28 Feb 2020   |   
logo
सम्पादकीय

सहिद सप्ताह र सहिद स्मारक



सम्पादकीय   140 पटक पढिएको   सम्पादकीय     
मुलुक र जनताको अधिकारका लागि जीवन समर्पण गरेका नेपाली राजनीतिका अगुवा नेतृत्वप्रति सहिद स्मारक विकास समितिले सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सहिद स्मारकमा नेपाली काम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोईराला, २०४६ सालको आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंह र पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको छ । प्रजातान्त्रिक योद्धाहरुलाई समान रुपमा महत्व दिनुले सहिद स्मारक आस्था, विचार, दर्शन र वादबाट माथी छ भन्ने प्रमाणित गरेको छ । पार्कको नेतृत्व र संरचनाका विषयलाई लिएर हुने गरेको केही आशंका प्रजातान्त्रिक पार्कको उद्घाटनले मेटाएको छ । सहिद स्मारक मकवानपुरको मात्र नभई देशकै महत्वपूर्ण सम्पत्तिका रुपमा परिभाषित भएको छ । नेतृत्वमा आउन नपाएको वा नसकेको लघुताभाष बाहेक अब पार्कका विषयमा कुनै टिप्पणी स्वभाविक हुँदैन । पर्यटकीय गन्तव्यका रुपमा विकासित भएको सहिद स्मारकमा अझै ऐतिहासिक महत्वका आकर्षक संरचनाहरु निर्माण हुनु पर्दछ । पार्क निर्माणमा पर्यावरणीय पक्षलाई भने ध्यान पु¥याउनु आवश्यक देखिन्छ । प्राकृतिक सौन्दर्यलाई यथावत राख्दै भौतिक संरचना निर्माण हुनु पर्नेछ ।

सहिद सप्ताह र सहिद स्मारक


सहिद स्मारकमा विभिन्न समयमा भएको प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदहरुका प्रतिमा समेत राखिएका छन् । सहिदको सम्मानका लागि यो पार्क तीर्थस्थल पनि हो । पन्चायत व्यवस्थाको विरोध गर्दै गर्दा तत्कालिन शासकले हत्या गरेका वा गराइएका सपूतका मुखाकृतिको शिला नै पार्कको चिनारी हो । प्रजातान्त्रिक ईतिहासका लागि पवित्र गन्तव्यका रुपमा परिचित यो पार्कले नेपाली राजनीतिको ईतिहास बोकेको छ । त्यसैले सहिद सप्ताहका आवसरमा राजनीतिक नेतृत्व गर्ने धरोहरहरुलाई पनि सोही पार्कमा अटाउने काम भएको छ । यतिबेला नागरिक अधिकारका लागि प्राण आहुती दिने सहिदको सम्झनामा सरकारले सहिद सप्ताह मनाइरहेको छ । तर हेटौंडाको स्मारकमा नागरिक तहबाट सहिद दिवस मनाउने गरिएको छ । २००७ सालदेखि सहिदको सम्मानका लागि मनाइने दिवसले यसपटक पनि निरन्तरता पाएको छ । राणाशासनको विरोध गर्दा हत्या गरिएका चार सहिदको सम्झनामा मनाउन थालिएको दिवस पछिल्लो समय औपचारिकतामा सीमित हुनु दुखद् पक्ष हो ।

नेपाली सपूतकै वलिदानीको जगमा प्राप्त भएको शासन व्यवस्थामा रमाएकाहरुले सहिदलाई सम्झनेसम्म फुर्सद निकाल्न सकेका हुँदैनन् । सहिदकै योगदानबाट सत्तामा पुगेकाहरुले आफ्ना सहयोद्धाहरुको त्यागलाई बिर्सिएको अवस्था छ । त्यसैले सहिदका परिवार तथा आन्दोलनका घाईतेहरुको अवस्था आज पनि दयनीय छ । व्यवस्था परिवर्तनका लागि सहिद भएकाहरुको सपना यतिबेला धुमिल हुँदै गएको छ । शासन सत्तामा व्यक्ति मात्र फेरिए तर पद्दति र प्रवृत्ति पुरानै देखिएको छ । त्यसैले सहिद परिवार वा घाईते योद्धाहरुमा निराशा छाउँदै गएको अवस्थामा सहिद पार्क आन्दोलनको प्रतिका रुपमा देखिएको छ । परिवर्तनका लागि वलिदानी दिनेले भन्दा अवसरबादीहरुले मौका लिएका धेरै उदाहरण छन् । सहिदलाई बिर्सने र परिवर्तनको उपलव्धिमा रमाउने प्रवृत्तिलाई हेटौंडाको सहिद स्मारकले सचेत बनाउन सहयोग गर्ने छ । आफ्ना सहयोद्धाहरु बिर्सिएमा हेटौंडाको स्मारकको स्मरण गर्दा पनि आफ्नो विगतलाई सम्झन प्रेरित गर्ने छ । त्यसैले नेपालको राजनीतिक परिवर्तनको ईतिहासलाई जीवन्त राख्न हेटौंडाको सहिद स्मारक र त्यहाँ निर्मित संरचनाहरुले नेतृत्वलाई सजग बनाउने आश गर्न सकिन्छ । वीर सहिदहरु प्रति श्रद्धासुमन ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28390807 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top