10 Dec 2019   |   
logo
सम्पादकीय

सुरुङमार्ग सपना



सम्पादकीय   1141 पटक पढिएको   समाज संवाददाता     

हेटौंडावासीले सुरुङमार्गको सपना साँचेको एक दशक हुन लाग्यो । नेपाल पूर्वाधार विकास कम्पनि (एनपीबीसीएल) ले हेटौंडा–काठमाडौं सुरुङमार्गको सुन्दर सपना बाँडेर देशविदेश डुले पनि सुरुङमार्गको सपना पूरा हुन सकेन । नेपालको पहाडी भूभागमा सुरुङमार्गको आवश्यकता र औचित्य प्रसस्त भए पनि पूर्वाधार विकासमा भने राज्य र निजी क्षेत्र दुबै सफल हुन सकेको छैन ।

 मकवानपुरको सन्दर्भमा आजभन्दा करिब एक शताव्दीअघि नै चुरियामाईमा सानै भए पनि सुरुङमार्ग निर्माण भएको थियो । चुरे पर्वतको कमजोर बनोटमा समेत आजभन्दा एक सय वर्षअघि सुरुङमार्ग बनाउन सफल भएका नेपालीले आजको उत्तरआधुनिक समयमा देशकै लागि ठूलो आर्थिक लाभको अवसर रहने सुरुङमार्ग निर्माणमा काम गर्न सकेको छैन ।

राजधानी काठमाडौंसँग मकवानपुरको सहज पहुँचको अपेक्षा गर्दै सुरुङ मार्गको अवधारणा पनि अत्यन्त अपेक्षित रहँदै आएको छ । सुरुङमार्गको सम्भाव्यता र उपयुक्ततालाई लिएर ३ दशकभन्दा बढी अवधिदेखि आम रुपमा चर्चा हुँदै आएको थियो । ६ वर्षअघि नेपाल सरकारले निजि क्षेत्रलाई हेटौंडा काठमाडौं सुरुङमार्ग निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा निर्माण गर्न स्वीकृति दिएको थियो । तर, सुरुङ निर्माणको काम अघि बढ्ने भन्दा पनि पूर्वाधार विकास कम्पनि नै संकटमा परेको छ । पूर्वाधार विकास कम्पनिमा सर्वसाधारणले लगानी गरेको करिब ३० करोड लगानी डुब्ने स्थिति छ । सेयर लगानीको विषय नाफा र घाटा दुबैको हिस्सेदार हुनु नै हो । यद्यपि नागरिकको लगानी असुरक्षित भएको, लगानी जोखिममा परेको स्थितिलाई बुझाउने गरी एउटा महत्वाकांक्षी आयोजना असफल भएको घोषणा हुनुले भावी दिनमा नागरिकले ठूला आयोजनामा लगानी गर्ने मनस्थिति बनाउनै नसक्ने खतरा रहनेछ ।

यस्तो पृष्ठभूमिमा नेपाल सरकारले मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सुरुङमार्ग र चित्लाङ–थानकोट सुरुङमार्गसहित देशभर १२ वटा सुरुङमार्ग निर्माण गर्ने तयारी थालेको छ । यसले पुनः मकवानपुरवासीलाई सुरुङमार्गको सपना व्युँतने आशा जागेको छ । भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङमार्ग बन्ने हो भने पनि हेटौंडा–काठमाडौं यात्रा निक्कै सहज, सुरक्षित र सहुलियतपूर्ण हुने थियो । सुरुङमार्गले देशका विभिन्न स्थानलाई जोड्दै देशको समग्र विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गर्न सकिन्छ ।

संसारले सुरुङमार्गमा हासिल गरेको उपलब्धीलाई हेर्दा हेर्दै नेपालमा एउटा सुरुङमार्ग सपनामै सीमित हुने स्थिति अत्यन्त दुखदायी बनेको छ । यसर्थ अझै गम्भीर रुपमा सुरुङमार्गको सम्भाव्यतालाई हेरेर सफल बनाउनेतर्फ सरकार कै गम्भीर चासो र भूमिका जरुरी छ । सरकारले निजि क्षेत्रलाई दिएको अवसर सफल भएन भनेर चुप बस्ने नभई आफ्नै लगानीमा सुरुङमार्ग पूरा गर्ने तर्फ चासो देखाउनु सराहनीय छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119882 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top