10 Dec 2019   |   
logo
सम्पादकीय

सुरक्षाका लागि सीसी क्यामरा



सम्पादकीय   206 पटक पढिएको   सम्पादकीय   २०७६ कार्तिक २८ बिहिवार  
हेटौंडा उपमहानगरपालिकाको पश्चिमी सीमानामा रहेको बस्तीपुर बजारमा सीसी क्यामरा जडान गरिएको छ । नगरको पश्चिम क्षेत्रको ग्रामीण बजारको रुपमा रहेको बस्तीपुरमा आधुनिक प्रविधिको प्रयोग गर्दै सुरक्षामा ध्यान दिनु सकारात्मक विषय हो । सुरक्षाको जोखिम व्यहोर्नु भन्दा सुरक्षित रहन अधिकतम् उपाय अपनाउनु लाभदायक हुनेछ । सीसी क्यामरा जडान गर्न वडा कार्यालयको ४ लाख रुपैयाँ, उपमहानगरपालिकाको १ लाख रुपैयाँ र स्थानीय व्यवसायीको ३ लाख रुपैयाँ लागत सहभागितासहित कुल ८ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

सुरक्षाका लागि सीसी क्यामरा


वडा कार्यालय, उपमहानगरपालिका र स्थानीय व्यवसायीको समेत लागत सहभागितामा सुरक्षाका लागि सीसी क्यामरा जडान गर्ने योजना उपयुक्त
छ । सीसी क्यामराको निगरानी नेपाल प्रहरीले गर्नेछ । वडा प्रहरी कार्यालयको अगुवाईमा सरोकारवाला र स्थानीयको समेत लागत सहभागितामा अनुत्पादक जस्तो देखिने तर सुरक्षा जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा भएको कार्य उल्लेखनीय छ । सुरक्षाका दृष्टिले वडा कार्यालयको पहलमा बस्तीपुरमा सीसी क्यामरा जडान भइसक्दा ३ नम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा बजारक्षेत्रमा भने सीसी क्यामरा जडानको कार्य हुन सकेको छैन । यसअघि जडान गरिएको सीसी क्यामराको नियमित मर्मत, सम्भार समेत हुन सकेन । बस्तीपुरमा सीसी क्यामरा उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले छिट्टै हेटौंडा बजारमा पनि सीसी क्यामरा जडान हुने बताउनुभएको छ । मेयर महतले सुरक्षा कायम गर्ने विषयमा उपमहानगरले कुनै पनि सम्झौता नगर्ने बताउनु भएको छ । मेयर महतको प्रतिवद्धता सकारात्मक हो । तर, लामो समयदेखि सर्वसाधारण र व्यवसायीले सीसी क्यामरा जडान गर्न माग गर्दै आए पनि प्रमुख बजार क्षेत्रमा सीसी क्यामरा जडान हुन सकेको छैन । १९ नम्बर वडा कार्यालयले आफ्नो सुरक्षाका लागि मात्रै नभई उपमहानगरपालिका र मेयरलाई समेत सुरक्षामा संवेदनशील हुन प्रेरित गर्नु अर्को महत्वपूर्ण पक्ष हो ।

सीसी क्यामरा जडान भयो भन्ने बित्तिकै सुरक्षा चुनौतिको रुपमा रहने अपराधी, चोरी गर्ने समूह सतर्क हुन्छन् । यद्यपि बद्मासी गर्नेहरुले जस्तोसुकै जोखिम लिन पनि पछि नपर्ने अवस्था रहन सक्छ । यस किसिमको तथ्यलाई बुझेर मुख्यतः सुरक्षा निकायले नै सतर्कता बढाउनुपर्छ । प्रविधिको प्रयोगपछि प्रहरीले अब थोरै जनशक्तिले पनि पर्याप्त सुरक्षा व्यवस्था कायम गर्न सक्नेछ भने कुनै किसिमको सुरक्षा चुनौति या दुर्घटना भए न्याय सम्पादन गर्न, दोषीलाई कारवाही गर्न, गराउन प्रमाण जुटाउन सहज हुनेछ । प्रविधिको माध्यमबाट निगरानी बढाएर सकेसम्म दुर्घटना र अपराध नै नहोस् भनी आवश्यक सतर्कता अपनाउनु जरुरी हुनेछ । वडा कार्यालयको समन्वयमा पूर्वाधार विकास हुनु सुरक्षा निकायका लागि सहजताको विषय हो । यसर्थ सुरक्षाका लागि सीसी क्यामरा प्रविधिको अधिकतम् उपयोग गर्दै यसको नियमित प्रयोगमा पनि जिम्मेवार भएर अगाडि बढ्नु लाभदायक हुनेछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119839 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top