28 Jan 2020   |   
logo
स्थानीय तह

राक्सिराङ–मनहरी सिमा विवाद समाधानका लागि समिति गठन



स्थानीय तह   53 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर २३ सोमवार  

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका बीच देखिएको सिमाना बिवाद समाधानका लागि समिति गठन गरिएको छ । दुई गाउँपालिका बीचमा रहेको मनहरी खोलामा सिमा बिवाद आएपछि आइतबार प्राविधिकसहितको समिति गठन गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायको संयोजकत्वमा स्थलगत अनुगमनपछि राक्सिराङ गाउँपालिकामा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

मनहरी–८ र राक्सिराङ–५ बीचमा रहेको मनहरी खोलामा विवाद आएपछि राक्सिराङ गाउँपालिकामा बसेको बैठकले डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घ नारायण कोईरालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलको सदस्यहरूमा मनहरी–८ का वडा अध्यक्ष दिल बहादुर स्याङ्तान, राक्सिराङ–५ का वडा अध्यक्ष चन्द्र सिंह प्रजा, जिल्ला समन्वय समितिका प्राविधिक राम सेवक मण्डल, नापि कार्यालयका नापि अधिकृत पुरुषोत्तम नगरकोटी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि रहेका छन् । समितिलाई पुस १५ गतेसम्मको समयावधि दिईएको छ ।

पुस १५ गतेसम्म दुवै गाउँपालिका अध्यक्षसँगको समन्वयमा आवश्यक विधि प्रयोग गरी सिमा सम्बन्धी प्रतिवेदन तयार पारेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल समक्ष पेश गर्ने गरी समितिलाई जिम्मेवारी दिईएको हो । समितिले तयार पारेका प्रतिवेदनका आधारमा बैठक बसेर निर्णय गरिने बताईएको छ । मनहरी र राक्सिराङ बीचको सीमाना विवाद केही समय अघिदेखि शुरु भएको हो । मनहरी–८ र राक्सिराङ–५ बीचमा रहेको मनहरी खोलामा नदिजन्य पदार्थ उत्खनन् र ठेक्का प्रक्रियामा जाने विषयमा विवाद उत्पन्न भएको थियो । अघिल्लो वर्ष दुई पालिकाको सिमानामा पर्ने मनहरी खोलामा आपसी सहमतिका आधारमा मनहरी गाउँपालिकाले राजस्व संकलन गरेर बाँडफाँट गर्नें सहमति गरिएको थियो । तर, यो वर्ष उक्त खोलामा राक्सिराङ गाउँपालिकाले वातावरणीय परिक्षण आईई गरी टेण्डर लगाउने भएपछि दुई पालिका बीचमा विवाद देखिएको हो ।

यसअघि दुई गाउ“पालिका बीचमा आन्तरिक सहमतिमा नदिजन्य पदार्थ उत्खनन् भएकोमा हाल सामान्य बिवाद आएकाले उक्त बिवाद समाधानका जिल्ला समन्वय समितिमा पत्राचार गरिएकोले कार्यदल गठन गरिएको जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज लोहनीलगायतको उपस्थिति रहेको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987237 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top