28 Jan 2020   |   
logo
सम्पादकीय

सुस्त प्रदेश सभा



सम्पादकीय   438 पटक पढिएको   सम्पादकीय   २०७६ मंसिर २४ मंगलवार  

३ नम्बर प्रदेश सभाले दुई वर्षको समयावधि पूरा गर्नै लागेको छ । प्रदेश सभाले २ वर्षको अवधिमा ४५ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकारका लागि न्यूनतम् ९९ वटा कानुन आवश्यक भनिएकोमा अझै आधा भन्दा बढी संख्यामा कानुन नै निर्माण गर्न बाँकी रहेको प्रदेश सभाले आम नागरिकको पक्षमा के के काम गर्यो भन्ने निश्चित छैन । २ वर्षको अवधिमा प्रदेश सभाले मुख्यतः प्रदेश सरकारको नियमित कार्यसञ्चालनका लागि आवश्यक आधारभूत कानुन मात्रै निर्माण गर्न सकेको छ । अझै लोकसेवा विधेयक, प्रदेश प्रहरी विधेयक जस्ता अपेक्षित विधेयक तयार पार्न सकेको छैन भने आम नागरिकको दैनिकी र जीविकासँग जोडिने मुद्दामा प्रदेश सभाले चासो देखाउन सकेको छैन ।

प्रदेश सरकारको नयाँ संरचनालाई स्थापित गर्नुपर्ने भएकोले प्रदेश सभाको पहिलो दिनदेखि नै आधारभूत कानुन निर्माणमा समय खर्चनु परेको थियो । तर, दुई वर्षको अवधि पूरा हुनै लाग्दा पनि प्रदेश सरकारलाई पूर्णता दिन आवश्यक कानुन निर्माण गर्न नसक्नु समीक्षा गर्नुपर्ने विषय हो । प्रदेश सभाले प्रदेशको कानुनलाई पूर्णता दिएर आम नागरिकको सेवामा प्रदेश सरकारलाई जिम्मेवार हुन प्रेरित गर्नुपर्ने, निर्देशित गर्नुपर्ने थियो । प्रदेश सरकार नेपालका लागि नयाँ अभ्यास भएकोले नामबाट भन्दा पनि कामबाट चिनाउने प्रयास गर्नुपर्ने थियो । स्थानीय तह बलियो बनाएको संघीय व्यवस्थामा प्रदेशको औचित्य नभएको भनी आलोचना भइरहेका बेला पनि प्रदेश सभाले प्रदेश सरकारको औचित्य पुष्टि हुने काम गर्न नसक्नु चुनौतिको विषय बनेको छ ।

प्रदेश सभाले प्रदेश संरचनालाई कसरी प्रभावकारी बनाउने भनेर निक्कै मिहिनेत गर्नुपर्ने हो । प्रदेश सभा लामो समयसम्म कामबिहिन हुने स्थिति एकातिर छ भने अर्कोतिर आवश्यक कानुन तयार भएन भन्नुपर्ने स्थिति छ । प्रदेश सभाले संघीय संसदकै शैलीमा फुर्सदले काम गरिरहेको छ । संघीय संसदले संघीय व्यवस्थाका अधिकांश कानुन निर्माण गरेर अहिले सरकार सञ्चालनका क्रममा आवश्यक कानुन संशोधन गर्ने काम र सरकारको निगरानीका लागि आवधिक रुपमा संसद बैठक सञ्चालन गरे पुग्ने अवस्था छ । तर, प्रदेश सभाले अझै कानुन निर्माणकै कार्यलाई पूर्णता दिन बाँकी छ । प्रदेश सभाले प्रदेश सरकारलाई तीव्र गतिमा दौडने आधार तयार पार्नुपर्ने थियो । दुईतिहाईको सुविधामा प्रदेश सभा अल्छि भएको छ ।

अर्कोतर्फ प्रतिपक्षी दल पनि सुस्ताएकै छ । तर, उसले मौका पाएको बेला हामीले अप्ठेरोमा पारेका छैनौं भनेर पन्छिने गरेको छ । अल्छि सत्ता पक्षलाई यस्तो सुविधा दिन प्रतिपक्षीको परिकल्पना गरिएको होइन । प्रजातन्त्रमा प्रतिपक्षी भनेको जनमतको सम्मान नभए, जनभावनाको कदर नभए सत्तासिनलाई सचेत गराउने, झक्झक्याउने जिम्मेवारी पाएको समूह हो । तर, सत्तापक्षसँग हँसिलो अनुसार लगाउने प्रतिपक्षी प्रतिपक्षी नै होइन । २ वर्षको अवधिमा प्रतिपक्षीले नागरिकको पक्षमा हुने के कुरा प्रदेश सभामा उठायो भनेर खोजी गरियो भने कुनै गतिलो तथ्य फेला पर्ने स्थिति छैन । यो दुई वर्षको अवधि प्रदेश सभाले आफ्नै औचित्यमाथि प्रश्न चिन्ह खडा गरेको छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987187 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top