28 Feb 2020   |   
logo
सम्पादकीय

सुन्दरीको सुन्दर काम



सम्पादकीय   1100 पटक पढिएको   सम्पादकीय   २०७६ मंसिर ८ आइतवार  

सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरको विकट कैलाश गाउँपालिकामा निर्माण गर्नुभएको स्वास्थ्यचौकीको शुक्रबार उद्घाटन गरिएको छ । मिस नेपाल भएपछि गर्नुपर्ने उदाहरणीय, प्रेरक कार्यको रुपमा मकवानपुरे चेली श्रृंखलाले आफ्नै जिल्लाको दुर्गम गाउँका नागरिकको सुविधाका लागि स्वास्थ्यचौकी निर्माण गर्नु भएको हो ।

युवतीबीच उनीहरुको शारीरिक सुन्दरताका साथै कला, सीप, ज्ञान र क्षमताको परीक्षण गरी सहभागी मध्ये कुनै एकलाई मिस नेपाल घोषणा गर्ने कार्यक्रमलाई आम रुपमा सुन्दरी प्रतियोगिताको रुपमा परिभाषित गर्ने गरिएको छ । एक हिसाबले सुन्दरी भनेर चिनिने मिस नेपाल श्रृंखलाले दुर्गम गाउँका नागरिकको स्वास्थ्यमा सहयोग गर्ने गरी गरिएको उदाहरणीय कार्य हो । यो सुन्दर कार्य गर्न मिस नेपाल खतिवडाको अग्रसरता भए पनि यस महत्वपूर्ण कार्यमा विभिन्न निकाय, व्यक्तिको महत्वपूर्ण भूमिका छ ।

मकवानपुरको दुर्गम गाउँका वासिन्दा स्वास्थ्य सेवा पाउन घन्टौ हिँड्नु पर्ने बाध्यतालाई हटाउने उद्देश्यले मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले मकवानपुरको कैलाश गाउँपालिका–७, ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरिदिनुभएको हो । करिब ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन, उपकरण र स्वास्थ्यकर्मीसहित कैलाश गाउँपालिकाका अध्यक्ष टंंक मोक्तानलाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले हस्तान्तरण गर्नुभयो । वर्थिङ सेन्टरसहित सुविधा रहेको उक्त स्वास्थ्य चौकीमा अहिले अहेव, अनमी र कार्यालय सहयोगीसहित तीन जना कार्यरत छन् । स्वास्थ्य चौकीको हस्तान्तरणसहित स्वास्थ्य सेवा पनि शुक्रबारदेखि सूरु गरिएको छ ।

महिला अधिकारवादीले सुन्दरी प्रतियोगिता महिलामाथि शोषणकै रुपमा रहेको भन्दै विरोध समेत गर्ने गरेको छ । अझ श्रृंखलाको सन्दर्भमा त उहाँका अभिभावक दुबैजना कम्युनिष्ट राजनीतिका अगुवा समेत हुनुले मिस नेपाल भएलगत्तै श्रृंखलाले अनेकौं प्रश्नहरुको सामना गर्नुपरेको थियो । मिस नेपाल भएपछि अनेकौं प्रश्नको सामना गर्नु परेकी श्रृंखलाले मिस नेपालको रुपमा एउटा उदाहरणीय कार्य गरेर मिस नेपाल शारीरिक सुन्दरताको विषय मात्रै नभएर बौद्धिक सुन्दरताको विषय पनि हो भनेर पुष्टि गर्नुभएको छ । दुर्गमका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी स्थापना गर्ने क्रममा मिस नेपाल खतिवडाले आफ्नै आम्दानीको रुपमा रहने रकमबाट स्वास्थ्य चौकी निर्माण गर्नुभएको हो । यस्तै स्थानीय सरकार र स्थानीय नागरिकको समेत सहयोग समेटेर स्वास्थ्य चौकी निर्माण गर्दै गर्दा स्थानीयले पनि अपनत्व ग्रहण गराउन सफल भएको छ । यस किसिमको उदाहरणीय कार्य गरेर मिस नेपालले आफ्नो उपाधीलाई थप वजनदार समेत बनाएको छ । यसले आगामी दिनमा मिस नेपाल घोषित हुनेहरुलाई पनि नागरिकको सेवामा समर्पित हुन प्रेरित गर्नेछ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28392917 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top