28 Jan 2020   |   
logo
सम्पादकीय

कान्तिलोकपथले ल्याउने सम्भावना



सम्पादकीय   1385 पटक पढिएको        

सम्पादकीय हेटौंडाबाट राजधानी काठमाडौंलाई जोड्ने छोटो र फराकिलो मार्गको रुपमा कान्तिलोकपथ छिट्टै निर्माण हुने देखिएको छ । ६ दशकदेखि निर्माण सुरुवात भएर कान्तिलोकपथले पछिल्लो एकदशकदेखि निर्माण कार्यमा तिव्रता पाएको छ । पछिल्लो समय निर्माण कार्यले तीव्रता पाएसँगै छिट्टै राजधानीसँगको सहज यात्रालाई निश्चित प्रायः बनाएको छ । राजधानी काठमाडौंसँग भारी सवारी साधनले पनि छोटो यात्रा गर्ने अवसरसँगै मकवानपुर जिल्लाको विकासमा प्रसस्त सम्भावना हासिल हुने देखिएको छ ।

मकवानपुर जिल्लाले सडक यातायातको दृष्टिले राजधानी काठमाडौंसँग प्रसस्त सम्भावनालाई आत्मसात गर्दै आएको छ । कान्तिलोकपथ निर्माणका लागि सरकारले विभिन्न खण्डमा विभाजन गरी फरक फरक निर्माण कम्पनिलाई ठेक्का दिएको छ । ९१ किलोमिटर सडकमा निर्माण कम्पनिले कालोपत्रे समेत गर्न सुरु गरिसकेको छ । हेटौंडाको चुच्चेखोलाबाट सुरु भएको कालोपत्रे चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ९ किलोमिटर कालोपत्रे पूरा हुने ठेकेदार कम्पनिले जनाएको छ ।

कान्तिलोकपथको विभिन्न खण्डमा यसअघि पनि केही कालोपत्रे भएको थियो । तर, यसपटक सिंगो लोकमार्ग नै कालोपत्रे हुने गरी काम सुरु भएको छ । केही वर्षभित्रै कान्तिलोकपथ पूर्ण रुपमा कालोपत्रे हुने अपेक्षा गर्न सकिन्छ । सरकारले प्राथमिकतामा राखेर कान्तिलोकपथ निर्माण गर्न चासो देखाएको छ । निर्माण कम्पनिहरुले पनि कामलाई तीव्रता दिएको देखिन्छ । केही खण्डमा भने तीव्रताका साथ काम हुन सकेको छैन । यस्तो सन्दर्भमा सरकारले अझ बढी निगरानी बढाएर सबै खण्डमा प्रभावकारी काम हुने वातावरण तयार गर्नुपर्छ ।

कान्तिलोकपथ निर्माणपछि मकवानपुरबाट ठूला र मालवाहक सवारी साधन पनि कान्तिलोकपथ हुँदै थोरै समयमा राजधानी प्रवेश पाउनेछन् । यसले सवारी साधनको ढुवानी लागत, समय र सवारी साधनको आयुलाई पनि बढाउनेछ । यसबाट मुख्यतः मध्य र पूर्वि तराईका उत्पादन र भारतसँगको दक्षिणी सीमासम्म सहज पहूँच स्थापित गर्नेछ । राजधानीले हासिल गर्ने यस्तो अवसरमा मकवानपुर सहयोगी र आधार क्षेत्र बन्ने छ । यसबाट पनि मकवानपुरले लाभका अवसर पहिचान गरेर लाभ हासिल गर्नुपर्छ । मकवानपुर जिल्लाले प्रवेशद्वारको रुपमा मात्रै नभई नजिकैको राजधानीको ठूलो बजारबाट कसरी लाभ लिन सकिन्छ भन्ने तर्फ अहिले नै वृहत योजना बनाउनुपर्छ ।

उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघले पनि अब मकवानपुर जिल्लामा औद्योगिक, कृषि उत्पादनलाई बढाएर राजधानीको बजारसम्म पु¥याउन सक्नुपर्छ । राजधानी प्रवेश गर्नु पूर्व मकवानपुर जिल्लामा आइपुग्ने मध्य तथा पूर्वि नेपालका नागरिकलाई पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने अवसर पनि दिलाउनुपर्छ । कान्तिलोपथसँगै धरान–चतरा सडकखण्ड पनि निर्माण भइरहेकोले त्यसपछि थप आर्थिक अवसर रहनेतर्फ सरोकारवालाले ध्यान दिनुपर्छ । भावी अवसरलाई लिएर अहिले नै ध्यान दिने हो भने मात्रै सडक निर्माणपछि लगत्तै आर्थिक अवसर सिर्जना हुनेछ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987243 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top