28 Feb 2020   |   
logo
शिक्षा

जनप्रियमा सामाजिक शैक्षिक प्रदर्शनी



शिक्षा   119 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा—१६, हटिया चिसापानीस्थित जनप्रिय माध्यमिक विद्यालयमा भएको साविक श्रोतकेन्द्रस्तरीय सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा मावि र निमावि दुबै तहको प्रतियोगितामा हेटौंडा—१८ मा रहेको ज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा हेटौंडा—१६, १७ र १८ को गरी मावितर्फ ६ वटा विद्यालय सहभागी थिए भने निमावितर्फ १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

जनप्रियमा सामाजिक शैक्षिक प्रदर्शनी


कार्यक्रममा मावि तर्फको प्रदर्शनीमा गोरक्षा मावि हेटौंडा—१८ र निमावि तर्फको प्रदर्शनीमा राजदेवी मावि हेटौंडा—१७ दोस्रो हुन सफल भएका छन् । सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा तेस्रो स्थान भने मावितर्फ र निमावितर्फ दुबैमा जनप्रिय मावि हेटौंडा—१६ ले जित्न सफल भएको छ । प्रतियोगितात्मक प्रदर्शनीमा विद्यार्थीले सामाजिक विषयसँग सम्बन्धित शैक्षिक सामग्रीहरुमा विगतको समाज, वर्तमान समाज, धार्मिक सम्पदाहरु, विश्वकै सामाजिक अवस्था झल्काउने सामग्रीहरुको प्रदर्शनी गरेका थिए । विद्यार्थीहरुले प्रदर्शनीमा राखेको सामग्रीहरु कागज, काठ, ढुंगा, माटो, पराल, चोया लगायत स्थानीय सामग्रीहरुको प्रयोगमा तयार पारिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यालयका विद्यार्थीले मावि र निमाविको छुट्टा—छुट्टै स्टल राखेर शैक्षिक सामग्रीको प्रदर्शनी गरेका थिए । प्रतियोगीतामा आधुनिक राष्ट्रिय माविका सामाजिक विषय शिक्षक रामसागर गुरागाई र सिद्धार्थ माविका सामाजिक विषय शिक्षक बालकुमार श्रेष्ठ निर्णायक मण्डल रहनुभएको थियो ।

जनप्रिय माविले आन्तरिक रुपमा कक्षा ९ र १० स्तरीय अर्थशास्त्र विषयको शैक्षिक सामग्रीको प्रतियोगितात्मक प्रदर्शनी र कक्षा ७ र ८ को पेशा व्यवसाय तथा प्रविधि विषयको पनि प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनी गरेको छ । प्रतियोगितामा कक्षा ९ र १० स्तरीय अर्थशास्त्र विषयको शैक्षिक सामग्री प्रदर्शनतर्फ कक्षा १० का रोशन बलामी र कक्षा ९ का सुनिता नगरकोटीले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा ७ र ८ को पेशा व्यवसाय तथा प्रविधि विषयको शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा कक्षा ८ का राजकुमार चेपाङ र कक्षा ७ का अंकित थिङले प्रथम पुरस्कार हात पारेका छन् ।

जनप्रिय स्रोतकेन्द्र संयोजक चेतनाथ खतिवडाको सभाध्यक्षतामा भएको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाई लगायत स्थानीय अभिभावकहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28393510 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top