28 Feb 2020   |   
logo
शिक्षा

संयोजकलाई जानकारी नै नदिई अभिभावक भेला प्रधानाध्यापक भन्नुहुन्छ, ‘गल्ती भो’



शिक्षा   58 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको अभिभावक भेला अवैधानिक भएको भन्दै विद्यालयका शिक्षक अभिभावक संघ (पिटिए) संयोजक सुरेश श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा तथा समन्वय इकाई मकवानपुरमा उजुरी दर्ता गराउनु भएको छ । विद्यालयका प्रधानाध्यापकले अख्तियार दुरुपयोग गर्दै अवैधानिक रुपमा अभिभावक भेला गरेको आरोप पनि पिटिए संयोजक श्रेष्ठले लगाउनुभएको छ ।



यता विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्यायले भने आफ्नो कार्यव्यस्ताका कारण पिटिए अध्यक्षलाई बोलाउन नभ्याएको स्वीकार गर्नुभएको छ । आफ्नो तर्फबाट गल्ती भएको स्वीकार्नुहुँदै प्रधानाध्यापक उपाध्यायले पिटिएको कार्यकाल २०७४ सालमै सकिएकोले पनि नबोलाएको बताउनुभयो । पूर्व विद्यार्थीले पठाएको ११ लाख र जिल्ला शिक्षा कार्यालयले दिएको १ लाख ५० हजारको खर्च विद्यालयको खातामा आएको र विद्यालय क्षेत्रमा नै खर्च भएको उहाँले दावी गर्नुभयो । विद्यालयमा भएका बाल, प्लाष्टर तथा अस्थायी टहराका साथै शिक्षकहरुको तलबमा पनि सोही विद्यालयकै खाताबाट रकम खर्चने गरेको बताउनुभयो ।

पिटिए संयोजक श्रेष्ठलाई जानकारी नै नगराई गत आइतबार अभिभावक भेला भएको भन्ने जानकारी विद्यालय र शिक्षकका फेसबुकमार्फत संयोजक श्रेष्ठले बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संयोजक श्रेष्ठले प्रधानाध्यापक चतुर्भुज उपाध्यायले गैरजिम्मेवारीपूर्ण र अवैधानिक तरिकाबाट अभिभावक भेला आयोजना गरेको बताउनुभयो । उहाँले यसरी गरिएको भेला अवैधानिक भएको भन्दै यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जानकारी गराइने श्रेष्ठले जानकारी दिनुभयो ।

२ वर्षअघि अभिभावक भेलामार्फत आफू श्रमिक माविको शिक्षक अभिभावक संघ (पिटिए) संयोजक समेत चयन भएको भन्दै विज्ञप्तिमा पिटिए संयोजक भएपछि विद्यालयका प्रधानाध्यापकले विद्यालयको शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न नसकेको सन्दर्भमा पटक–पटक झक्झक्याउने, सुधारका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने गरेको तर, पटक–पटकको आग्रहमा पनि विद्यालयका प्रधानाध्यापकले आवश्यक सुधारका कार्य गर्ने अग्रसरता नदेखाएको श्रेष्ठले बताउनुभएको छ । अहिले आएर विद्यालयका प्रधानाध्यापकले आफू नै सदस्यसचिव रहेको पिटिएका संयोजकलाई नै बेवास्ता गर्दै, जानकारी नै नगराई अभिभावक भेला आयोजना गर्ने हदसम्मको दुस्प्रयास र अख्तियार दुरुपयोग गरेको पाइएको सुरेश श्रेष्ठले विज्ञप्तिमा उल्लेख गर्नुभएको  छ ।

पिटिएलाई नै जानकारी नगराई अभिभावक भेला गराइएको भन्ने विषयमा मिति २०७६ साल माघ १३ गते सोमबारका दिन विद्यालयमा बुझ्न जाँदा प्रधानाध्यापक चतुर्भुज उपाध्यायले पिटिए संयोजक (सुरेश श्रेष्ठ) ले गाली मात्रै गर्ने गरेकोले नबोलाएको भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभएपछि आफु आश्चर्यमा परेको उहाँको भनाइ छ । पूर्वविद्यार्थी गेहेन्द्र राजभण्डारीले जापानमा रहनुहुँदा पठाउनुभएको करिब ११ लाख रुपैयाँको आयव्यय विवरण पनि सार्वजनिक नभएको, भूकम्पपछि तत्कालीन जिल्ला शिक्षा कार्यालय मकवानपुरबाट प्राप्त अस्थायी सिकाइ केन्द्र निर्माणको करिब डेढ लाख रुपैयाँ बजेट पनि अस्थायी टहरा नै नबनाई कर्मचारीको तलबमा खर्च गर्ने जस्ता कार्य भएको भन्दै श्रेष्ठले आपत्ति जनाउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28392949 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top