28 Feb 2020   |   
logo
विचार

सम्पादकीय, अब शिक्षित मकवानपुर



विचार   116 पटक पढिएको        

जिल्ला शिक्षा कार्यालय मकवानपुरले बिहिबार एक भव्य कार्यक्रमको आयोजना गरी मकवानपुर जिल्लालाई साक्षर घोषणा गरेको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९८ दशमलव ९७ प्रतिशत नागरिक साक्षर भएको जनाउँदै जिल्लालाई साक्षर घोषणा गरिएको बताइएको छ । मकवानपुर जिल्ला देशको ३०औं साक्षर जिल्ला हो । आर्थिक वर्ष २०६७/६८ देखि हालसम्ममा करिब ५५ हजार जनसंख्यालाई साक्षर गराएर बिहिबार एक समारोहकाबीच शिक्षा मन्त्री धनीराम पौडेलले साक्षर मकवानपुर घोषणा गर्नुभयो ।

 साक्षर जिल्ला घोषणा हुनु आम मकवानपुरवासीका लागि उत्साहको विषय हो । साक्षरता मानव सभ्यताकै महत्वपूर्ण विषय हो । साक्षर हुनु भनेको नागरिक सचेत हुन सक्ने अवस्थामा पुग्नु पनि हो । साक्षर नागरिकले आफ्नो र आफ्नो समाजको विषयमा जान्न, बुझ्न सक्छ । सचेत नागरिकले आफू र आफ्नो समाजलाई बुझेर आफ्नो सही व्यवहार गर्ने आधार पनि साक्षरता नै हो ।

साक्षर जिल्ला घोषणा सभालाई हेर्दा लाग्थ्यो साँच्चै मकवानपुर जिल्ला साक्षर जिल्ला घोषणाको हकदार छ । घोषणा सभामा विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, नागरिक समाज, अभिभावक सबैको उत्साहजनक सहभागिता रहेको थियो । साक्षर जिल्ला घोषणाले आम नागरिकलाई गर्व गर्ने अवसर दिलाएको छ । अब साक्षर मकवानपुर शिक्षित र सक्षम नागरिकको जिल्ला बन्नुपर्छ । मकवानपुर जिल्ला शिक्षाका लागि औसत जिल्लाको रुपमा रहेको छ । विद्यालय तहको शिक्षामा विद्यार्थीको ड्रपआउट (माथिल्लो तहमा विद्यार्थीको घट्दो संख्या) मुख्य समस्या बनेको छ । आम नागरिकको पहुँच भएको सरकारी विद्यालयमा विविध कारणले ड्रपआउटको समस्या छ । विद्यालय शिक्षा प्रभावकारितामा पनि चुनौति छ । उच्च शिक्षा हासिल गर्ने विद्यार्थी समूहको पनि गम्भीरता र स्रोत, साधनको अभाव छ ।

जिल्ला साक्षर घोषणा भइसकेपछि अब सरोकारवालाले जिल्लालाई शिक्षित बनाउनेतर्फ गम्भीर अध्ययन, अनुसन्धान गरी योजना बनाउनु आवश्यक छ । शिक्षित नागरिक बनाउन अहिलेका संरचना, स्रोत, साधन र जनशक्तिको बढीभन्दा बढी उपयोग गर्नु पर्नेछ भने थप आवश्यक्ताका विषयमा पनि स्पष्ट खाका बनाउनु जरुरी छ । शिक्षित नागरिकले नै मुलुकलाई समृद्ध बनाउन सक्छ । समृद्ध मुलुकको अपेक्षा गर्ने हरेक नागरिकले आफू र आफ्नो समुदायलाई शिक्षित बनाउन योगदान गर्नै पर्छ । शिक्षाको सुधारका लागि समुदायको सक्रियता फलदायी देखिएको छ । यसर्थ हरेक समाजका सदस्यले आफ्नो समाजलाई शिक्षित बनाउनेतर्फ सक्रियता देखाउने हो भने निश्चित समयभित्र मकवानपुरलाई शिक्षित जिल्ला घोषणा गर्न सकिनेछ । वर्तमान शिक्षा व्यवहारिक नभएको भन्ने प्रसस्त टिप्पणी हुने गरेको छ । तर, व्यवहारिक शिक्षाको आधार तयार पार्नेतर्फ सरोकारवालाले ध्यान दिन सकेको छैन । सरोकारवालाले प्रयत्न गर्ने हो भने अहिलेकै शिक्षा प्रणालीभित्र व्यवहारिक शिक्षाको अवसर सिर्जना गर्न सकिने स्थिति छ । यस्तै अव्यवहारिक भनिएका शिक्षालाई पनि व्यवहारिक बनाउन सकिने छ । तर, आलोचना मात्रै गर्ने प्रवृत्ति पनि उचित होइन । यसर्थ अहिले साक्षर जिल्ला घोषणा हुनु एउटा उपलब्धी हो भने यसले शिक्षित मकवानपुर बनाउने आधार समेत तयार पारेको छ । सरोकारवालाले शिक्षित मकवानपुर बनाउने योजना तयार पार्नेतर्फ ध्यान पु¥याओस् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28390945 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top