16 Nov 2019   |   
logo
समाज

चर्चा चलेको २५ वर्षमा बहुप्राविधिक भवन बन्दै



समाज   46 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २० बुधवार  
हेटौंडाः २५ वर्षदेखि चर्चा चलेको नेपाल–भारत मैत्री बहुप्राविधिक संस्था निर्माणको हेटौंडामा शिलान्यास गरिएको छ । भवन निर्माणका लागि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भारतीय राजदूतावासका अधिकारी डा. अजयकुमारले संयुक्त शिलान्यास गर्नुभएको हो । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले निर्माणमा अवरोध नपुर्याउन चेतावनी दिनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणका क्रममा अवरोध गरे यो अपराध क्षम्य नहुने समेत बताउनुभयो ।

चर्चा चलेको २५ वर्षमा बहुप्राविधिक भवन बन्दै


उहाँले भन्नुभयो, ‘यो लाखौं विद्यार्थीको भविष्य निर्माणमा जोडिन लागेको छ यसलाई सबैले सहयोग गरौ । धेरै लामो समयको सपना र प्रयासपछि यो निर्माण प्रक्रिया अगाडि बढेको हो ।’ मुख्यमन्त्री पौडेलले परियोजनाहरु समयसीमा भित्र नै निर्माण हुनुपर्ने बताउनुभएको छ । बिभिन्न विकास निर्माणका कार्यहरु सुरु नै नभइकन थन्किने परिपाटीले विकासको गतिमा अवरोध पुर्याएको पनि उहाँको भनाइ थियो । उहाँले विकास निर्माणमा अवरोध नगर्न चेतावनी दिनुभएको छ । अवरोध गरेर आफ्ना अभिष्ट पुरा गर्न कोहि लागे जनताले नछोड्ने उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीलाई समयमा नै काम सम्पन्न गर्न आव्हान गर्दै समय अगावै काम सके पुरस्कृत गर्ने घोषणा समेत कार्यक्रममा गर्नुभयो ।

परिणाममुखी शिक्षाको लागि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री पौडेल प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालनका लागि योजना अघि बढाइएको बताउनुभयो । भारत सरकार पनि यो निर्माणका लागि अत्यन्त सकारात्मक रहेको भन्दै यसको निर्माणको प्रगति छिटो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिगतमा हाम्रो तर्फबाट पनि कमिकमजोरी भए होलान् उताबाट पनि भए होलान् तर अब त्यस्तो हुँदैन ।’ योजनाहरु धेरै अलपत्र पर्ने देखिएकोले आफूले प्रत्यक्ष निगरानी गरेर समयमा नै काम सक्ने वातावरण बनाउने समेत उहाँले बताउनुभयो । मकवानपुर धेरै क्षेत्रको सम्भावना रहेको भन्दै यसै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्न लागेको जानकारी दिनुभयो । केन्द्रिय खेलकुद एकेडेमीका नाममा निर्माण सुरु भइरहेको परियोजनाका कारण देशले नै पुरै फाईदा लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले यो महाविद्यालय निर्माण पश्चात छिमेकी देशमा विद्यार्थीले पनि पढ्न सक्ने बताउनुभयो । भारतीय लगानीमा बन्न लागेको यो परियोजनाले देशमा प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । भारतीय राजदूतावासका चार्ज इन अफयेर्स डा. अजयकुमारले अबको २ वर्ष भित्र यो भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विगतमा विभिन्न कारण निर्माण प्रक्रिया ढिलो भएपनि अब निर्माणको बाटो खुलेकोले निर्माण कार्य नरोकिने बताउनुभयो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको आतिथ्यता रहेको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेल २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयर हुँदा उहाँले प्राविधिक महाविद्यालय स्थापनाको बहस थाल्नु भएको थियो । यही विषयमा निरन्तर लागिरहनु भएका तत्कालिन मेयर पौडेल अहिले मुख्यमन्त्री भएपछि प्राविधिक महाविद्यालय निर्माण गर्न अग्रसर हुनुभएको थियो । २०६६ साल फागुन ४ गते तत्कालिन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौंडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारले २६ बिगाह जमिन महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको हो । भारतीय अनुदानको ६४ करोड रुपैयाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुने सिटिइभिटीका प्रदेश प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । सिलान्यास भएको २ वर्षभित्र सबै संरचनाहरु निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको समेत उहाँ जानकारी दिनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213100 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top