29 Jan 2020   |   
logo
प्रदेश समाचार

प्रदेशको नाम बागमती, राजधानी हेटौंडा



प्रदेश समाचार   316 पटक पढिएको   सुसन लामिछाने     
हेटौंडाः प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती प्रदेश तोकिएको छ । आइतबार प्रदेश सभामा भएको मतदानमा बहुमत सदस्यहरुले हेटौंडालाई प्रदेशको राजधानी बनाउन भनी मतदान गरेसँगै प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा कायम भएको घोषणा गर्नुभएको हो । आइतबार नै प्रदेश सभा सचिवालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा तोक्ने निर्णय गरेको र धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम बागमती नामाकरण गरिएको जनाएको छ ।

प्रदेशको नाम बागमती, राजधानी हेटौंडा


प्रदेशको राजधानी हेटौंडा र काभ्रे हुनुपर्ने भन्दै प्रस्ताव दर्ता भएपछि आइतबार मतदान भएको थियो । हेटौंडालाई प्रदेशको स्थायी राजधानी कायम गर्ने पक्षमा एक सय ५ मत र काभ्रे हुनुपर्छ भन्ने पक्षमा ३ मत मात्रै परेको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडा कायम गर्न भनी मुख्मयन्त्री डोरमणि पौडेलले प्रस्ताव दर्ता गराउनुभएको थियो भने काभ्रेको प्रस्ताव विवेकशील साझा पार्टीको रमेश पौड्यालले प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेशको नामाकरण बागमति कायम गर्न भनी प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले दर्ता गर्नुभएको प्रस्तावमा मतदानमा सहभागी १ सय ८ जना प्रदेश सभा सदस्यले नै समर्थन जनाएका छन् । राजधानी र नाम तोकिएसँगै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राजधानी कायम गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ । सबैको सहकार्यमा राजधानी र नाम टुंगो लगाउन सफल भएको भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नाम तोकिनु हेटौंडाको मात्रै नभएर प्रदेशबासीकै खुशीको कुरा रहेको बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहुमत र सहमतिका आधारमा राजधानी र नाम टुंगाएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलले अब बागमती प्रदेशको विकासमा लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले सर्वप्रथम काभ्रेलाई जोड्ने सडक निर्माणलाई प्राथमिकता दिने भन्दै कोठमाडौं–हेटौंडा सुरुङमार्गको डिपिआर तयार हुँदै गरेको अवस्थामा रहेको भन्दै ठेक्का लाग्न बाँकी रहेको बताउनुभयो । त्यस्तै प्रदेश सरकारको काम केही समयमै देखिने भन्दै पञ्चायत कालमा बन्न सुरु भएको हेटौंडा गौरीटार रंगशाला बनेर सकिन लागेको अवस्थामा रहेको भन्दै प्रदेशको १३ जिल्लामै समानुपातिक विकास गरिनुपर्ने बताउनुभयो । त्यस्तै हेटौंडामा ऐयरपोर्ट बन्ने सम्भाव्यता अध्ययन प्रतिवेदन भैरहेको भन्दै त्यसका लागि पनि छिट्टै कामहरु अगाडि बढ्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले अब कुनै काम परेमा नागरिक सिंहदरबार जानु नपर्ने भन्दै स्थानीय नगर तथा गाउँपालिकाले समस्या समाधान गर्नसक्ने बताउनुभयो । जनतालाई अब प्रदेश सरकारले साँच्चै नै सिंहदरबार घर–घरमा भन्ने नारालाई हकहितमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सबैसँग सहकार्य र समन्वय गर्दै प्रदेशलाई साँच्चै नमूना बागमती प्रदेश बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रदेशको राजधानी हेटौंडा र नाम बागमति कायम भएसँगै हेटौंडामा खुशीयाली छाएको छ । विभिन्न संघ, संस्थासँग आम सर्वसाधारणले खुशीयाली प्रकट गर्दै दीपावली गरेका छन् । हेटौंडाका चोक–चोकमा दीपावली गर्दै प्रदेश सभाको निर्णयको स्वागत गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ, मकवानपुर चेम्बर अफ कमर्स, उद्योग संघ मकवानपुर जस्ता व्यावसायिक संघ, संस्थासँगै युवा समूह, टोल विकास संस्था, समुदायका अगुवाले स्वतःस्फूर्त रुपमा चोकचोकमा दीपावली गर्दै खुसी व्यक्त गरेका छन् ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077296 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top