28 Jan 2020   |   
logo
सम्पादकीय

सहकारीको लगानीले उत्पादन बढाउन



सम्पादकीय   469 पटक पढिएको   सम्पादकीय   २०७६ मंसिर २३ सोमवार  
सहकारी अभियानमा मकवानपुर जिल्ला देशकै सफल जिल्लामध्येको एक हो । समुदायकै सदस्यको क्रियाशीलतामा स्थापित सहकारीमा आवद्ध भएर विशेषगरी ग्रामीण समाजमा सदस्यबीच बचत गर्ने बानी र ऋण लिएर उद्यम, व्यवसाय गर्ने अवसर सिर्जना भइरहेको छ । बचत गर्ने बानीले ग्रामीण समुदायको आर्थिक अवस्था सवल बनेको छ भने ऋण लिएर उद्यम, व्यवसाय गर्नेले आर्थिक विकास एवम् स्थानीयस्तरमै उत्पादन बढाउँदै आएको छ । मकवानपुर जिल्लाका सहकारीहरुले पनि साना र मझौला किसिमका उद्यम, व्यवसायमा ठूलो योगदान पु¥याउँदै आएको छ ।

सहकारीको लगानीले उत्पादन बढाउन


सहकारीमा समुदायको आवद्धता वृहत बन्दै गएअनुसार सहकारीको लगानीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन नसकेको भनी नियमित जसो चर्चा भइरहेको छ । सहकारीमा रहेको पुँजीलाई उत्पादनको क्षेत्रमा लगानी गरी उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्ने र निर्यात बढाउनेसम्मका विषय जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा भइरहेको हुन्छ । केही सकारात्मक प्रयास समेत भइरहेको छ । शनिबार एक सहकारीको वार्षिक साधारणसभामा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २ वर्षअघिसम्म सयपत्री फुल भारतबाट आयात गर्नुपर्ने बाध्यता स्मरण गर्नुहुँदै प्रदेश सरकारले नै प्रेरित गरेका कारण अहिले मकवानपुर जिल्लामा सयपत्री फुलको पर्याप्त उत्पादन भइरहेको र जिल्ला  बाहिर निर्यात समेत भइरहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले पटकपटक आव्हान गरेकै कारण व्यावसायिक फूल खेती गर्न हौसला मिलेको र सम्भव भएको पनि दावी गर्नुभयो ।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुले सार्वजनिक कार्यक्रममा गर्नुभएको आव्हानबाट नागरिकलाई व्यावसायिक खेती, उद्यम गर्न प्रेरित गर्ने विषय सकारात्मक हो । तर, यत्ति मात्रै पर्याप्त हुन्न । प्रदेश सरकारका मन्त्रीले प्रदेश मन्त्रिपरिषद्बाट उपयुक्त नीति तथा कार्यक्रम समेत ल्याएर उत्पादनमूलक उद्यम एवम् विभिन्न परियोजना सञ्चालन गरिनुपर्छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले विभिन्न कार्यका लागि प्रोत्साहन कार्यक्रमको रुपमा अनुदान वितरण गरिरहेको छ । त्यस्तो अनुदानको प्रभाव कस्तो भइरहेको छ र आगामी दिनमा ती परियोजनाले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा गहन निगरानी जरुरी छ ।

प्रदेश सरकारले नागरिकलाई प्रोत्साहित गर्ने कुरा सराहनीय हुँदा हुँदै पनि त्यस्ता प्रोत्साहनका कार्यक्रम फलदायी हुन सकेन भने आलोचनाको विषय समेत बन्ने छ । यसर्थ प्रदेश सरकारले योजना तथा कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनको कार्य गर्दा अत्यन्त सघन रुपमा कार्य गर्नु पर्छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा गरेका काम आगामी आर्थिक वर्षका लागि प्रेरक र नमूनालायक होस् । प्रदेश सरकारले लागत सहभागिता या अनुदानको स्वरुपमा सञ्चालन गरेका कार्यले आम नागरिकलाई आफ्नै पूर्ण लगानीमा निर्धक्क सञ्चालन गरेर लगानीको राम्रो आम्दानीसँगै आयात प्रतिस्थापनमा सहयोग पुग्ने अवस्था रहोस् । प्रदेश सरकारले स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर उपयुक्त कार्यक्रम तयार पार्नेतर्फ पनि ध्यान दिनुपर्छ । उपयुक्त योजना निर्माण गर्ने, त्यसको प्रभावकारी कार्यान्वयन र निर्मम समीक्षा गरेर लाभको दर बढाउन आवश्यक छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987228 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top