29 Jan 2020   |   
logo
प्रदेश समाचार

भ्रमण वर्ष लक्षित प्रदेशका कार्यक्रम मकवानपुरमा ३० गन्तव्य पहिचान



प्रदेश समाचार   199 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष १० बिहिवार  
हेटौंडाः नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी ३ नम्बर प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू तय गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाले भ्रमण वर्ष लक्षित कार्यक्रमहरू तय गरेको हो । प्रदेश पर्यटन मन्त्रालयले जनवरी १ मा ५ स्थानमा कार्यक्रम गर्दै भ्रमण वर्ष सुरुआत गर्ने भएको हो । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर कुलेखानीमा भ्रमण वर्ष २०२० को प्रदेश र संघको लोगोको स्तम्भ शिलान्यास गर्ने भएको छ ।



चितवनको सौराहमा सडक साँस्कृतिक नृत्य गर्ने र सौराहामा हुने हात्तीदौड तथा हात्ती सुन्दरी प्रतियोगितामा प्रदेश सरकारले पनि उपस्थिति जनाउने भएको हो । सौराहामा भिजिट २०२० लक्षित हात्ती सुन्दरी प्रतियोगिता जनवरी १ देखि ४ सम्म हुनेछ । त्यस्तै प्रदेश पर्यटन विकास आयोजनाले जनवरी महिनाको पहिलो दिन रसुवा नाका, तातोपानी नाका र चितवनको विमानस्थलमा आउने पहिलो पर्यटकहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय गरेको पर्यटन विकास आयोजनाका तारा शिवाकोटीले बताउनुभयो । त्यस्तै आउँदो ३१ डिसेम्बरमा भने काठमाडौंको ठमेलमा स्ट्रिट कल्चलर डान्स गर्दै प्रदेशले भ्रमण वर्ष २०२० को सुरुआत गर्ने भएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेश पर्यटनले विभिन्न स्थानमा स्थानीय निकायहरूको सहयोगमा कार्यक्रम गर्ने योजना बनाएको छ भने सोहीअनुसार जिम्मेवारी फाँडफाँड पनि गरेको छ ।

यसैबीच नेपाल भ्रमण वर्ष २०२० लक्षित मकवानपुरमा ३० गन्तव्य तय गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको बुधबार बसेको नियमित बैठकमा मकवानपुरको १० स्थानीय तहले ३–३ वटा प्रमुख पर्यटकीय गन्तव्य निर्धारण भइसकेको जानकारी गराएका छन् । समन्वय समितिमा बसेको बैठकमा जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको सङ्क्षिप्त जानकारीसहित ब्रोसर छाप्ने निर्णय भएको छ । यस्तै मनहरीको लोथर, इन्द्रसरोवरको हुमाने, थाहा नगरको टिष्टुङ, बाग्मतीको झुरझुरेमा भ्रमण वर्ष २०२० लाई स्वागत गर्ने होर्डिङ बोर्ड सम्बन्धित स्थानीय तहले राख्ने निर्णय गरिएको छ । ३ नम्बर प्रदेश सरकारले मकवानपुरको चुरियामाई र रक्सौल नाकामा पनि होर्डिङ बोर्ड राख्न छलफल गर्ने भएको छ । यता मकवानपुर जिल्लामा पुस ११ गतेदेखि सुरु हुने खाना महोत्सवमा पर्यटनपथ पुस्तिका विमोचन गर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । उहाँका अनुसार जनवरी फस्टमा सहिद स्मारकमा आउने पहिलो पर्यटकहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ । ँपर्यटन विकासको एउटै लक्ष्य, मकवानपुरको उज्जवल भविष्यँ भन्ने नाराका साथ मकवानपुरमा भ्रमण वर्ष २०२० सुरुआत हुने उहाँको भनाइ छ । जिल्लामा रहेको हरेक स्थानीय तहले आ–आफ्नो पर्यटकीय क्षेत्रमा आउने पहिलो पर्यटकलाई स्वागत तथा सम्मान गर्ने विषयमा छलफल भएको छ ।

यता पर्यटकलाई आकर्षित गर्न राक्सिराङ गाउँपालिकामा चेपाङ होमस्टे, मनहरीमा वनकरिया होमस्टे, मकवानपुरगढीमा सांस्कृतिक पहिचानसहितको होमस्टे सञ्चालनमा ल्याउने तयारी भएको गाउँपालिकाका प्रमुखले जानकारी दिएका छन् । यता जिल्लामा स्थानीय तहहरूले पनि भ्रमण वर्ष २०२० को सुरुआत गर्ने भएका हुन् । इन्द्रसरोवर गाउँपालिकाले ३१ डिसेम्बरमा प्याराग्लाइडिङसहित डिजे कार्यक्रमको आयोजना गर्दै भ्रमण वर्ष सुरुआत गर्ने भएको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनुभयो । त्यस्तै भ्रमण वर्षका लागि जिल्लाको उत्तरी क्षेत्रमा पर्यटकीय गन्तव्यको रुट पनि बनाउने योजना रहेको जिल्ला समन्वय समितिका प्रमुख खुलालले बताउनुभयो । उहाँले सम्पूर्ण स्थानीय तहहरूमा तय गरिएका प्रमुख पर्यटकीय गन्तव्यहरूमा सरसफाई, त्यहाँसम्म पुग्ने सडक बाटोको राम्रो व्यवस्थापन गर्न आवश्यक कामहरू अगाडि बढाउन समेत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई आग्रह गर्नुभएको छ ।

पर्यटनसम्बन्धी जिल्लामा गरिने सम्पूर्ण क्रियाकलापहरुको जानकारी दिने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको नियमित बैठकमा उपप्रमुख भगवती पुडासैनि, जिल्ला समन्वय अधिकारी कपिल उपाध्याय, लगायत सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुखहरूको सहभागिता रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077319 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top