16 Nov 2019   |   
logo
अर्थ / व्यापार

व्यावसायिक फुलखेती बढ्दोतिहारमा लाखौंको व्यापार



अर्थ / व्यापार   30 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक १८ सोमवार  
हेटौंडाः मकवानपुर जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा फुलखेती गर्ने किसान बढेका छन् । फुलखेतीबाट पनि मनग्य आम्दानी हुनेभएपछि त्यसतर्फ आकर्षित भएका हुन् । फुलखेती सुरु गर्नुभएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ अध्यक्ष ललित घलान फुलको माग बजारमा धेरै रहेको बताउनुहुन्छ । सिजन र अफसिजन दुवैमा फुलको माग हुने भएकाले यो व्यवसाय उत्तम हुने बताउनुभयो ।

व्यावसायिक फुलखेती बढ्दोतिहारमा लाखौंको व्यापार


बालकृष्ण चौलागाईले तिहारमा बिक्री गरेको सयपत्री फूल ।

तिहारको अवसरमा मानिसहरुले आ–आफ्नो घरमा फुलको माला, भाइटिकाको लागि सयपत्री फूलको माला प्रयोग भएको थियो । तिहार पर्वको अवसरमा मात्रै ३ लाखको फुलको कारोबार भएको अध्यक्ष घलानले बताउनुभयो । उहाँले आफ्नो फुलखेतीबाट आफैले माला बनाएर र थुङ्गासहित बजारमा पुर्याएको जानकारी दिनुभयो । बजारमा स्थानीय तहमा उत्पादन फुलको माग सिजनमा बढी रहेको भन्दै हेटौंडा र काठमाडौंमा सबै फुलको कारोबार रहेको बताउनुभयो । यो वर्ष ५ कट्ठामा फुल खेती गर्नुभएका उहाँले गर्नसके बेरोजगार युवाहरुको लागि स्वरोजगारको उत्कृष्ट माध्यम हुने पनि बताउनुभयो । सिजनमा मात्रै नभएर अफसिजनमा पनि संस्था, सहकारी तथा अन्य विविध कार्यक्रमहरुमा अर्डर आइरहने हुनाले पनि फुलको कारोबार बढेको उहाँले बताउनुभयो ।

यस्तै मकवानपुर जिल्लाको पश्चिमक्षेत्र मनहरीमा कृषि फार्म सञ्चालन गर्दै व्यावसायिक रुपमा फुलखेतीसँगै, ड्रयागन खेती, सुन कागती खेती गर्दै आउनुभएका हरिशरण अर्यालले पनि फुलको माग देशमै रहेको बताउनुभयो । तिहारको अवसरमा अन्य समय भन्दा बढी जाने गरेको भन्दै यसपालिको तिहारमा ३ लाख ५० हजारको कारोबार भएको बताउनुभयो । आफैले माला बनाएर होलसेल मूल्य ४५ र प्रति थुङ्गा २५ पैसादेखि १ रुपैयासम्म कारोबार भएको छ । हेटौंडामा १ लाख, नारायणघाटमा ५० हजार र भैरहवामा २ लाखको फुलको कारोबार भएको व्यवसायी अर्यालले जानकारी दिनुभयो । १२ कट्ठा क्षेत्रफलमा लगाएका फुलमा ५० प्रतिशत भन्दा बढी नाफा हुने उहाँको भनाइ छ । यहि वर्षदेखि पहिलो व्यावसायिक फुल खेतीमा होमिएका अर्यालले बजारमा माग धेरै भएको बताउनुभयो । अफसिजनमा भन्दा पनि सिजनमा फुलको कारोबार धेरै हुने र अहिले विभिन्न गोष्ठि सभा, समारोहमा पनि फुलको प्रयोग हुनाले माग भैरहने बताउनुभयो ।

यस्तै उहाँले ड्रयागन खेती तथा सुन कागतीको पनि खेती गर्ने बताउनुभएको छ । यस्ता व्यावसायिक रुपमा लागेका किसानहरुलाई मनहरी गाउँपालिकाले सिचाई तथा प्राविधिक क्षेत्रमा सहयोग गर्ने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । व्यवसायीहरुले कृषि क्षेत्रमा लगानी गर्दा आफ्नो स्थानीय तहमा आवश्यक सिचाईको व्यवस्थासँगै उनीहरुलाई कर्जाको पनि राम्रो सुविधा मिलाउने व्यवस्था गर्न गाउँपालिकाले मद्दत गर्ने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । कृषि क्षेत्रमा पनि राम्रो उत्पादन हुनेभएपछि परम्परागत खेतीभन्दा पनि आधुनिक खेतीतर्फ उन्मुख हुनुपर्ने उहाँको भनाइ छ । यस्तै तिहार पर्वमा आ–आफ्नो घर वरपर पाखामा लगाएका फुल वर्षमा एकपटक हेटौंडा बजारमा बेच्न आउनेको पनि लर्को देखिएको छ । तिहारमा घरमा खपत नहुने र त्यसलाई बजारमा बेच्न ल्याउने सुकौराका माया लो पनि बजारमा ५ डोका फुल लक्ष्मीपुजाको दिन बिक्रि भएको जानकारी दिनुभयो ।

यस्तै हेटौंडा–६, चौघडामा व्यावसायिक रुपमा कृषि फार्म दर्ता गरी फुलखेतीसँगै ग्रिनहाउसमा गोलभेडा खेती गर्दै आउनुभएका बालकृष्ण चौलागाईले अहिले स्थानीयले फुलको आपूर्तीले गर्दा भारतीय फुलहरुको कारोबार जिल्लामा घटेको बताउनुभयो । यसपालिको तिहारमा मकवानपुरमा स्थानीय फुलहरुको माग बढेको भन्दै भारतीय फुललाई विस्थापित गरेको उहाँले जानकारी दिनुभयो । तिहारमा ३ लाखको फुल विक्री गरेको भन्दै हेटौंडा बजारमा नै ठूलो मात्रामा फुलहरु खपत भैरहेको उहाँले बताउनुभयो । चौलागाईले तिहारमा माला ८० रुपैयाँ र २ रुपैयाँ प्रतिथुंगा फुल बिक्री गर्नुभयो । २ वर्षदेखि फुलखेती गर्नुभएका चौलागाइँका अनुसार प्रदेश नम्बर ३ को राजधानी भएसँगै विभिन्न संघ, संस्थाका कार्यक्रमहरु व्यापक हुने गरेसँगै फूलको व्यापार बढेको छ । वर्षैभर फुलको खपत भैरहेको चौलागाईको अनुभव छ । फूल खेतीसँगै चौलागाईले ग्रीनहाउसको गोलभेडा खेतीमा १ हजार ८ सय बिरुवा लगाइएको जानकारी दिनुभयो । चौलागाईले सरकारको अनुदान ९ लाख ५२ हजार र आफ्नो ६ लाख २३ हजार लगानीमा २ कट्ठमा नेचुरल ग्रिनहाउस बनाई व्यावसायिक खेती गर्नुभएको छ ।यता तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तानले भने यस वर्षको तिहारमा ग्रामीण क्षेत्रमा फुलखेती गरेका किसानले भने उचित मूल्य नपाएर पीडित हुनुपरेको जानकारी दिनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213175 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top