28 Feb 2020   |   
logo
शिक्षा

शूल्कवृद्धिको प्रस्ताव २५ प्रतिशत घटाउन सकिन्छ



शिक्षा   68 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिले शिक्षण शूल्कमा ६५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेकोमा त्यसमा २५ प्रतिशत घटाएर ४० प्रतिशतसम्म बढाउन सकिने जनाएको छ । क्याम्पस सञ्चालक समितिले गत पुस २१ गते शूल्कवृद्धिको निर्णयसँगै विद्यार्थी संगठनले विरोध जनाएपछि क्याम्पस सञ्चालक समितिले गठन गरेको वार्ता समितिले वृद्धि गर्ने भनिएको ६५ प्रतिशतलाई ४० प्रतिशतमा सीमित गर्न सकिने उल्लेख गरेको हो ।

शूल्कवृद्धिको प्रस्ताव २५ प्रतिशत घटाउन सकिन्छ


७ वर्षदेखि शूल्कवृद्धि नगर्दा क्याम्पस नियमित सञ्चालन नै गर्न कठिन हुने स्थिति भएसँगै क्याम्पस सञ्चालक समितिले शूल्कवृद्धि गर्ने निर्णय गर्न बाध्य भएको वार्ता टोलीका संयोजक क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिनुभयो । बिहिबार पत्रकार सम्मेलन गरेर कोषाध्यक्ष श्रेष्ठले विद्यार्थीसँग पटक–पटक वार्ता बस्दा पनि सहमति नभएपछि आज शुक्रबार सञ्चालक समितिको बैठक बसेर विद्यार्थीसँग सहमतिका लागि के गर्ने भनेर निश्कर्ष निकालिने उहाँले बताउनुभयो ।

क्याम्पस करिब ४ करोड रुपैयाँ घाटामा रहने स्थिति देखिएपछि क्याम्पस सञ्चालक समितिका सदस्य डा। कृष्ण धितालको संयोजकत्वमा क्याम्पसको आर्थिक अवस्थाका बारेमा अध्ययन गर्न कार्यदल समेत गठन गरेको थियो । कार्यदलका संयोजक डा। धितालले लामो समयदेखि उचित व्यवस्थापन हुन नसकेका कारण क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले शूल्कवृद्धिको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँले शूल्कवृद्धिको विषयमा विद्यार्थीसँग छलफल भएको जीकिर गर्नुहुँदै शूल्कवृद्धि गर्ने क्रममा देशका विभिन्न स्थानका १० वटा सामुदायिक क्याम्पसको शूल्कका बारेमा पनि अध्ययन गरिएको जानकारी दिनुभयो । मकवानपुर क्याम्पसको सञ्चालक समितिले अहिलेको शिक्षण शूल्कमा ६५ प्रतिशत वृद्धि गरिए पनि आफूहले अध्ययन गरेका अन्य १० सामुदायिक क्याम्पसको शिक्षण शूल्क भन्दा बढी नहुने दावी डा। धितालले गर्नुभयो ।

मासिक शूल्क वृद्धि गर्ने निर्णयमा केही सुधार गर्ने, प्रवेश शूल्कमा पनि केही लचकता अपनाउन तयार हुँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन गरेको प्रस्तावमा विद्यार्थी सहमत नभएका कारण आज शुक्रबार सञ्चालक समितिबाटै कसरी सहमतिको प्रयास गर्ने भन्ने निश्कर्ष निकालिने उहाँले बताउनुभयो । क्याम्पस प्रमुख डा। शंकरप्रसाद उपाध्यायले भने लामो समयदेखिको भुक्तानीसहित क्याम्पसमाथि ठूलो दायित्व रहेकोले शूल्कवृद्धि नगरे नियमित सञ्चालन नै हुन नसक्ने स्थिति रहेको औँल्याउनुभयो । क्याम्पस सञ्चालक समितिले शूल्क वृद्धिको निर्णय गरेसँगै नेपाल विद्यार्थी संघले क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुखको कार्यकक्षको तल्लामा तालाबन्दी गरिदिएको छ भने क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमै रोक लगाएको छ । यता स्वतन्त्र विद्यार्थी यूनियनले रिले अनसन जारी राखेको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28393586 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top