10 Dec 2019   |   
logo
सम्पादकीय

वर्षेनी गाँजा फँडानी



सम्पादकीय   249 पटक पढिएको   सम्पादकीय   २०७६ कार्तिक २७ बुधवार  
मकवानपुर जिल्लाको ग्रामीण दुर्गम क्षेत्रमा लगाइएको गाँजा खेती मकवानपुर प्रहरीले हरेक वर्ष फँडानी गर्दै आएको छ । प्रहरीले व्याड राख्ने बेलादेखि नै सक्रियता देखाए पनि गाँजा भित्रयाउने बेलादेखि गाँजाको ढुवानी गर्ने तीनै चरणमा नियन्त्रणको प्रयास गरिरहेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको लागूऔषध गाँजाको व्यावसायिक खेतीका लागि मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश गाउँपालिकासहित थाहा नगरका विभिन्न भाग प्रयोग भइरहेका छन् । हेटौंडा उपमहानगरपालिका भीमफेदी, मकवानपुरगढी, बाग्मति र बकैया गाउँपालिकामा समेत व्यावसायिक गाँजाखेती भएको पाइन्छ । मकवानपुर जिल्लाका दसवटै स्थानीय तहमा गाँजा खेती भइरहेको छ । प्रहरीले गाँजाको व्यावसायिक कारोबारलाई नियन्त्रण गर्न निरन्तर प्रयास गरिरहेको छ । तर, पनि गाँजाको व्यावसायिक खेतीलाई रोक्न सकेको छैन ।

वर्षेनी गाँजा फँडानी


पछिल्लो समय गाँजाको उपयोगितालाई बुझेकाहरुले यसलाई बैध बनाएर व्यावसायिक खेती गर्दै लाभ लिनुपर्ने पनि बताउँदै आएका छन् । औषधीजन्य वस्तु बनाउन गाँजा प्रयोग गर्न सकिने बताइँदै आएको छ । गाँजाको सकारात्मक पक्ष र चुनौतिलाई हेरेर लाभको स्थिति भए सरकारले गाँजालाई बैध बनाउनेतर्फ पनि सोँच्नुपर्छ । प्रतिबन्ध लगाएर निषेध नै गर्न नसक्ने, लागूऔषध गाँजाको प्रयोग कायमै रहने तर, लाभको पक्षमा उपयोग नै नगर्ने स्थिति उपयुक्त हुन्न । प्रतिबन्ध लगाएर नकारात्मक समूहको व्यावसायिक लाभको अवसर बढाउँदै लैजाने तर, लाभको अवसर गुमाउँदै जानु हुन्न ।

अबैध गाँजाको व्यावसायिक खेती भएको वर्षौं भइसक्यो । अलि अघिसम्म मकवानपुरमा स्थानीय जनप्रतिनिधि नहुनु, सडक सञ्जालले नछुनुले व्यावसायिक गाँजा खेती भइरहेको भन्ने गरिन्थ्यो । तर, आज सडक सञ्जालले छोइसक्दा, स्थानीय जनप्रतिनिधि चयन भएको दुई वर्ष भइसक्दा र अन्य लाभका क्षेत्रहरु विस्तार भइसक्दा पनि व्यावसायिक गाँजा खेती भने कायमै छ । अबैध गाँजा खेतीको व्याड नै नष्ट गर्न, खेती नष्ट गर्न प्रहरी गाउँसम्म पुग्दा स्थानीय तहका जनप्रतिनिधिलाई पनि जिम्मेवार हुन र नियन्त्रण अभियानमा सहभागी हुन प्रेरित गर्नुपर्ने थियो । जनप्रतिनिधिलाई व्यावसायिक गाँजा नियन्त्रणमा स्थानीय सरकारले काम गर्नुपर्ने बोध गराउनुपर्ने थियो । यसतर्फ ध्यान नपुगेका कारण व्यावसायिक खेती भइरहेको हो कि भन्ने पनि स्पष्ट भएर प्रहरीले नियन्त्रणको प्रयास गर्नु आवश्यक छ ।

प्रहरीले व्याड नष्ट गर्दा पनि व्यावसायिक खेती फस्टाउने अवस्था कसरी आयो भन्ने प्रश्न पनि खडा हुने गरेको छ । प्रहरीले नियन्त्रणमा हेलचेक्र्याइँ गर्यो कि प्रहरीले पनि मिलेमतो गर्यो भन्ने आशंका व्यक्त हुने गरेको छ । यसर्थ यस्ता आशंका समेत नरहने गरी प्रहरीले सरोकारवालाको सहभागितामा लागूऔषधजन्य वस्तुको व्यावसायिक खेतीलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने विषयलाई गम्भीरताका साथ लिनु जरुरी छ । अन्यथा हरेक वर्ष प्रहरी, गाँजाखेती गर्ने, ढुवानी गर्नेबीचको लुकामारीले ककसलाई लाभ भइरहेछ भन्ने बुझनुपर्छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119885 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top