29 Jan 2020   |   
logo
सम्पादकीय

हेटौडालाई अवसर



सम्पादकीय   434 पटक पढिएको   सम्पादकीय     
दुई वर्षपछि प्रदेश ३ ले स्थायी केन्द्र र नाम पाएको छ । लामो रस्साकस्सीपछि स्थायी राजधानी हेटौंडा कायम भएको हो । स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा ठूलै राजनीतिक दाउपेच नभएको हैन । केही नचलेपछि नेकपा केन्द्रिय सचिवालयबाटै निर्णय भई प्रदेश सांसदहरुलाई निर्देशन दिनु परेको थियो । संवैधानिक दृष्टिकोणबाट पार्टीको सो निर्देशन उपयुक्त नभए पनि पार्टी पद्दतीमा स्वभाविक रुपमा लिनु पर्दछ । सत्तापक्षकै सांसदहरुले केही दिन हलो अड्काउने काम नगरेका हैनन् । तर केन्द्रीय निर्देशनपछि उनीहरु खत्र्याक खुत्रुक्क गलेको अवस्थामा हेटौंडा राजधानी घोषणा हुन पुगेको छ । भौतिक पूर्वाधार तथा सामरिक महत्वका दृष्टिले पनि राजधानी हेटौंडाको विकल्प थिएन । सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले पनि विशेष कारण सदरमुकामहरु भारतीय सिमा नजिक राख्नु परेको र प्रदेश ३ को केन्द्र पनि सोही मान्यतामा आधारित भएको बताउनुभएको छ । उद्देश्य जे भए पनि स्थायी राधजानी घोषणा हुनु हेटौंडाका लागि अवसरसँगै चुनौती हो ।

हेटौडालाई अवसर


हेटौंडाको परिचय फेरिएको छ । हिजोका दिनमा अनेक उपमाबाट परिचित हेटौंडा आज बागमति प्रदेशको राजधानीमा रुपान्तरण भएको छ । हेटौंडा प्रदेश केन्द्रका लागि उपयुक्त छैनन् भन्नेहरुको तर्क गलत थिएनन् र छैनन् पनि । भौगोलिक रुपमा हेटौंडा प्रदेशको एक छेउमा पर्दछ । तर अब सडक सञ्जाल र हवाई यातायातका माध्यमबाट सबैको सहजै पहुँचमा पुर्याउनु पर्ने चुनौती छ । यी चुनौती सहजै सामनाका लागि हेटौंडा राजधानी हुनु पर्दछ भन्नेहरुका लागि अवसर पनि हो । लागुपदार्थ ओसारपसार र प्रयोग गर्नेहरुको उर्वर भूमिका रुपमा देखिएको यस क्षेत्रलाई अब यहाँका नागरिकहरुले नै परिर्वतनको जिम्मा लिनु पर्दछ । यस्तै प्राकृतिक रुपमा जती सुन्दर छ यहाँको अव्यवस्थापनले कुरुप बन्दै गरेको हेटौंडालाई आधुनिक शहरका रुपमा विकास गर्न सक्नु पर्दछ । चुनावका समयमा दिएका आईटी सहर, वाईफाई फ्री जस्ता अनेक नारा अब पुरा गर्नुपर्ने समय आएको छ । जसले हेटौंडाका पक्षमा वकालत गरे उनीहरुलाई पश्चाताप गर्नुपर्ने अवस्था आउन नदिने गरी काम गर्न सक्नु पर्ने छ ।

हेटौंडा राजधानी घोषणा सहज प्रक्रियाबाट भएको हैन । दवावै दवाव बीच देख्नका लागि सहमति भएको छ । यो अवस्थामा हेटौंडाको वकालत गर्नेहरुलाई विशेषगरी सडक व्यवस्थापन चुनौती हुन सक्छ । राजधानी चाहिने तर आफ्नो एक ईन्च पनि जमिन दिएर सडक फराकिलो पार्न तयार छैनौं । यो मानसिकताले राजधानी भए पनि हेटौंडाको उन्नति आशमात्र गर्न सकिन्छ । त्यसैले हेटौंडावासीले दिल र दिमाग फराकिलो बनाउन आवश्यक छ । यसैगरी प्रदेश राजधानीका कारण अब हेटौंडामा ठूला भौतिक संरचनाहरु निर्माण हुनु पर्दछ । मन्त्रालयदेखि संसद भवन निर्माण हुने छन् । सडक विस्तारपछि व्यावसायिक ठूला भवनहरु बन्ने छन् । यी र यस्ता अवसर हेटौंडामा राजधानीले ल्याईदिने छ । त्यसका लागि आम नागरिक तहबाट निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्वका लागि सबै तयार हुनै पर्दछ । यही चुनौती र अवसर लिएर आएको राजधानीलाई हेटौंडाले खुल्ला दिलले स्वागत गर्न सक्नु पर्दछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077758 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top