16 Nov 2019   |   
logo
शिक्षा

विदामा आपसमा सिक्दै शिक्षक



शिक्षा   210 पटक पढिएको   सुरेश श्रेष्ठ   २०७६ कार्तिक ६ बुधवार  
हेटौंडाः यस वर्ष हेटौंडा नगरका सरकारी तथा निजी विद्यालयहरु दसैं र तिहारबीचमा पनि बन्द छन् । वर्षकै प्रमुख पर्वको बीचमा पठनपाठन रोकिएको छ । विदाको समयमा अधिकांश विद्यालयका शिक्षकहरु पर्यटकीय क्षेत्रको भ्रमणमा छन् । तर, हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीका शिक्षकहरु भने आपसमा शिक्षण विधि, शैक्षिक सामग्री निर्माण तथा प्रभावकारी शिक्षणका बारेमा सिक्न कार्यशालामा सहभागी भइरहेका छन् ।विद्यालयले शिक्षकहरुबीच नै कसरी प्रभावकारी शिक्षण अभ्यास गर्न सकिन्छ रु शिक्षण सामग्रीको निर्माण र प्रयोगका विषयमा ४ दिने कार्यशाला सञ्चालन गरेको छ ।

विदामा आपसमा सिक्दै शिक्षक


कार्यशालामा शिक्षण सामग्री बनाउँदै शिक्षकहरु ।

सोमबारबाट सुरु भएको कार्यशाला बिहीबारसम्म चल्नेछ । दैनिक करिब ५ घण्टा शिक्षकहरु आपसमै अन्तरक्रिया गरिरहेका छन् । बालबालिकालाई कक्षाकोठामा कसरी सिकाउन सकिन्छ भनेर शिक्षकहरुले अनलाइनमार्फत प्रभावकारी उपाय खोजी गर्नुका साथै विभिन्न समयमा आफूले लिएका तालिमको प्रयोगको प्रभावकारिताका बारेमा समेत मूल्यांकन गर्ने गरिएको विद्यालयकी प्रिन्सीपल प्रतिभा डंगोलले जानकारी दिनुभयो । विद्यालयले पूर्वप्राथमिक र प्राथमिक गरी दुई तहमा कसरी प्रभावकारी शिक्षण गर्न सकिन्छ भनेर कार्यशालाको आयोजना गरेको जनाएको छ ।

गणित शिक्षण, भाषा सिकाई र शिक्षण सामग्रीको निर्माणमा कार्यशालाले विशेष जोड दिइरहेको छ । विद्यालयका २७ जना शिक्षक सहभागी भएर आपसमा सिक्ने, सिकाउने र क्रियाकलापमा आधारित शिक्षण अभ्यासलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको प्रिन्सीपल डंगोलले जानकारी दिनुभयो । विद्यालय हरेक महिना एक दिन शिक्षकलाई शिक्षण अभ्यासको समीक्षा गर्दै थप प्रभावकारी शिक्षणका लागि ध्यान दिने गरी कार्यशाला आयोजना गर्ने गरेकोमा यस वर्ष भने विदाको समयमा ४ दिने कार्यशालाको आयोजना गरेको जनाएको छ । क्रियाकलापमा आधारित शिक्षण अभ्यासले विद्यार्थीमा प्रभावकारी सिकाई हुने उल्लेख गर्नुहुँदै प्रिन्सीपल डंगोलले कमाने एकेडेमीमा कक्षा ३ सम्मका बालबालिकालाई कुनै किसिमको परीक्षामा सहभागी नगराउने जानकारी दिनुभयो ।

कक्षा ३ सम्मका बालबालिकालाई परीक्षा नलिई दैनिक रुपमा उनीहरुको क्रियाकलापको मूल्यांकन गरी त्रैमासिक रुपमा बालबालिकाका अभिभावकलाई उनीहरुको व्यवहारगत मूल्यांकन गरी जानकारी गराउने गरिएको प्रिन्सीपल डंगोलको भनाइ छ । प्रशिक्षकले प्रशिक्षण दिएको भन्दा शिक्षकहरुले आफैं शिक्षण विधिबारे अनुसन्धान गरेर, आफ्ना अनुभव आदानप्रदान गर्दै आपसी अन्तरक्रियामा आधारित भएर सञ्चालन गरिएको कार्यशाला अझ बढी प्रभावकारी भएको डंगोलको दावी छ । विद्यार्थीलाई क्रियाकलापमा आधारित भएर सिकाउने अभियानमा यस किसिमको कार्यक्रम गरिएको र शिक्ष्ँकहरुको उत्साहजनक सहभागिताले आफू थप खुसी भएको उहाँले स्पष्ट पार्नुभयो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213114 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top