29 Jan 2020   |   
logo
सम्पादकीय

बालमैत्री मनहरी गाउँपालिका



सम्पादकीय   446 पटक पढिएको   सम्पादकीय   २०७६ पौष २७ आइतवार  
मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री भएको घोषणा गरिएको छ । देशभरका ४ सय ६० गाउँपालिकामध्ये स्थानीय शासन पद्दति अवलम्बन गर्ने मनहरी पहिलो बालमैत्री गाउँपालिका भएको छ । बालमैत्री स्थानीयशासन पद्दति अवलम्बनका लागि पुरा गर्नुपर्ने सूचकहरु जिल्ला समन्वय समितिबाट अनुगमन गराई प्रमाणित भएपछि यो घोषणा भएको हो । घोषणा गर्दा स्थानीय प्रतिनिधि र नागरिकहरु निकै उत्साहित देखिएका छन् । घोषणाका लागि गर्नुपर्ने कामहरु कम चुनौतीका थिएनन् । यस कामका लागि जनप्रतिनिधिदेखि सम्बन्धित पक्षले गत वर्षदेखि गरेको तयारीको परिणाम घोषणा हुन सफल भएको छ । दर्जनौंको संख्यामा रहेका निकृष्ट श्रममा आश्रित बालबालिकालाई विद्यालय पठाउनेदेखि गर्भवतीहरुको परिक्षणको व्यवस्था र सचेतना, सरसफाई तथा परिवारमा बालमैत्री वातावरणका लागि पालिकाले महत्वपूर्ण जिम्मेवारी र भूमिका खेल्दै मनहरी देशकै पहिलो हुन सफल भएको हो । मनहरीले जिल्लाका मात्र हैन देशकै अरु स्थानीय तहलाई पनि चुनौती दिएको छ ।

बालमैत्री मनहरी गाउँपालिका


कुनै पनि कामको घोषणा पूर्ण हुँदैन, केवल सुरुवात हो । अब पूर्णताका लागि गाउँपालिकाले अझै धेरै काम गर्नुपर्ने छ । घोषणा त्यस बेला मात्र सफल हुनेछ जब पूर्णरुपमा कार्यान्वयन हुन सक्छ । आईपर्ने कठिनाईको पूर्व जानकारी भएरै मनहरीले यो आँट गरेको हो । बालबालिका कै क्षेत्रमा राज्यका नीति नियमहरु अझै कार्यान्वयन हुन सकेका छैनन् । बालमैत्री त एउटा पक्ष मात्र हो । देशका भविष्य बालबालिकालाई सबै कुरामा उचित वातावरण आवश्यक पर्दछ । बालमैत्री त आधारभूत विषय मात्र हो । सबै नानीहरुलाई सुन्दर जीवन दिन सक्ने उचित अवसर श्रृजना गराउनु पनि राज्यको जिम्मेवारी भित्र पर्दछ । त्यसैले बालमैत्री घोषणा हुँदैमा बालबालिकाप्रतिको जिम्मेवारी र दायित्व पुरा हुँदैन, यो त प्रारम्भ मात्र हो । आमाको गर्भमा रहँदादेखि सक्षम नागरिकका लागि आवश्यक वातावरण दिनु नै वास्तवमा बालमैत्री अवस्था हो । अहिलेको घोषणाले यी सबै अवसर प्रदान गर्न सक्दैन । त्यसैले बालमैत्री अवस्थाको सुरुवात हो यो घोषणा ।

बालविवाह, बालश्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानव बेचबिखन जस्ता समस्यामुक्त अवस्थापछि मात्र बालमैत्री घोषणा हुन सक्छन् । कतिपय अवस्थामा यस्ता तथ्यहरुको वस्तुनिष्ट भन्दा पनि घोषणाका लागि विश्लेषण गरिने परिपाटि छ । पक्कै पनि मनहरीले यस्ता कुरामा ईमान्दारीपूर्वक अनुगमन गरेको हुनु पर्दछ । देशकै नमूना गाउँमा भोलीका दिनमा उल्लेखित विषयहरुमा प्रश्न उठ्नु हुँदैन । बालमैत्री गाउँ हुन संविधान, ऐन, कार्यविधि तथा निर्देशिकाहरुले ३९ वटा सूचकहरु निर्धारण गरिदिएको छ । त्यस मध्ये अधिकांश सूचकमा उत्तिर्ण हुनै पर्दछ । बालअधिकार, राजनीतिक, आर्थिक र सामाजिक कारणले बालमैत्री गाउँपालिका घोषणा सकारात्मक सुरुवात हो । यसले बालबालिकामा सचेतना, अभिभावकहरुमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक सोच तथा स्थानीय तहमा विकासका ढोकाहरु खुल्दै जाने छन् । हतारमा घोषणा गर्ने र अनुगमन नगर्दा त्यसबाट पर्ने दुष्परिणाम प्रति पनि सचेत हुन आवश्यक छ । अगाडि हुनु भन्दा निरन्तरता चुनौती हो । अहिले मनहरीले जे जस्ता मापदण्ड पुरा गरेको छ कालान्तरसम्म पनि यथावत रहन सकोस शुभकामना ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077329 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top