28 Feb 2020   |   
logo
सम्पादकीय

लोछारको शुभकामना



सम्पादकीय   356 पटक पढिएको   सम्पादकीय     
नेपालको परिचयसँग जोडिएको विविधतायुक्त धार्मिक मूल्य मान्यता पनि हो । फरक जातजातिहरुले आफ्नो परम्परालाई संरक्षण गर्दै मनाईने पर्वका अनेकरुप छन् । नेपाललाई चिनाउने सम्पदा भित्रको धार्मिक मान्यता अनौठो प्रकारको छ । यसैक्रममा तामाङ जातिहरुले नयाँ वर्ष परिवर्तनका रुपमा मनाउने चाड लोछार हो । तामाङ समुदायले भोलि शनिबार २८५६ औँ नयाँ वर्ष अर्थात ‘सोनाम लोछार’ पर्व मनाउँदै छन् । ‘लो’ को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । विशेषगरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर लो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । खेतीको काम सकिएको मौसम माघ महिनामा यो चाड पर्ने र मनाइने परम्परा छ । हरेक वर्ष माघशुक्ल पक्षको प्रतिपदाको दिनबाट सुरू हुने सोनाम लोछार मनाउन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ । आफ्ना साँस्कृतिक चाडपर्व मनाउँदा पारिवारिकदेखि ईष्टमित्र बीचको पुनर्मिलन समेत हुने गर्दछ ।

लोछारको शुभकामना


व्यापकताको हिसाबले सोनम लोछार तामाङ समुदायले व्यापक रूपमा मनाउने गरेको पाइन्छ । गुरुङ, शेर्पा लगायतका जातिले पनि लोछार मनाउँदछन् । तर समय भने फरक फरक हुने गरेको छ । पर्व उही र प्रकृति एउटै भए पनि फरक–फरक मनाउनु नै नेपाली संस्कृतिको मौलिकता हो । सोनाम लोछार पर्व नेपालमा तामाङ जातिले मनाउने गरे पनि यसको विश्वव्यापी प्रभाव छ । सोनाम लोछार (नयाँ वर्ष) तामाङ, योल्मो, मुगु, भारतका लद्दाक, तिब्बतको केही प्रान्त, चीन, हङकङ, ताइवान, मलेसिया आदि मंगोल मूलको समाजमा धुमधामसाथ मनाईन्छ । पुरानो पर्व मध्येको लोछारलाई समुदायले मनाउँदा समय र परिस्थिति अनुसार परिमार्जन गर्नु आजको आवश्यकता हो । जुन मुल्य मान्यताबाट सुरु भएको हो त्यसको मर्मलाई जीवित राख्दै विसंगतिहरुको अन्त्य गर्ने तर्फ पछिल्लो पुस्ताले निर्णय गर्नु सक्नु पर्दछ । सबै धर्म, जातजातिले मनाउने संस्कृति र चाडपर्वका उद्देश्य राम्रो भए पनि विकास हुँदै आउँदा केही विकृति पनि भित्रिएका छन् । त्यसैले असल कुरालाई परम्परा बनाउने र अन्धविश्वासी मान्यताहरु छोड्दै जान सक्नु चुनौति हो ।

सयौं वर्षदेखि तामाङ समुदाय मानीआएको सोनाम लोछारले राष्ट्रिय पर्वको मान्यता पाएको छ । त्यसैले बागमती प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । लोछार मनाउन एक महिनादेखि नै तामाङ समुदायले तयारी गर्ने गर्दछन् । चाडपर्व मनाउनु साँस्कृतिक मौलिकता हो तर यस्ता पर्वहरुमा गरिने रमाईलोमा आर्थिक पक्षलाई पनि ध्यान दिनु अवश्यक छ । पारिवारिक भेटघाट, नयाँ लगाउने तथा मिठो खानेसम्मको परम्पराले आर्थिक क्षमतालाई चुनौती दिने गरेको पाईन्छ । तर कुनै पनि पर्व मनाउँदा आफ्नो क्षमतालाई बिर्सनु हुँदैन । पर्वमा संयुक्त रुपमा सार्वजनिक कार्यक्रमको समेत आयोजना हुने गरेका छन् । सार्वजनिक कार्यक्रमदेखि गाउँघरमा ईज्जतको नाममा हुने फजुल खर्च नियन्त्रण हुनै पर्दछ । पर्वमा गरिने तामझाम आर्थिक रुपमा सक्षमहरुका लागि सामान्य विषय भए पनि कमजोर आर्थिक हैसियत भएकाहरुले आफ्नो आर्थिक अवस्थाको मूल्यांकन गरेर मात्र खर्च गर्ने परम्पराको विकास गर्न जरुरी छ । पर्व मनाउँदा मौलिकताको संरक्षण हुने र सभ्यताको परिचय दिन सक्नु पर्छ । पर्वका अवसरमा सबैमा शुभकामना ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28391791 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top