28 Feb 2020   |   
logo
विचार

स्मार्ट सिटी बनाउन सकिन्छ



विचार   138 पटक पढिएको   विवेक आनन्द न्यौपाने     
हेटौंडा उपमहानगरपालिकाले आफ्नै अप्टिकल फाइवर विस्तार गर्न लागेको जानकारीले अत्यन्त खुसी छु । म आफू पनि सूचना प्रविधिको क्षेत्रमा क्रियाशील रहेको हुनाले हेटौंडा उपमहानगरपालिकालाई केही सुझाव दिन चाहान्छु । हेटौंडा उपमहानगरपालिकाको भौगोलिक क्षेत्राधिकार फराकिलो भइसकेको छ । उपमहानगरपालिका हिजोको जस्तो स्थानीय निकाय नभएर समग्रमा नागरिकको सेवा प्रदान गर्ने स्थानीय सरकार बनेको छ । हेटौंडा उपमहानगरपालिकाले अब उपमहानगरपालाकाको कार्यालय परिसरबाट दिने सेवा मात्रै नभएर सिंगो नगरवासीलाई दिने सेवा, सुविधाका बारेमा ध्यान दिनुपर्ने अवस्था छ । आधुनिक सूचना प्रविधिको प्रयोग र उपयोगिता बारे जान्नु, बुझ्नु जरुरी छ । अहिले उपमहानगरपालिकाले अप्टिकल फाइवर विस्तार गर्ने प्रक्रियाका लागि टेण्डर आव्हान गरेको छ ।

स्मार्ट सिटी बनाउन सकिन्छ


उपमहानगरपालिकाले टेण्डर प्रक्रिया अगाडि बढाइसकेकोले मैले अहिले उल्लेख गर्न लागेका केही विषयवस्तु समेट्न गाह्रो हुन सक्छ । अझ उपमहानगरपालिकाले सूचना प्रविधिको क्षेत्रमा कुनै काम सुरु गर्नुअघि सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विज्ञ, व्यवसायीसँग अन्तरक्रिया समेत गरेको भए राम्रो हुने थियो । हेटौंडा उपमहानगरपालिकाले करिब ६० लाख रुपैयाँ लागत अनुमानसहित उपमहानगरका १९ वटै वडा कार्यालयमा अप्टिकल फाइवर विस्तार गर्ने कार्यका लागि टेण्डर आव्हान गरेको छ । उपमहानगरपालिकाले आव्हान गरेको बजेटका आधारमा अप्टिकल फाइवर विस्तार कार्य अहिलेको जस्तै विजुलीका पोलैपोल विस्तार गरिनेछ । विजुलीको पोलको स्वामित्वका विषयमा पटकपटक नेपाल विद्युत प्राधिकरण र स्थानीय तहबीच विवाद हुने गरेको छ । अझ हेटौंडा जस्ता सुन्दर भनिएका सहरका लागि विजुलीका पोल र तिनमा झुण्डिने विजुली, टेलिफोन, केवल, ईन्टरनेटका तारले सहरको 

सुन्दरतामा ठूलो नकारात्मक प्रभाव पारिरहेकै छ । केही समयअघि मात्रै हेटौंडा उपमहानगरपालिकाले ट्युसन ईन्स्टिच्युटका प्रचारात्मक सामग्रीका फ्लेक्स हटाउन सूचना जारी गरेको थियो । अरुलाई फोहर नगर भन्ने अनि आफू भने फोहर तार टाँग्ने प्रयास गर्नु कत्तिको उचित होला ।

केही समयअघि काठमाडौं महानगरपालिकाले काठमाडौंको ठमेल क्षेत्रको विजुलीका पोलहरुबाट सबैखाले तारहरु एक्कासी हटाइदियो । काठमाडौं महानगरको अभ्यासलाई समेत हेर्ने हो भने पनि हेटौंडा उपमहानगरपालिकाले अब पोलपोल तार विस्तार गरेर अप्टिकल सञ्जाल निर्माण गर्नु उचित हुन्न । बरु सूचना प्रविधिको प्रयोगमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्नेतर्फ ध्यान दिनु उपयुक्त देख्छु ।

सबैभन्दा पहिले हेटौंडा उपमहानगरपालिकाले अप्टिकल फाइवरको विस्तार भूमिगत गर्नु अनिवार्य छ । फाइवर सञ्जाल विस्तार भनेकै भूमिगत गर्नुपर्ने हो । यसले फाइवर सञ्जालको सुरक्षा र गुणस्तर समेत बढाउँदछ । भूमिगत विस्तारले सहरको सुन्दरतालाई पनि बढाउँछ । अर्कोतर्फ हेटौंडा उपमहानगरपालिकाले अब वडा कार्यालयलाई मात्रै सञ्जालीकृत गर्ने कुरा पर्याप्त हुन्न । उपमहानगरपालिकाले नगरक्षेत्रका विद्यालय, स्वास्थ्य संस्था, पशुसेवा कार्यालय, कृषि कार्यालय, सामुदायिक इकाईहरु, सामाजिक संघ, संस्थालाई समेत आफ्नो फाइवर सञ्जालमा समावेश गर्नु जरुरी छ । नगरक्षेत्रभित्र उपमहानगरपालिका मातहतकै विभिन्न निकायले सूचना प्रविधिको रुपमा ईन्टरनेट सेवा उपभोग गरिनै रहेका छन् । त्यसवापत उनीहरुले तिर्ने शूल्कलाई समायोजन गर्ने या त्यस्ता संस्थालाई निशूल्क ईन्टरनेट सेवा उपलब्ध गराएर खर्चलाई एकीकृत गर्ने अवसर रहन्छ । त्यसतर्फ हेटौंडा उपमहानगरपालिकाको ध्यान जानु जरुरी छ । फाइवर सञ्जाललाई ईन्टरनेटको सञ्जालको रुपमा मात्रै बुझ्नु पर्याप्त हुन्न । हेटौंडा उपमहानगरपालिकाले आन्तरिक सञ्चारको माध्यमको रुपमा पनि फाइवर सञ्जाललाई प्रयोग गर्न सक्छ ।

हेटौंडा उपमहानगरपालिकाका लागि अहिले त्यत्ति ठूलो आकारको फाइवर जरुरी समेत छैन । अहिले पनि हेटौंडा उपमहानगरपालिकाले मकवानपुर सामुदायिक भिजन प्रालिसँगको सहकार्यमा फाइवर सञ्जाल प्रयोग गरिरहेकै छ । उपमहानगरपालिकाले आफ्नै फाइवर सञ्जाल निर्माण गर्न मात्रै खोजेको देखिन्छ । अब उपमहानगरपालिकाले आफ्नो मात्रै नभएर हेटौंडा उपमहानगरक्षेत्रमा सेवा प्रदान गर्ने निजीक्षेत्रका ईन्टरनेट सेवा प्रदायकहरुलाई समेत आव्हान गरेर फाइवर सञ्जाललाई एकीकृत गर्ने प्रयास समेत गर्न सक्नुपर्छ । जसले विजुलीका पोलको भार घटाउने र सहरको सुन्दरता बढाउने, फाइवर सञ्जालको सुरक्षित सेवाका लागि सबैको सहभागिता सुनिश्चित गर्ने अवसर रहन्छ ।

हेटौंडा उपमहानगरपालिकाले आफ्नो सेवा प्रदान गर्ने क्रममा गुणस्तरीय र प्रभावकारी सूचना प्रविधिको प्रयोग गर्ने मात्रै नभई आम उपमहानगरवासीलाई समेत गुणस्तरीय र प्रभावकारी सूचना प्रविधिको प्रयोगको सुनिश्चितता गराउन सक्दा मात्रै हेटौंडा सहर स्मार्ट हुन सक्छ । यसका लागि पनि एकीकृत फाइवर सञ्जालको सञ्चालन गरेर गुणस्तरीय सेवाको मापन र सुनिश्चित गराउन उपमहानगरपालिकाले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छ ।


(लेखक ईन्टरनेट सेवा प्रदायक वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिको हेटौंडा शाखा प्रमुख हुनुहुन्छ ।)









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28389729 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top