28 Jan 2020   |   
logo
सम्पादकीय

राजनीतिकर्मीको अपरिपक्वता



सम्पादकीय   1413 पटक पढिएको   सम्पादकीय      

नेपाली समाजमा राजनीतिकलाई हेर्ने दृष्टिकोण नै फरक छ । हरेक राजनीतिक घटनालाई नकारात्मक दृष्टिकोणबाट हेरिन्छ । राजनीतिक घटनाक्रमलाई सकारात्मक दृष्टिकोणले व्याख्या गर्ने आँट कमैले गर्छन् । कसैले सकारात्मक प्रतिक्रिया जनाउँदा स्वतः समर्थक या कार्यकर्ताको दर्जामा व्याख्या गर्ने गरिन्छ । वाम एकता होस् या लोकतान्त्रिक गठबन्धन दुबैलाई गलत मान्छ नेपाली समाज । अनि फुटको कुरामा त आगो ओकल्छ नेपाली समाज । सामाजिक सञ्जालहरुमा सर्वसाधारणले आफ्नै विषयमा अरुले के भन्लान् भन्ने सामान्य हेक्का समेत नराखी अनेकौं तर्क वितर्क गरिरहेका हुन्छन् । समस्यालाई देखाएर समस्या बढाउने काम गरिरहन्छ । विवेकी, जिम्मेवार नागरिक समाजको पनि उत्तिकै खडेरी छ । राजनीति नै गलत हो, समाजमा राजनीतिक प्रणाली नै आवश्यक छैन भन्ने जस्तो बुझाई रहे झैं लाग्छ ।

अझ महत्वपूर्ण राजनीतिक घटनाक्रममा परिवर्तनको औचित्य पुष्टि गराउनु ठूलै चुनौति बन्न गर्दछ । नेपाली समाज अहिले गणतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्ने अन्तिम चरणमा छ । यतिबेला राजनीतिक दलका शीर्ष नेताको जिम्मेवारीपूर्ण भूमिका जरुरी छ । उनीहरुले जनतामाझ जिम्मेवार भएर राजनीतिक प्रक्रियालाई पूरा गराउनुपर्छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउँदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर आगामी समयलाई मुलुकको समग्र विकासको समयको रुपमा आत्मसात गर्ने तयारी गर्नु जरुरी छ ।

आसन्न निर्वाचनलाई सफल बनाउने भन्दा पनि आफ्नो अवस्था कस्तो होला भन्ने अनुमानका आधारमा राजनीतिक दलहरुले आआफ्नो व्यवहार प्रदर्शन गर्ने अवस्था देखिन्छ । कतिपयले अझै पनि निर्वाचन नहुने हो कि भन्ने आशंक सहजै गर्ने गरेका छन् । यतिबेला संसदको आयु समेत सकिसकेकोले निर्वाचन पूरा गराउनु अत्यावश्यक छ । सरकारमा रहेको दल नै आचारसंहिता उलंघन गर्दै सरकार विस्तार गरिरहेको छ । निर्वाचन नभाँडियोस् भन्ने आशय या आचारसंहिता कार्यान्वयन गर्ने आँट नभएर हो, निर्वाचन आयोग सरकारका आचारसंहिता विपरितका क्रियाकलापलाई बेवास्ता गरिरहेको छ । आचारंसहिता पालना गर्दै निर्वाचनका लागि जिम्मेवार हुनुपर्ने सरकारको अवस्थाले निर्वाचनप्रति आशंका बढ्नु स्वभाविक हो ।

निर्वाचनको अनिवार्यतालाई बुझेर सरकारले जिम्मेवार व्यवहार प्रदर्शन गर्नु जरुरी छ । प्रतिपक्षी दलले पनि जिम्मेवार भएर क्रियाकलाप गर्नु आवश्यक छ । पछिल्लो समय निर्वाचन प्रणालीमा आएको परिवर्तनले दलहरुलाई एकीकृत हुनुपर्ने, सिद्धान्त र व्यवहार मिल्ने दलबीच एकता गर्नुपर्ने अवस्था देखिएको छ । यिनै यथार्थले एकजुट हुँदै गरेका दललाई पनि आशंका गर्ने नागरिक दृष्टि पनि दोषी छ । यसर्थ पछिल्लो राजनीतिक घटनाक्रमहरु स्वभाविक र केही आशंकापूर्ण छन् नै । तर, यी सबै राजनीतिक घटनाक्रमलाई स्वभाविक हो भन्ने बुझाउँदै जिम्मेवारी राजनीतिक गतिविधि गर्न दलहरु जिम्मेवार हुनै पर्छ । जसले आसन्न निर्वाचनको सफलता मात्रै नभएर दीर्घकालिन नेपाली राजनीतिको सुधारको अवस्थालाई आम नागरिकले महसुस गर्न पाउन् । आसन्न निर्वाचनको सफलता मात्रै नभई निर्वाचनमा दलको जिम्मेवार भूमिकालाई स्थापित गर्दै लोकतन्त्रलाई स्थायी र उचित ढंगबाट स्थापित हुने आधार तयार पार्न दलका नेता, कार्यकर्ताकै चरित्रमा उल्लेख्य सुधार जरुरी छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987184 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top