16 Nov 2019   |   
logo
सम्पादकीय

प्राविधिक महाविद्यालयमा महा–ढिलाई



सम्पादकीय   45 पटक पढिएको   सम्पादकीय   २०७६ कार्तिक २१ बिहिवार  
छिमेकी मुलुक भारतसँगको मित्रताको सम्बन्धलाई सवल बनाउने अपेक्षासहित प्राविधिक महाविद्यालय निर्माण गर्ने सम्झौता भएको एक दशकपछि सिलान्यासको काम भएको छ । तत्कालिन राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमण जानु भएका बेला २०६६ साल फागुन ४ गते दुई देशबीच सम्झौता भएको थियो । सम्झौता भएको ठीक दश वर्षपछि महाविद्यालयको भौतिक संरचना निर्माण गर्न सुरु हुनु ढिलै भए पनि सकारात्मक काम हो । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा नगरपालिकाको मेयर हुनुहुँदा नै प्राविधिक महाविद्यालयको चर्चा चले पनि अहिले आएर सिलान्यास भएको छ । देशकै ठूलो औद्योगिक क्षेत्र भएको हेटौंडा नगरको तत्कालिन मेयर रहनुभएका मुख्यमन्त्री पौडेलले महाविद्यालयको सिलायन्ससँगै उद्घाटनको अवसर समेत प्राप्त गर्नुहुने अपेक्षा गरौं ।

प्राविधिक महाविद्यालयमा महा–ढिलाई


देशकै ठूलो औद्योगिक क्षेत्र भएको हेटौंडा उपमहानगर अहिले ३ नम्बर प्रदेशको राजधानी समेत हो । देशकै मध्य भागमा रहेको हेटौंडा उपमहानगरमा बहुप्राविधिक महाविद्यालय स्थापना हुनु हेटौंडा उपमहानगर, मकवानपुर जिल्ला, ३ नम्बर प्रदेश मात्रै नभएर देशकै लागि पनि लाभ हुने योजना हो । बहुप्राविधिक महाविद्यालयले हरेक वर्ष सयौं दक्ष प्राविधिक जनशक्ति तयार पार्ने अपेक्षा गरिएको छ । संसारले औद्योगिक विकासमा अकल्पनीय उपलब्धी हासिल गरिसकेका बेला हामी बल्ल महाविद्यालय सिलान्यास गर्ने चरणमा पुगेका छौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बहुप्राविधिक महाविद्यालयको भौतिक संरचना छिटो भन्दा छिटो सक्न पनि निर्देशन पनि दिनुभएको छ । मुख्यमन्त्रीले सिलान्यास गर्नुभएपछि आवधिक रुपमा कार्यप्रगति विवरण पनि बुझ्दै गर्नु पर्नेछ । बहुप्राविधिक महाविद्यालयको भौतिक संरचनासँगै त्यसको पाठ्यक्रम, आवश्यक जनशक्ति, अन्य स्रोतसाधन व्यवस्थापन एवम् तयारीको विषयमा पनि आवश्यक तयारी गर्नुपर्छ ।

हामीले बहुप्राविधिक महाविद्यालयको चर्चा सुरु गरेर अढाई दशकपछि भवन सिलान्यास गर्नु ढिलो भए पनि आजको बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति तयार गर्ने गरी महाविद्यालय बनाउनुपर्ने आवश्यकतालाई भने गम्भीरताका साथ ध्यान दिनुपर्छ । प्राविधिक शिक्षालय ढिलो गरी बनाउन सुरु गरे पनि आजको आवश्यकता बुझ्न र सोही अनुसार महाविद्यालय सञ्चालन गर्न सकिएन भने ठूलो लगानी र प्रयास विफल हुनेछ । हिजो केन्द्र सरकारले देशभरका योजना हेर्ने क्रममा ढिलाई भएको हुन सक्छ । जिल्ला तहमा पनि बहुप्राविधिक महाविद्यालयको आवश्यकतालाई बुझेर पैरवी गर्ने समूहको अभाव भएको पनि हुन सक्छ । तर, अहिले मुलुक नयाँ संरचनामा रुपान्तरित भइसकेको छ । रुपान्तरित संरचनाअनुसार स्थापित प्रदेश सरकारको भूमिकाका बारेमा आम रुपमा नकारात्मक धारणा विकसित भइरहेको, प्रदेशको संरचनाको औचित्य नभएको भनिरहेका बेला यस्तै अधकल्चो भएका संरचना, योजनाहरुलाई सफल बनाउँदै प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्ने अवसरको रुपमा आत्मसात गर्न सक्नुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारको निर्माण र सञ्चालनमा प्रदेश सरकारले आफूलाई सवल बनाउने हो भने यसबाट आम नागरिकले प्रत्यक्ष लाभ हासिल गर्ने अवसर रहन्छ । आम नागरिकले प्रदेश सरकारको आवश्यकता महसुस गर्दै जानेछ । स्थानीय तहले दैनिक गतिविधिका बारेमा चासो देखाइरहेका बेला प्रदेश सरकारले मझौला र दीर्घकालिन सेवा क्षेत्रमा ध्यान दिने हो भने संघीय सरकारले सिंगो मुलुकको खाका कोर्दै जाने हो भने तीनै तहको संरचना पनि सही सावित हुनेछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17214879 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top