16 Nov 2019   |   
logo
सम्पादकीय

अवसरविहिन महोत्सव



सम्पादकीय   1056 पटक पढिएको   सम्पादकीय     
जिल्लाको पश्चिमक्षेत्र मनहरी गाउँपालिकामा शुक्रबारबाट मनहरी महोत्सव सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति मनहरीको आयोजनामा भनिए पनि यो महोत्सव देशव्यापी मेला, महोत्सव गर्ने व्यावसायिक समूहलाई जिम्मेवारी दिएर उद्योग वाणिज्य संघले निश्चित लाभ हासिल गर्ने सर्तमा आयोजना भइरहेको छ । केही वर्षयता मेला, महोत्सवमा व्यावसायिक समूहले ठेक्का लिने क्रम व्यापक भएको छ । एक किसिमले यो समूहले देशव्यापी रुपमा मेला, महोत्सव आयोजना गर्ने तालिका नै बनाएर देश दौेडाहा हिँड्ने गरेका छन् ।

अवसरविहिन महोत्सव


 स्थानीय संघ, संस्थासँगको समन्वय र सहकार्यमा यस्ता समूहले वार्षिक कार्यतालिका नै बनाएर महोत्सव आयोजना गर्ने निश्चित भइसकेको छ ।
    मेला, महोत्सवका यस्ता ठेकेदारले विचौलियाको काम गर्दै सरोकारवाला सबै पक्षलाई निश्चित लाभको अवसर दिने र आफूले पनि लाभ हासिल गर्ने स्थिति रहन्छ । यस्ता समूहले व्यवस्थापन गर्ने मेलामा स्टल राख्ने व्यवसायीको पनि एउटा समूह नै हुन्छ । उनीहरु निश्चित दिनको मेलामा ठूलो मात्रामा व्यापार गरेर लामो समयको विदामा आराम गर्ने गर्छन् । यस्ता समूहले विशेषगरी तयारी वस्तुको व्यापार गर्ने गरेका छन् । नेपाली समाजको सन्दर्भमा उत्पादन भन्दा छिमेकी तथा तेस्रो मुलुकले उत्पादन गरेका वस्तुको व्यापार गरेर छिटो र राम्रो आम्दानी गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण वार्षिक राष्ट्रिय बजेट भन्दा बढी व्यापार घाटा भइरहेको छ । व्यापार घाटाका विषयमा सबैको चिन्ता छ तर, यसलाई न्यूनीकरण गर्नै चासो छैन । यस्ता मेला महोत्सव उपभोग गर्ने प्रवृत्तिलाई बढाइरहेको हुन्छ ।
    अझ मेला आयोजना गर्ने समूहलाई ठेक्का दिएर लाभको निश्चित हिस्साको लोभमा उद्योगी, व्यवसायीको स्थानीय संघ, संस्था पनि परजीवीजस्तै भइसकेको छ । स्थानीय उद्योगी, व्यवसायीको संस्थाले मुख्यतः उद्यमशीलता प्रवद्र्धन गर्ने, उद्यममार्फत हुने उत्पादनलाई आन्तरिक बजारमा बढीभन्दा बढी खपत गराउने र बाह्य बजारमा निर्यातको प्रयास गर्ने, निर्यात बढाउनु पर्ने थियो । तर, यसतर्फ व्यावसायिक संघ, संस्थाका अगुवाको ध्यान जानै सकेको छैन । मेला, महोत्सवमा यो विकृतिकै रुपमा बढ्दो क्रममा छ । यसैकारण पनि मकवानपुर उद्योग वाणिज्य संघले मेला आयोजना गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयले गत वर्ष अनुमति दिएको थिएन । यस वर्ष पनि मेला आयोजनाका लागि मकवानपुर उद्योग वाणिज्य संघलाई विभिन्न सर्तनामा गराइएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न भनी राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरिएको भनिए पनि त्यसो हुन्न । जसले जिल्लाका उपभोक्ता ठगिने र व्यवसायी प्रभावित हुने स्थिति रहन्छ । स्थानीय उत्पादनलाई प्रोत्साहित नै गर्ने हो भने मेला, महोत्सव जरुरी छ । यसको प्रभावकारी व्यवस्थापन अनिवार्य हुन्छ । स्थानीय सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक तथा भौतिक सहयोग समेत रहने मेलामा स्थानीय उपभोक्ता ठगिने र व्यवसायी मर्कामा पर्ने भएकै कारण मेला, महोत्सव आलोचनाको विषय बनेको हो । यसर्थ मेला महोत्सवलाई स्थानीय उत्पादन प्रवद्र्धन गर्ने थलोको रुपमा विकास गर्न मुख्यमन्त्रीले गर्नुभएको आव्हानलाई व्यवसायीले गम्भीरताका साथ लिएर स्थानीय उत्पादन बढाउने र त्यसको व्यापारमा मेलालाई उपयोग गर्ने जोश र जाँगर पलाओस् ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213704 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top