18 Nov 2019   |   
logo
विचार

सामुदायिक विद्यालय, व्यवस्थापन समिति र राजनीति



विचार   25 पटक पढिएको   ज्योति न्यौपाने   २०७६ भाद्र २४ मंगलवार  

कुनै एउटा विद्यालयको घटना हो, त्यस विद्यालयमा प्राथमिक तहमा कार्यरत शिक्षक उमेर हदका कारण अनिवार्य अवकाश पाए । उनको स्थानमा अर्को विद्यालयबाट सरुवाका लागि एक शिक्षकले आग्रह गरेपछि वडाध्यक्षले प्रधानाध्यापकलाई व्यवस्थापन समितिमा सहमति गराउनु भनी निर्देशन दिन्छन् । ती शिक्षकलाई रिक्त स्थानमा ल्याउने विषयमा समितिका केही सदस्यहरू बीच सहमति हुन्छ । व्यवस्थापन समितिको बैठकमा प्रधानाध्यापकले सरुवाका लागि सहमति दिने भनी प्रस्ताव पनि लेख्छन् ।

उनले प्रस्ताव लेख्दै गर्दा समितिको अन्य सदस्यहरूको आगमन हुन्छ । वडाध्यक्षको सिफारिसमा रिक्त दरबन्दीमा अर्को विद्यालयको शिक्षक सरुवा गरी ल्याउन सहमति दिन लागिएकोले निर्णयमा हस्ताक्षर गर्न आग्रह गरिन्छ तर ती सदस्यहरूले त्यसमा असहमति जनाउँछन् । उनीहरू आफूहरूलाई जानकारी नै नदिई एक्कासी निर्णय गर्ने भन्दै आक्रोशित हुन्छन् । विवादले उग्र रुप लिँदै जाँदा बैठकको निर्णय समेत च्यातिन्छ ।

पहिला नै जानकारी नदिई निर्णय गर्न लागिएको भन्ने भन्दा पनि बैठकको निर्णय च्यात्ने सदस्यहरूको पनि आफ्नो पक्षका शिक्षक ल्याउने मनसाय रहेको हुन्छ । उनीहरूले आफ्नो पक्षको शिक्षका लागि सिफारिस गर्छन् । तर अर्को समूहले अस्वीकार गर्छन् । विषयको शिक्षक विद्यालयलाई आवश्यक नभएको र पहिला नै सिफारिस शिक्षक आवश्यक भएको बताउँछन् । दुई पक्षको विवादले विद्यालयमा शिक्षक सरुवा गरेर ल्याउन सकिँदैन र साना बालबालिकाहरूको नियमित पठनपाठनमा समस्या सिर्जना हुन्छ । वडाध्यक्षले सिफारिस गरेको शिक्षक ल्याउने विषयमा विवाद भएको घटना सुनेर अर्का एकजना विद्यालय नजिकैको अर्को विद्यालयको शिक्षक पनि आक्रोशित देखिन्छ । ऊ व्यवस्थापन समितिमा अर्को पटक कुनै पनि पार्टीका मानिस नछिराउने आफू शिक्षकको जागिर छाडेर व्यवस्थापन समितिको अध्यक्ष बन्ने बताउँछ । उसलाई पनि विद्यालयमा पढाउने रहर छैन अब ऊ विद्यालयमा राजनीति गर्ने दाउमा ढुकेर बसेको छ ।

यो एउटा प्रतिनिधि घटनामात्र हो । हाम्रा सामुदायिक विद्यालय यस्तै राजनीतिक खेलको चपेटामा परेको छ । जसको प्रत्यक्ष असर सानासाना विद्यार्थीमाथि परिरहेको छ । बाबुआमाले पढ्न भनेर पठाएका बालबालिका दिनभर विद्यालयमा समय बिताएरमात्र घर फर्कन बाध्य छन् । विद्यालयमा बालबालिका पढाउने अभिभावक तीन प्रकारका देखिन्छन् । पहिलो थरिका अभिभावक विद्यालयमा आफ्ना बालबालिकाको पढाइप्रतिमात्र चिन्तित देखिन्छन् । उनीहरूलाई विद्यालयमा पढाइ राम्रो हुनुपर्छ, आफ्ना बालबालिकाले राम्रो ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गर्नुपर्छ । विद्यालयमा राम्रो शिक्षक हुनुपर्छ भन्ने उनीहरूको एकमात्र मनसाय हुन्छ । अर्कोथरि अभिभावक बालबालिकालाई विद्यालयमा पठाउँछन् तर उनीहरूको पढाइप्रति चासो चिन्ता लिने फुर्सदसमेत हुँदैन । बिहान बेलुकाको गुजारा चलाउने र छोराछोरीको पढाइका लागि खर्च जोहो गर्नमा व्यस्त हुन्छन् । उनीहरू विद्यालयले बोलाएको समयमासमेत जान भ्याउँदैनन् । तेस्रो थरिका अभिभावक विद्यालयमा पढाइका लागि चिन्तित भएको जस्तो त गर्छन् तर भित्रीरुपमा अनावश्यक राजनीति गर्छन् ।

कुन पक्षको शिक्षक विद्यालयमा कति जना छन् रु नयाँ नियुक्तिमा कुन पक्षको शिक्षकको प्रवेश हुँदैछ भन्ने कुरामा चासो राख्छन् । यस्तै व्यक्तिहरू व्यवस्थापन समितिमा जसरी पनि प्रवेश गर्छन् । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिभन्दा पनि आफ्नो विभिन्न निर्णयहरूमा आफ्नो स्वामित्व खोज्छन् । शिक्षक नियुक्ति, सरुवा होस् वा भौतिक निर्माणको कुरामा किन नहोस् आफूले भनेका कुरामात्र लागू गर्नुपर्छ भन्ने कुरामा विभिन्न हत्कण्डा अपनाउँछन् । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकसँग उनीहरूको परामर्श हुँदैन । शिक्षकहरूसँग छलफल गरेर अभिभावक र विद्यार्थीलाई कसरी विद्यालयप्रति आकर्षण गराउने भन्ने कुरामा उनीहरूको ध्यान जाँदैन तर आफू निकटको पार्टी र आफ्नो मपाइँत्वको लागि उनीहरू विद्यालय व्यवस्थापन समितिमा चलखेल गर्छन् । यसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बाधा सिर्जना गरिरहेको छ ।

शिक्षालाई प्रभावकारी बनाउन र शिक्षकलाई अभिभावकप्रति जवाफदेही बनाउनका लागि विद्यालय सञ्चालनको जिम्मेवारी समुदायलाई प्रदान गरिएको हो । स्थानीय आवश्यकता, अवस्था, भौगोलिक, सामाजिक, आर्थिक अवस्थालाई मध्यनजर गर्दै समाज तथा समयसापेक्ष शिक्षा प्रदान गर्न व्यवस्थापन समितिको गठन गरिएको हो । विद्यालयलाई समुदायको अपनत्व रहोस् भन्ने मनसाय हो तर सरकारको उद्देश्य एकातिर छ भने समुदायको क्रियाकलाप अर्को छ । जबसम्म लक्ष्य र क्रियाकलाप एकअर्कामा सामञ्जस्य राख्दैनन् तबसम्म गन्तव्यमा पुग्न सकिँदैन । सरकारले लिएको लक्ष्यमा शिक्षा पुग्न नसक्नुको कारण ने यही हो ।

सबै स्थानका विद्यालयमा अनावश्यक चलखेल हुन्छ भन्ने होइन । कतिपय विद्यालयमा व्यवस्थापन समिति अत्यन्त सक्रिय छ । जति शिक्षकको सक्रियता छ त्योभन्दा बढी सक्रियता व्यवस्थापन समितिमा पाइन्छ । त्यस्ता विद्यालयको उदाहरणहरू हेर्ने भने शैक्षिक रुपमा पनि धेरै सफलता हासिल गरिसकेका छन् । विगतमा जुन उपलब्धि उनीहरूले हासिल गरेका थिए, जस्तो नतिजा  परीक्षा (एसईई) को आउँथ्यो त्यो भन्दा धेरै गुणा बढी सफलता ल्याइरहेका छन् । मकवानपुरका विभिन्न विद्यालयमा पछिल्लो समयमा जुन नतिजा एसईईमा आइरहेको छ, ती विद्यालयमा व्यवस्थापन समितिको सक्रियता अत्यन्तै प्रशंसनीय छ । अझ पछिल्लो समय शिक्षक सेवा आयोगले परीक्षा लिएर शिक्षक नियुक्ति गर्न थालेपछिको अवस्थामा यसले सकारात्मक प्रभाव पारेको पाइन्छ ।

एउटा विद्यालय राम्रो हुनका लागि सबै पक्षको उत्तिकै भूमिका हुन्छ । शिक्षकको शिक्षण पेशाप्रतिको इमान्दारिता, अभिभावकको आफ्ना बालबालिकाको पढाइप्रतिको चासो, व्यवस्थापन समितिको सकारात्मक भूमिका, उत्प्रेरणा र प्रधानाध्यापकको कुशल व्यवस्थापन भएमा विद्यालय शिक्षा अत्यन्तै राम्रो हुन्छ । हाम्रा विद्यालयमा यही कुराको तालमेल अझै हुन सकेको छैन । शिक्षकले जागिरे मानसिकता, अभिभावकले विद्यालय पठाएपछि सबै कुरा शिक्षकलेमात्र गर्छन् भन्ने सोच, व्यवस्थापन समितिले अनावश्यकको राजनीति तथा प्रधानाध्यापकले राम्रोसँग व्यवस्थापन गर्नेतर्फ अब तत्काल सोच्न आवश्यक छ । अन्यथा हाम्रो सामुदायिक विद्यालयको शिक्षामाथि सधैँ प्रश्न चिन्ह खडा भइरहने छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालय र शिक्षा क्षेत्रलाई प्रतिष्ठाको लागि लडाइँ गर्ने क्षेत्र बनाउने मनसाय त्याग्नुपर्छ । विद्यालय व्यवस्थापन समितिको गठनका बेलामा अभिभावक पनि निकै सचेत बन्न आवश्यक छ । जो समितिमा बस्न खोज्दैछन् ती कस्ता व्यक्ति हुन् रु उनीहरूका बालबालिका विद्यालयमा अध्ययन गर्छन् कि गर्दैनन् रु आफ्ना काममा कतिको जिम्मेवारी बहन गर्ने खालका हुन् भन्ने कुरामा ध्यान पुर्याउनु पर्छ । जो आवश्यक काममा भन्दा अनावश्यक काममा बढी चासो र चिन्ता गर्छ त्यस्ता व्यक्ति समितिमा आउँदा कस्तो अवस्था सिर्जना हुन्छ भन्नेतर्फ बेलैमा सोच्नु पर्छ । अब हामीले शैक्षिक गुणस्तर वृद्धि गरी सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट बनाउनेतर्फ सोच्नुपर्छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17385332 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top