28 Jan 2020   |   
logo
समाज

मुख्यमन्त्री पौडेलद्वारा गौरीटार रंगशाला अवलोकन फुटबल मैदान माघभित्रै तयार हुने



समाज   38 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर २३ सोमवार  

हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गर्नुभएको छ । हेटौंडा–६, गौरिटारस्थित निर्माणाधिन प्रतिष्ठानको विषयमा मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री हुनुभएदेखि नै विशेष चासो दिइरहनुभएको छ । ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि प्रतिष्ठानको निर्माण कार्यले तीव्रता पाएको छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम सक्न निर्देशन दिनुभयो । निर्माण कम्पनिले आगामी माघ महिनाभित्र फुटबल खेलको घाँसेमैदान तयार पार्नेछ ।

यही वर्ष फुटबल, क्रिकेट खेलका लागि मैदान तयार हुने गरी काम गर्न निर्देशन दिनुका साथै निगरानी समेत भइरहेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । ‘प्रतिष्ठानलाई देशकै उत्कृष्ट खेलस्थल बनाउने लक्ष्य छ’, मुख्यमन्त्री पौडेलले भन्नुभयो । ‘प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले फुटबल मैदान बनाउने काम भइरहेको छ । हाल धमाधम फुटबल चौरको काम भैरहेको छ भने पुस महिनाभित्र दुबो समेत रोपिसक्ने लक्ष्य रहेको समितिको भनाइ छ । मुख्यमन्त्री पौडेलले निर्माण कार्यप्रति सन्तुष्टी जनाउनुहुँदै निर्माण कम्पनिलाई धन्यवाद समेत दिनुभयो ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘यो हाम्रो प्रदेशको गौरवको योजना भएकाले बजेटको कमीले अब काम रोकिँदैन’, मुख्यमन्त्री पौडेलले भन्नुभयो । २३ बिघा जमिनमा निर्माणाधिन प्रतिष्ठानमा खेलाडीका लागि सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रियसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुनेछ ।

मुख्यमन्त्री पौडेलसँगै निर्माणाधिन प्रतिष्ठानको अवलोकनमा पुग्नुभएका ३ नम्बर प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले प्रतिष्ठानमा दुईवटा कभर्ड हल निर्मँणका लागि टेण्डर आव्हान गर्ने चरणमा रहेको जानकारी दिनुभयो । अहिले फुटबल खेलमैदान सम्याउने काम भएको जानकारी गराउनुहुँदै ८ इन्च ग्राभेल गरेर त्यसमाथि ४ इन्च माटो राखेपछि कलकत्ताबाट बर्मुडा प्रजातिको घाँस रोपिने सदस्य तिमल्सिनाले बताउनुभयो । निर्माण कम्पनिले माघ महिनासम्ममा एकचरण घाँस काटेर मैदान हस्तान्तरण गर्ने सम्झौता रहेको उहाँले जानकारी दिनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987162 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top