28 Feb 2020   |   
logo
समाज

९९९८ सवारी साधनलाई कारवाही



समाज   29 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालू आर्थिक वर्षको ६ महिनामा ९ हजार ९ सय ९८ सवारी साधनलाई कारबाही गरेको छ । सवारी साधनलाई कारवाही गरेवापत ७० लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार चालु वर्षको ६ महिनाभित्र सवारी दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ भने ५१ जना गम्भीर घाइते भएका छन् । ६१ सवारी दुर्घटना भएको बिहिबार पत्रकार सम्मेलन गरी जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख हरिविष्णु ढकालले जानकारी दिनुभयो ।

९९९८ सवारी साधनलाई कारवाही


पत्रकार सम्मेलन मार्फत ट्राफिक प्रहरी कार्यालयले ६ महिनामा गरेका कामका प्रगति विवरणहरु प्रस्तुत गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आकार परिवर्तन गरिएका १८ वटा मोटरसाइकललाई कारबाही गरेको छ । सवारी चालक अनुमतिपत्र नभएका ५४ जना विद्यार्थीका मोटरसाइकललाई कारबाही गरिनुका साथै २ सय ७० अटो–मयुरीलाई पनि कारबाहि गरेको छ । ट्राफिक प्रहरी मकवानपुरले ६७ ट्रक, ४३ टिपर, १२ बस, १८ जिप र १२ अन्य सवारी साधनसहित १ सय ५२ वटा सवारी साधनबाट अन्य सवारी साधनमा अवरोध हुने तरिकाले राखिएको लाईटहरु निकालेको छ । ट्रक, गाडि, जिपमा अवरोध हुने गरी राखिएका ९४ वटा सवारीबाट ध्वजा निकाल्न लगाइएको प्रहरीले जानकारी दिएको छ ।

हेटौंडा बजारमा नो पार्किङ लेखिएको बोर्डमा पार्किङको बोर्ड राख्ने कार्य भएको जनाइएको छ । ट्राफिक प्रहरीले राप्तिरोडमा रहेको २०, बैंकरोडमा १० र बुद्धचोकदेखि मकवानपुर उद्योग वाणिज्य संघसम्म १० वटा पार्किङ संकेतको बोर्ड राखेको छ । त्यस्तै सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारी बाहेक वान–वे स्थापना गरेको प्रमुख हरिविष्णु ढकालले जानकारी दिनुभयो । बुद्धचोकबाट सार्वजनिक शौचालय जाने बाटोमात्र, नवलपुर टेम्पो पार्कबाट बसपार्क आउने बाटो, टिसिएन रोड र बसपार्कबाट सिमाचोक आउने बाटो र स्कूलरोडमा २ पाङ्ग्रे बाहेक वान वे संचालन गरेको जानकारी गराइएको छ । त्यस्तै ट्राफिक प्रहरीले चाडपर्व वा सुमोको कृत्रिम अभाव गराई बढी भाडा असुल्ने ९ भाडाका सवारीहरुबाट ५७ जना यात्रीलाई १३ हजार २ सय फिर्ता समेत गराएको छ । चालु ६ महिनामा ६२ जना मापसेमा परी कारबाही परेका छन् भने मापसेबाट ६२ हजार राजस्व संकलन गरिएको छ । यस्तै क्षमता भन्दा बढी माल बोक्ने २१ सवारीबाट २ लाख ५३ हजार ६ सय ७२ जरिवान रकम संकलन भएको बताएको छ ।

यता ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अस्थायी चेकपोष्ट हेटौंडा बसपार्क र फापरबारीमा संचालन गरेको छ । सवारी साधनमा नबुझिएका नम्बर प्लेटमा पेन्टर बोलाएर सवारी चेकिङ स्थानमै ३४ वटा सवारीमा नम्बर लेख्न लगाएको ट्राफिक प्रहरी प्रमुख ढकालले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले विभिन्न मन्त्रालय वा कार्यालयहरुमा ट्राफिक संकेत बोर्ड राख्नका लागि समेत पत्राचार पनि गर्दै आएको छ । यसैगरी ट्राफिकले विद्यालय, समुदायमा ट्राफिक नियम, कानुनका बारेमा आम नागरिकहरुलाई सचेत पनि गर्दै आइरहेको छ । ६ महिनामा १ हजार ८८ जना विद्यार्थीहरुलाई ट्राफिक सचेतनाका कार्यक्रममा सहभागी गराइएको छ । १ हजार ६ सय ९५ सवारी चालकलाई पनि सचेत गराइएको छ । ट्राफिक प्रहरीले विभिन्न समयमा गरेको सवारी चालहरुको स्वास्थय परिक्षणमा ४ सय ३५ जना चालकहरुको परीक्षण भएको छ । अर्का महत्वपूर्ण चालकसँग १ मिनेट कार्यक्रम अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १३ हजार ७ सय ६८ चालकलाई ट्राफिक नियमबारे जानकारी प्रदान गरिएको ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार न्यून जनशक्ति भएपनि जिल्लामा ट्राफिक व्यवस्थापन स्रोत र साधनले पुगेसम्म चुस्त–दुरुस्त बनाएको भन्दै प्रदेशको राजधानी भएपछि सबैले सवारी साधन व्यवस्थापनमा ध्यान दिनुपर्छ । साँघुरो सडक र सवारी साधन सडकको क्षमता भन्दा धेरै माथि पुगेकाले कहिलेकाही ट्राफिक व्यवस्थापनमा कमी भएतापनि यसलाई अझ व्यवस्थित बनाउने प्रमुख ढकालले बताउनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28391147 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top