28 Feb 2020   |   
logo
समाज

प्रजातान्त्रिक पार्कको राष्ट्रपति भण्डारीबाट उद्घाटन



समाज   24 पटक पढिएको   रामनाथ कुँवर     
हेटौंडाः मकवानपुरको पर्यटकीयस्थल सहिद स्मारकमा बनेको प्रजातान्त्रिक पार्कको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । पार्क उद्घाटनसँगै उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, लौहपुरुष गणेशमान सिंह, नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकको अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको सालिक र अन्य १२ सहिदहरूको आकृति समेटिएको ढुङ्गाको शालिकमा माल्यार्पण गर्नुभयो ।

प्रजातान्त्रिक पार्कको राष्ट्रपति भण्डारीबाट उद्घाटन


प्रजातान्त्रिक पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले महान् सहिदहरूको स्मरणमा बनाइएको सहिद स्मारक विकास हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको भुटनदेवी मन्दिर, जिल्लाका अन्य पर्यटकीय स्थलहरू र प्रदेशकै पर्यटकीय स्थलहरूको भौतिक पूर्वाधारको विकासमा ध्यान दिन बागमती प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले यस्ता धार्मिक र पर्यटकीय स्थलहरूको विकास गर्दा जनस्वास्थ्य, जीवजन्तु, वनस्पति संरक्षण र वातावरणलाई ध्यानमा राखेर विकास गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई सुभलाव दिनुभयो  । प्रदेशसभाले प्रदेशको नाम बागमती राखेकोमा खुसी लागेको भन्दै राष्ट्रपति भण्डारीले सुखी नेपाली र समृद्ध नेपाल बनाउने लक्ष्य प्रप्त गर्न बागमती प्रदेश सरकार सफल हुने अपेक्षा लिएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारलाई जनस्वास्थ्यलाई ख्याल गर्दै विभिन्न स्वास्थ्य केन्द्रहरू र शिक्षालाई मान्यता दिँदै शैक्षिक गुणस्तर वृद्धि गर्दै शैक्षिक संस्थाहरूको विकास गर्नुको साथै सम्पूर्ण सम्पदाहरूको संरक्षण गर्न निर्देशन दिनुभयो । सहिद स्मारक विकास समितिलाई स्मारकको रुपमा विकास गर्दा लोकतन्त्रको सम्बर्धन र प्रवर्धन गर्दै सामाजिक न्याय र जनभावना अनुरुप विकास गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा हासिल भएको एतिहासिक राजनीतिक परिवर्तन र उपलब्धि सबैका लागि खुसीको कुरा भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले वर्तमान सरकारले तीन तहको सरकारमार्फत जनतालाई सेवा प्रवाह गर्दै परिणामहरू दिने काम गरिरहेको बताउनुभएको छ । सहिद स्मारकमा स्थापना भएका विभिन्न पार्क भौतिक संरचना, बगैँचालगायतको बारेमा जानकारी दिँदै मुख्यमन्त्री पौडेलले पछिल्लो समयमा वार्षिक ५ लाख पर्यटकले भ्रमण गरेको जानकारी दिनुभयो । उहाँले यस भ्रमण २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले अमर सहिदहरूको धेरै सपनाहरू यो पुस्ताले वास्तविकतामा परिणत गर्नुपर्ने धारणा राख्नुभयो ।

बागमती प्रदेशका पर्यटनमन्त्री अरुणप्रसाद नेपालले प्रदेश सरकार भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकार क्रियाशील भएर लागी परेको दावी गर्नुभयो । प्रदेशमा प्रविधिमैत्री पर्यटन विकास गर्ने भन्दै मन्त्री नेपालले पर्यटन क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको साथै उपयुक्त वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहिद स्मारक विकास समितिले सहिद स्मारक निर्माण गर्दा विभिन्न आकृतिहरु निर्माण गर्ने कलाकारहरु कमलेश महर्जन, गोविन्द चौधरी, पृथ्वि श्रेष्ठ, सहिद स्मारक प्रथम उपभोक्ता समिति अध्यक्ष हरीशरण सुवेदी र सहिद स्मारक विकास समितिका व्यवस्थापकीय प्रमुख रामचन्द्र न्यौपानेलाई सम्मान गरेको छ । सहिद स्मारक सम्बन्धी सबै पक्षहरू समेटिएको ‘सहिद स्मारक दर्पण’ नामक स्मारिका पनि राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको छ । सहिद सप्ताह अन्तर्गत भोलि साहित्यिक गजल वाचन कार्यक्रम र सहिद दिवसको दिन माघ १६ गते विहान प्रभातफेरी र विविध कार्यक्रम गरेर मनाउने सहिद दिवस मुल समारोह समितिले जानकारी दिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28390628 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top