28 Jan 2020   |   
logo
सम्पादकीय

सेवा र सुधार सँगसँगै



सम्पादकीय   1530 पटक पढिएको        

सम्पादकीय मकवानपुर जिल्लाका १० वटै स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति भइसकेको छ । जनअपेक्षा र जनमतअनुसार जनप्रतिनिधिको उपस्थितिले आम जनसमुदाय दैनिक जीवनमा स्थानीय तहको भूमिकाका बारेमा सचेत छन् । स्थानीय तहमा जनप्रतिनिधिको उपस्थितिले मुख्यतः विकास निर्माणका कार्य, सुव्यवस्था कायम गर्ने विषयमा महत्वपूर्ण काम हुनुपर्ने नागरिकको अपेक्षा छ ।

जनप्रतिनिधिको उपस्थितिले उपलब्ध संरचनामै प्रसस्त काम हुने अवस्था छ । अझ पुनर्संरचनाको नयाँ अवधारणाले स्थानीय तहमै अधिकांश सरकारी कार्य सम्पादन हुने भनिएको छ । यसले पनि आम सर्वसाधारणलाई धेरै अपेक्षा गर्न बाध्य बनाएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पुग्दा मात्रै पनि जनतालाई सेवा प्रवाह गर्ने प्रक्रिया र प्रवृत्तिमा धेरै सुधार हुने निश्चित छ । साविककै संरचना र अवधारणामा पनि जनप्रतिनिधि भइदिएको भए नेपाली समाजको विकास अहिलेभन्दा उल्लेखनीय फरक देखिने थियो ।

यतिबेला जनप्रतिनिधिले नागरिकको सेवा कसरी प्रभावकारी बनाउने भन्नेमा नै बढी ध्यान दिनु जरुरी छ । साथै स्थानीय तहको अवधारणाअनुसार स्थानीय तहको पुनर्संरचना, कर्मचारी, स्रोतसाधन, कानुन निर्माण, स्थानीय तहलाई पूर्णता दिने काम गर्नु जरुरी छ । केही महिना नै स्थानीय तहको अवधारणाअनुसारको संरचना विकास गर्न व्यस्त हुनुपर्नेछ । जनअपेक्षाअनुसार तत्काल स्थानीय तहको कार्यसम्पादनमा प्रभावकारिता प्रस्तुत गर्नु अत्यावश्यक छ भने स्थानीय तहको आवश्यक व्यवस्थापन गर्नु पनि उत्तिकै जरुरी छ । स्थानीय तहको अवधारणाअनुसार स्थानीय तहको संरचना विकास र व्यवस्थापन गर्न नै धेरै काम गर्नुपर्नेछ ।

जिल्लामा स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखहरुबीच नै एकचरण समन्वय गर्दै जनप्रतिनिधिहरुले स्थानीय तहलाई पूर्ण बनाउने प्रयत्न गर्नु उचित हुनेछ । नागरिकलाई तत्काल सेवा प्रवाहमा सुधारको महसुस गराउने र क्रमशः स्थानीय तहको पुनर्संरचना गराई निश्चित अवधिपछि स्थानीय तहमा प्राप्त अधिकारले सामाजिक विकासलाई सम्भव तुल्याएको तथ्य स्थापित गर्नुपर्ने चुनौति पनि अहिलेका निर्वाचितहरुको सामु छ । यसर्थ निर्वाचनको मतपरिणामपछि पनि राजनीतिक दलहरुबीच सहकार्य र सौहाद्र्ध व्यवहारका साथ समन्वय र सहकार्य गरी स्थानीय तहलाई सफल बनाउने प्रयत्न गरिनु जरुरी छ । यतिबेला आम नागरिकमा नयाँ अवधारणालाई सफल भएको सावित गराउनुपर्ने मुख्य चुनौति स्थानीय तहमा निर्वाचितहरुको सामु छ । नयाँ अवधारणालाई सफल बनाउन नसके तुरुन्तै यसका विरोधीहरुले अनेकौं तर्क बितर्क गर्न थाल्नेछन् । यी पनि जनप्रतिनिधिका चुनौति हुनेछन् । यसर्थ जनप्रतिनिधिले दैनिक सेवा प्रवाहमा सुधार र नयाँ अवधारणालाई स्थापित गर्ने काम सन्तुलित रुपमा अगाडि बढाउनुपर्छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987173 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top