29 Jan 2020   |   
logo
सम्पादकीय

सकसको सहज अवतरण



सम्पादकीय   408 पटक पढिएको   विशेष सम्पादकीय     
आइतबार ३ नम्बर प्रदेश सभाले प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । संघीय शासन व्यवस्था अनुसार प्रादेशिक व्यवस्था लागु भएको करिब २ वर्षपछि ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमति कायम भएको छ । आइतबार प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय प्रदेश सभामा सहज रुपमा सम्पन्न भयो । यत्तिको सहज रुपमा प्रदेशको राजधानी र नामाकरणको प्रक्रिया टुंगिएला भनेर सायदै कसैले सोँचेका थिए होलान् । सत्तारुढ दल नेकपासँग उपलब्ध बहुमतका आधारमा निर्णय गर्न पर्याप्त भए पनि सत्तारुढ दललाई प्रदेश सभामा आफ्नै सदस्यहरुबाट प्रस्तुत हुन सक्ने फरक मत नै प्रमुख चुनौति थियो । प्रदेशको राजधानी कायम गर्न मुख्यमन्त्री डोरमणि पौडेलको सुझबुझपूर्ण सफल प्रयत्न स्थायी राजधानी र नामाकरण तोक्न बाँकी रहेका प्रदेशलाई पनि अनुकरणीय भएको छ । यो एउटा नजीरको रुपमा समेत स्थापित हुनेछ ।

सकसको सहज अवतरण


प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै पार्टी ह्वीप या निर्देशन समेत नमान्ने धम्की समेत प्रकट गरिरहेको सन्दर्भमा सहजै यो प्रक्रिया पूरा हुनु आफैंमा महत्वपूर्ण विषय हो । नेकपाको शक्तिशाली सचिवालयले दुईपटक निर्देशन दिनुपर्ने अवस्था आउनुले स्थायी राजधानी कायम गर्ने र नामाकरण गर्ने प्रक्रियाको जटिलतालाई स्पष्ट बुझाउँछ । नेकपा सचिवालयको दुईपटकको निर्देशनका बाबजुद यो प्रक्रियालाई व्यवस्थापन गर्ने क्रममा भोग्नुपरेका जटिलता नेपालको राजनीतिमा सबै राजनीतिक दलका लागि महत्वपूर्ण पाठ हुनेछ ।

प्रदेश सभामा हेटौंडालाई स्थायी राजधानी कायम गर्ने विषयमा देखिएको तनाव कति भयावह रह्यो भने प्रदेशको नामाकरणको विषय गौण बनेको अवस्थाले बुझाउँछ । प्रदेशको नामसँग प्रदेश सभा सदस्यहरुलाई कुनै चासोको विषय रहेन । प्रदेशको राजधानीको विषय किन यत्तिको गम्भीर बन्यो भन्ने समीक्षा गर्नु जरुरी छ । मुलुक संघीयतामा रुपान्तरण भए पनि नागरिकको मनोदशा भने संघीयताअनुसार परिवर्तन हुन सकेको छैन । प्रदेशको राजधानीलाई आम रुपमा विकाससँग जोडिएर बुझिएको छ, बुझाइएको छ । प्रदेशको राजधानी भए सबै विकास राजधानीमै केन्द्रित हुने बुझाई प्रदेश सभा सदस्यहरुमा छ । प्रदेशवासीलाई पनि राजधानी आफ्नो जिल्ला, नगरमा स्थापित गर्न पाए विकास हुने थियो भन्ने बुझाई छ ।

तर, संघीय शासन व्यवस्थामा विकास केन्द्रिकृत नभई विकेन्द्रित हुन्छ । प्रदेश या स्थानीय सरकारको केन्द्र कहाँ छ भन्ने विषय गौण हो । प्रदेश र स्थानीय सरकारले सुझबुझका साथ आफ्नो क्ष्ँत्राधिकारको समानुपातिक विकास गर्नेछ भन्ने बुझ्न र बुझाउन् अहिलेका प्रदेश सभा सदस्य र स्थानीय सरकारका नेतृत्वकर्ताले बुझाउन सकेका छैनन् । स्थानीय तहको केन्द्रको विवाद मिलाउन कत्तिको जटिल छ भन्ने विषय समाचारहरुमा आइनै रहेका छन् । यस्तो परिस्थितिमा प्रदेशकै राजधानीको विषयमा परम्परागत सोचाईबाट बुझ्ने र व्याख्या गर्ने प्रयासकै कारण अनेकौं झमेला देखिएका छन् ।

समग्र वस्तुस्थितिलाई विश्लेषण गरेर राजधानीलाई भुगोल भन्दा पनि सामाजिक, राजनीतिक, आर्थिक एवम् सामरिक महत्वका दृष्टिकोणबाट कायम गर्दै नागरिकको विकासका लागि प्रतिवद्ध रहने कुरामा प्रदेश सभा सदस्यले ध्यान दिनुपर्ने थियो । प्रदेश सभा सदस्यहरु विकास भनेको आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै हो भन्ने गलत सोचाईबाट ग्रसित छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्न प्रत्यक्ष र समानुपातिक दुई प्रणालीबाट निर्वाचित हुने व्यवस्था भए पनि प्रदेश सभा सदस्यले आफ्नो क्षेत्राधिकार सिंगो प्रदेशको भुगोल, नागरिक, समाज, संस्कृति र सभ्यता हो भनेर बुझ्न अब ढिलो गर्नु हुन्न । प्रदेश सभाले प्रदेशको विकासका लागि उपयुक्त नीति निर्माण गरेर प्रदेश सरकारलाई, आवश्यकताअनुसार स्थानीय सरकारसँग समेत सहकार्यका लागि निर्देशित गर्नसक्नु पर्छ ।

यसका लागि प्रदेश सभा सदस्यले आफ्नो भूमिका एकजना सदस्य मात्रै नभएर सिंगो प्रदेश सभाको भूमिकालाई स्थापित गर्ने प्रयास गर्नु जरुरी छ । प्रदेशको राजधानीको सकस सकिएको छ । देशका ७ वटा प्रदेश सरकारमध्ये संघीय राजधानी रहेको बागमति प्रदेश सरकारले सिंगो प्रदेशको सन्तुलित विकास गर्दै संघीय सरकार र अन्य प्रदेश सरकारलाई समेत पदप्रदर्शकको भूमिका निर्वाह गर्न गराउन प्रदेश सभा सदस्यले ध्यान दिनुपर्छ । प्रदेशको नाम र केन्द्र के रह्यो भन्ने भन्दा पनि प्रदेश सभाले, प्रदेश सरकारले, राजनीतिक दल, राजनीतिक नेतृत्वले के गर्यो रु भन्ने प्रश्नको सटिक जवाफ ‘सम्पन्न प्रदेश र विकासित प्रदेश’ बनाएर देखाउनु पर्छ । त्यसका लागि प्रदेशको केन्द्र कहाँ थियो रु नाम के थियो रु भन्ने विषयको कुनै मतलब हुनेछैन ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077282 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top