29 Jan 2020   |   
logo
प्रदेश समाचार

प्रदेश प्रमुखलाई अख्तियारको वार्षिक प्रतिवेदन



प्रदेश समाचार   294 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २७ आइतवार  
हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित बागमती प्रदेशस्तरीय कार्यालयले बागमती प्रदेश प्रमुख समक्ष आयोगको २९ औं वार्षिक प्रतिवेदन सोमबार पेश गरेको छ । कार्यालय प्रमुख शिवकुमार कार्कीले नेपालको संविधान २०७२ को धारा २९४ को उपधारा ३ बमोजिम बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंसमक्ष आर्थिक वर्ष २०७५/७६ को प्रदेशगत वार्षिक प्रतिवेदन पेश गरेको हो । कार्यालय प्रमुख कार्कीले पेश गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा आयोग र मातहतका कार्यालयमा गरी २४ हजार ८५ उजुरीहरू प्राप्त भएको उल्लेख गरिएको छ ।



आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरी आएका ७ हजार ८८ उजुरीहरू रहेको उल्लेख गरिएको छ । सो उजुरीहरुमध्ये बाट १५ हजार ५ सय २७ उजुरीहरू फछ्र्यौट भएकोमा ६ हजार ४७ उजुरी प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको छ भने ५९० उजुरी सुझावसहित तामेलीमा पठाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी, ८ सय ८१ ओटा उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ भने ५ हजार १ सय ३४ उजुरीमाथि आवश्यक कारबाही भइरहेको जनाइएको छ । गत आर्थिक वर्षमा फछ्र्यौट हुन नसकेका उजुरीहरू चालु आर्थिक वर्षमा सारिएको समेत बताइएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा संघीय मामिलासँग २६.८७, शिक्षा क्षेत्रसँग १६.९५, भूमिसँग ०.३४, वन तथा वातावरणसँग ४.६०, स्वास्थ्य तथा जनसंख्यासँग ३.९८, गृह प्रशासनसँग ३.५४, भौतिक पूर्वाधार तथा यातायाततर्फ ३.४२, उर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६२, अर्थतर्फ २.३३, नक्कली शैक्षिक प्रमाणपत्रसँग ८.५३, गैरकानुनी सम्पत्ति आर्जनसँग ७.६१ तथा अन्य निकाय तथा क्षेत्रसँग ११.५२ प्रतिशत उजुरीहरू परेका छन् । बागमती प्रदेशको १३ वटै जिल्लामा गत वर्षको उजुरी १ हजार ९९ र चालु आर्थिक वर्षको ३ हजार ९ सय ९७ गरी ५ हजार ९६ वटा उजुरी दर्ता भएको छ । जसमा मकवानपुरको मात्रै २५६ उजुरी दर्ता भएका छन् भने १८७ फछ्र्यौट भएका छन् ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077325 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top