10 Dec 2019   |   
logo
सम्पादकीय

स्वास्थ्यमा उपमहानगरको लगानी



सम्पादकीय   205 पटक पढिएको   सम्पादकीय   २०७६ कार्तिक २९ शुक्रवार  
हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडा मध्ये १३ वटा वडामा उपमहानगरपालिकाले स्वास्थ्य सेवा प्रदायक इकाई स्थापना गरेको छ । बुधबार हेटौंडा–१६, हटियामा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । वडा तहमै नगरवासीले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने आवश्यकतालाई उपमहानगरपालिकाले कार्यान्वयन गर्न अग्रसर छ । हेटौंडा उपमहानगरको १ र १२ नम्बर वडामा स्वास्थ्यचौकी सञ्चालनका लागि भवन निर्माण गर्ने कार्य भइरहेको छ भने ४, ५ र १० नम्बर वडामा भने स्वास्थ्य चौकी स्थापना गर्नु पर्ने छ । वडा तहमै प्राथमिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त हुने अवस्था रह्यो भने नगरवासीको स्वास्थ्य अवस्थामा सुधार गर्न सकिने छ भने जिल्ला अस्पतालमा हुने भीडलाई पनि न्यूनीकरण गर्न सकिनेछ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्नु आवश्यक हुन्छ भने स्वास्थ्यमा समस्या नै आउन नदिन सचेत हुने र समस्या देखिए पनि प्रारम्भिक अवस्थामै उपचार गर्नु बढी लाभदायक हुनेछ ।

स्वास्थ्यमा उपमहानगरको लगानी


३ नम्बर प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा वडा तहमा स्वास्थ्य चौकी स्थापना र सञ्चालनको प्रयासलाई केहीले अनावश्यक पनि मान्न सक्छन् । ठूला मेडिकल कलेज र विशेषज्ञ चिकित्सकको सेवा आवश्यक भएका बेला उपमहानगरपालिकाले वडा तहमा स्वास्थ्य चौकी सञ्चालन लोकप्रियताको विषय मात्रै मान्ने अवस्था पनि रहन सक्छ । वडा तहमा स्वास्थ्य चौकी स्थापना र सञ्चालन गर्नुभन्दा जिल्ला, प्रदेश र राष्ट्रियस्तरका स्वास्थ्य संस्था सञ्चालन हुनुपर्ने माग स्वभाविक होला । अझ मकवानपुर जिल्लाको हकमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपमहानगरको ध्यान जानुपर्नेमा दुईमत नहोला । तर, तल्लो तहसम्म सरकारको संरचना स्थापित भइसक्दा सरकारको तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास सराहनीय कार्य हो ।

स्वास्थ्य सेवाका लागि उपमहानगरपालिकाले सेवा प्रदायक संस्था स्थापना गरेसँगै सचेतनामूलक कार्य पनि आयोजना गर्नुपर्ने छ । वडा तहमा स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत परिचालन गरेर स्वास्थ्य सम्बन्धी समस्या नै नआओस् भनी सचेत गराउनु आवश्यक छ । वडा तहमा स्वास्थ्य चौकी स्थापना गरेको उपमहानगरपालिकाले स्वास्थ्य परीक्षणसँगै प्रयोगशाला परीक्षण र औषधी सेवा पनि विस्तार गर्नु जरुरी छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पतालमा उपलब्ध विशेषज्ञ चिकित्सकमार्फत आवधिक रुपमा वडास्थित स्वास्थ्यचौकीमा सेवा प्रदान गर्ने रणनीति पनि लिने हो भने जिल्ला अस्पतालमा बढेको भीड नियन्त्रण गर्न सकिने थियो । स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गर्दै जनताको सेवामा जनप्रतिनिधि आएपछि केही उदाहरणीय कार्य हुन लागेको बेला यस्ता कार्यले जनतामा आशा पनि फैलाउने काम गरेको छ । स्वास्थ्य चौकी स्थापना र सञ्चालनसँगै यसको प्रभावकारी र नियमित सञ्चालनमा पनि ध्यान दिने हो भने नगरवासीले सुविधा पनि पाउने थिए । जनताको सेवाको काम गरे नेता र राज्य व्यवस्था दुबैले जस पनि पाउने थिए ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119851 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top