना अहिलेको यातायात क्ष्ँेत्रको प्रगति र वसोवासको वैकल्पिक व्यवस्थाले गर्दा लोपोन्मुख जीव जस्तै स्वाट्टै घटेका छन् । माफिया मुसदण्डेको बलमा सत्ताको भ¥याङ चढेपछि दलका नेताले आफ्नो वर्ग मात्र होइन भाषा समेत परिवर्तन गरे जस्तै पाहुनाले नयाँ अर्थसहित आफुलाई अतिथिमा रुपान्तरण गरेको छ । अहिले अतिथि भन्नाले त्यो व्यक्ति बुझिन्छ जसबाट केही झर्छ वा झार्न सकिन्छ । गतिलो प्रमुख अतिथि प¥यो भने धेरैथोक झर्छ । तर आयोजकले हदैसम्मको तामझाम र चाकडी कलाको प्रदर्शन गर्नुपर्छ । प्रमुख अतिथि आफैंले त केही दिने होइन । उसले आफ्नो प्रभाव उपयोग गरेर सरकारी रकमको सहज अवतरण गराउन सक्छन् । रकमको केही प्रतिशत भेटे भने उनले बढी नै जाँगर चलाउँछन् ।
    हाम्रो समाजमा धर्मभिरुहरु प्रशस्त छन् । यस्ता मान्छे अतिथिलाई देउता ठान्छन् । देउतासँग डराउँछन् । तर ठगहरु देउतासँग डराउँदैनन् । किनकी देउता छैन भन्ने उनीहरुलाई थाहा छ । तथापी उनीहरु जनतालाई भ्रमित गराउन देउताको खेती गर्र्छन् । भ्रमको खेती गर्दा अज्ञानताको बाली भित्रिन्छ । यो खेती सप्रियपछि ठगी धन्दा फस्टाउँछ । ठगहरु मालामाल हुन्छन् । बिग्रियो भने कहिले काहीँ उनीहरु जेलको हावा खान बाध्य हुन्छन् । देउताको खेती गर्ने ठगहरु एकपछि अर्को गरी पुलिसको फन्दामा परेको समाचार बाक्लै सुनिन्छ र पढिन्छ । हुन त महाकवि देवकोटाले मर्ने बेला श्रीकृष्ण भेटे छन् । तर उनको गरिबी देख्दा कसैले उनलाई ठग भन्न सकेनन् । महाकविको निष्कलङ्क, पवित्र आत्मा बोलेको भन्ने सबैलाई थाहा थियो । यो नबुझेका पापिष्टहरुले उनलाई ठिस चाहीँ भने । आफु न त ठिस न त ठग नै परियो । त्यसैले देउता छैन भनेर ढुक्क हुने धेरै मध्ये म पनि एक हुँ । मानवता वा मानवीय गुण बढी भएको व्यक्तिलाई भगवान मान्ने हो भने मेरो भन्नु केही छैन । अतिथि देउता त किमार्थ होइन । त्यसो भए के उनी असल मान्छे हुन् त ? कार्यक्रम आयोजकलाई मतलब हुन्न । उनीहरुको मतलब भनेको कसलाई अतिथि बनाउँदा कति झर्छ वा झार्न सकिन्छ भन्ने हो ।
    नेपालमा काम भनेको फुर्सद हुनेले गर्ने हो । अर्थात् फुर्सद नहुनेले काम गर्दैन भन्ने मान्यता यहाँ प्रवल छ । त्यसैले आयोजक फुर्सदिला हुने नै भए । आयोजक हुनु भनेकै फुर्सदिलो हुनुको प्रमाण हो । प्रमुख अतिथिलाई दिनभरी पर्खेर धैर्यताको परीक्षामा उत्तिर्ण हुन नसक्ने आयोजक हुनै सक्तैन । धैर्यता र तामझामसहितको चाकडीकला जति जति प्रयोग हुन्छ त्यति नै बढी अतिथिबाट झर्छ वा झार्न सकिन्छ । यहाँ मान्छे भन्दा कोट ठुलो हुन्छ । त्यस्तै कार्यक्रमका अन्य पक्ष भन्दा अतिथि ठूलो हुन्छ । त्यसैले आफ्नो उत्पादनशील उर्जा उसैको पखाईमा खर्च गरौं । उसबाट सकेसम्म झारौं । यसैमा आयोजकको सुख, समृद्धि सुरक्षित छन् अस्तु ।





सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077284 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top