28 Feb 2020   |   
logo
समाज

मकवानपुरमा घरेलु हिंसाका घटना बढ्दै



समाज   55 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिना बित्दा जिल्ला प्रहरी कार्यालयमा १ सय ६३ घरेलु हिंसाका मुद्दाहरु दर्ता भएका छन् । चालू वर्षको श्रावण महिनामा घरेलु हिंसाका ३६, भाद्रमा २५, असोजमा २१ , कात्तिकमा २०, मंसिरमा ३५ र पुस मसान्तसम्म २६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा घरेलु हिंसाका घटना बढ्दै


जिल्लाको शहरी र ग्रामिण क्षेत्रमा चेतनाको अभाव र शिक्षाका कमीका कारण घरेलु हिंसाका घटना बढ्दै गएको जानकारहरु बताउँछन् । मकवानपुर ज्ल्लिामा सबैभन्दा बढी युवा उमेर समूह र विवाहित महिलाहरु पीडामा पर्ने गरेका छन् । आफ्नै श्रीमान्का कारण धेरै महिलाहरु कानुनी उपचार खोज्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर आउने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता ललनप्रसाद कुर्मिले बताउनुभयो । घरेलु हिंसाबाट अधिकांश महिला नै पीडित हुने देखिएको छ । आफ्नै श्रीमान्, परिवारबाट महिलाहरु हिंसामा पर्ने गरेका छन् । चालू वर्षको ६ महिनामा प्रहरीमा १ सय ६३ मुद्दा दर्ता भएकोमा १ सय ७ मुद्दाको प्रहरीले फछ्र्यौट गरेको छ ।

हिंसाका कारण धेरै मुद्दाहरु सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको छ भने धेरै समाजबाट इज्जत जाने डरले महिलाहरु हिंसा सहेर बस्ने गरेको बाल हेल्पलाइनकी अधिकृत सम्झना अधिकारीले बताउनुभयो । बालबालिकामा यौनदूव्र्यवहारका घटना पनि गम्भीर प्रकृतिको बन्दै गएको उल्लेख गर्नुहुँदै विवाहपछि महिलाहरु आर्थिक रुपमा बलियो नहुँदा हिंसामा पर्ने गरेको बताउनुभयो । महिलाहरु सामाजिक, राजनीतिक रुपमा अग्रसर नभएका कारण आफ्नो घरपरिवार प्रति पूर्णरुपमा भर पर्नुपर्ने हुँदा हिंसामा परेका छन् । अहिले पुरुषले महिलालाई यातना दिने, कुट्ने जस्ता त सामान्य भएको अधिकारीले जानकारी दिनुभयो । हिंसाबाट पीडितहरुलाई स्वास्थ्य उपचार र परामर्शका लागि हेटौंडा अस्पतालको ओसिएमसि सेवामा पठाइने गरिएको छ भने पीडितलाई सेफ हाउस र बालबालिकाहरुलाई बाल हेल्पलाइनमा राखिने गरेको उहाँले बताउनुभयो । महिलाहरुको हिंसाक्षेत्रमा पीडितको तर्फबाट कानुनी उपचार गर्नका लागि निशुल्क जिल्ला कानुनी सहायता प्रदान गर्दै आएको छ । त्यस्तै महिला हिंसाको क्षेत्रमा माइती नेपाल जस्ता विभिन्न संघसंस्थाहरु पनि मकवानपुर जिल्लामा क्रियाशिल रहेको छ ।

आइतबार मात्रै हेटौंडा–१८ की मिना अधिकारीको घटनाले पनि घरेलु हिंसाको गम्भीर अवस्थालाई पुष्टि गर्छ । घरेलु हिंसामा परेर प्रहरीले श्रीमानलाई निगरानीमै राखे पनि मिनाको ज्यान जोगिएन । श्रीमान्ले मादक पदार्थ खाएर आउने र झैझगडा सँगै कुटपिट हुने गरेको थियो । घरेलु हिंसाबाट मुक्त हुन महिलाहरुलाई सजिलो नभएको प्रहरीले जनाएको छ । प्रहरीमा आएका उजुरीहरुमा महिला सेलले अधिकांश मुद्दा मेलमिलापकै माध्यमबाट फछ्यौट गर्ने गरेको छ भने मेलमिलाप नभएका अदालतमा जाने गरेको बताएको छ । मकवानपुर जिल्लाको पछिल्लो ५ वर्षको तथ्यांकलाई हेर्दा पनि घरेलु हिंसा बढ्दै गएको पाइन्छ । आव २०७०/७१ मा घरेलु हिंसाका ६७ घटना दर्ता भएका थिए । त्यस्तै आव २०७१/७२ मा १ सय ४३, आव २०७२/७३ मा २ सय ३८, आव २०७३/७४ मा ३ सय ३४ र आव २०७४/७५ मा ४ सय १७ घटना दर्ता भएका छन् । मकवानपुर जिल्लामा वार्षिक रुपमै एक सय घरेलु हिंंसको मुद्दाहरु बढ्दै गएको पाइन्छ । ५ वर्षमा १ हजार १ सय ९९ घरेलु हिंसाका मुद्दा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको छ भने सो अवधिमा ७ सय ३३ मुद्दाहरु फछ्र्यौट भएका छन् ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28389166 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top