10 Dec 2019   |   
logo
प्रदेश समाचार

३ नम्बर प्रदेशमा धेरै असमानता



प्रदेश समाचार   1081 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः नेपालको ७ वटै प्रदेशमध्ये ३ नम्बर प्रदेशमा सबैभन्दा धेरै आयमा असमानता देखिएको छ । प्रदेशमा ३५ दशमलव ३ प्रतिशत आयमा असमानता देखिएको छ । दिगो विकास लक्ष्यहरू र प्रदेशको वर्तमान अवस्था विषयक आइतबार हेटौंडामा भएको छलफलमा प्रतिवेदन प्रस्तुत गर्दै प्राध्यापक डा. पिताम्बर शर्माले दिगो विकासको लागि आयमा असमानता घटाउनु पर्ने जानकारी दिनुभयो ।

आयको वितरणमा असमानता रहेसम्म दिगो विकासको लक्ष्यमा पुग्न नसक्ने उहाँको भनाई छ । सन् २०३० सम्ममा देशको असमान आयलाई २३ प्रतिशतमा ल्याउने राष्ट्रिय लक्ष्य रहेको उहाँले बताउनुभयो । यस्तै, ३ नम्बर प्रदेशको गरिबी तथ्याङ्क अन्य प्रदेशको तुलनामा सकारात्मक रहेको उहाँले बताउनुभयो । प्रदेशमा २० दशमलव ५९ प्रतिशत गरिबी रहेको तथ्याङ्कमा देखिएको छ । तर, सन् २०३० सम्म ४ दशमलव ९ प्रतिशतमा झार्ने राष्ट्रिय लक्ष्य रहेको डा। शर्माले जानकारी दिनुभयो । राष्ट्रिय गरिबी रेखामुनी ५ वर्ष उमेरका बालबालिका ३४ दशमलव ६३ प्रतिशत रहेको छ । ३ नम्बर प्रदेशमा गरिबीको रेखामुनी रहेका बालबालिकाको संख्या तुलनात्मक रुपमा धेरै देखिन्छ । ३ नम्बर प्रदेशमा कूल गार्हस्थ उत्पादन हेर्दा कृषिबाट १३ प्रतिशत, उद्योगबाट ५ प्रतिशत, निर्माणमा ६ प्रतिशत, व्यापारमा २२ प्रतिशत, यातायातमा १० प्रतिशत, वित्तीयमा ११ प्रतिशत र घरजग्गामा २० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । यसरी हेर्दा ३ नम्बर प्रदेशको कूल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै घरजग्गा र व्यापारमा रहेको देखिन्छ । यस्तै, कुल रोजगारीमा ठूला उद्योगहरूको राष्ट्रिय रोजगारीको अनुपात १० दशमलब ५ प्रतिशत रहेको छ भने ३ नम्बर प्रदेशमा १५ दशमलब २ प्रतिशत रहेको छ ।

७ वटै प्रदेशको तुलनामा ३ नम्बर प्रदेशको अवस्था राम्रो भए पनि सन् २०३० सम्म २५ प्रतिशत पुर्याउने राष्ट्रिय लक्ष्य रहेको छ । त्यसैगरी, ३ नम्बर प्रदेशमा ७ दशमलव २ प्रतिशत बेरोजगार, ३२ दशमलव ७ प्रतिशत रोजगार र ३५ दशमलव २ प्रतिशत श्रमजीवी रहेको देखिन्छ । यता सम्पत्तिमा महिलाको स्वामित्व हेर्दा ३ नम्बर प्रदेशको अवस्था राम्रो रहेको देखिन्छ । देशमा महिलाहरूको सम्पत्तिमाथिको स्वामित्व २२ दशमलव २ प्रतिशत रहेको छ भने ३ नम्बर प्रदेशमा २४ दशमलव १ प्रतिशत रहेको छ । महिलाको सम्पत्ति माथिको स्वामित्वलाई ४० पुर्याउनु पर्ने डा. शर्माले बताउनुभयो । यस्तै, वातावरण र जलवायुमा ३ नम्बर प्रदेश पछाडि रहेको उहाँले बताउनुभयो । दिगो विकासका लक्ष्यहरूमा १७ वटा विश्वव्यापी लक्ष्यहरूमा नेपाल सरकारले प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । जसमा गरिबी, भोकमरी र खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, लैंगिक समानता र महिला सशक्तिकरण, पानी र सरसफाई, उर्जा, आर्थिक वृद्धि, पूर्वाधार, असमानता, सहरहरू, दिगो उपभोग र उत्पादन, जलवायु परिवर्तन, महासागर, जैविक विविधता, शान्ति र न्याय, साझेदारी रहेका प्रोफेसर डा. पिताम्बर शर्माले जानकारी दिनुभयो ।

आइतबार ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको सभाध्यक्षता रहेको थियो । ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगका सदस्य श्यामकुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119832 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top